झपेन्द्र जिसी
सुनिन्थ्यो, पढ्न्थ्यिो–कोही कोहीले भनेको र लेखेका –विचित्रको नेपाल ! हाम्रो नेपाली भाषामा प्रचलित छ नानी पाउने कहिले हो कहिले ! भोटो सिउने अहिले ! यी लोकोक्तिलाई पुरै नकार्न त सकिन्न । लोकको अभ्यास र प्रयोगबाट जन्मिएका हुँदा यसबाट सिक्न जरुरी छ ।
अचेल हाम्रो देशमा चुनावको माचो छ !
रूमकि हासम् ला’को छ !
राजनीतिलाई सम्पूर्ण नीतिहरुको माउ नीति मानिन्छ र हो पनि । राजनीतिको नीति समसामयिक र व्यवहारिक हुने हो भने अन्य तपसीलका नीतिहरु, शिक्षा नीति, सामाजिक नीति, नियम, साहित्यिक नीतिनियम पनि त्यहीअनुसार बन्ने गर्दछन् । यस्ता नीतिनियमले देशलाई उभोतिर लैजान्छ ।
तर यसको विपरीत स्वतन्त्रता र लोकतन्त्रका नाममा असन्तुलित नीतिनियमहरु र प्राक्टिसहरु हुन थाले भने देश उँभोतिर होइन, उँधोतिर लाग्न थाल्छ ।
हाम्रो देशमा विकास सिकाउन, सामाजिक परिचालनको पाठ पढाउन, प्रजातन्त्रको पाठ पढाउन, लोकतान्त्रिक पाठ पढाउन, गणतन्त्रको पाठ पढाउन, अमेरिका र युरोप भारतलगायत धेरै देशहरुबाट कथित गुरु बनेर आए । उनीहरुले आफूलाई विशेषज्ञको रुपमा आफ्नो परिचय प्रस्तुत गरे । साँच्चै नै नेपाली नेताहरु जनताहरुले उनीहरुलाई विज्ञ नै ठाने ! विज्ञ माने । तिनीहरुले आयोजना गरेका गोष्ठी सेमिनारमाा २-३ घण्टा बसिदिए । बसिदिए बापत चाहा बिस्कुट वा चाहा समसा खान पाउँदा र त्यहाँबाट फर्किदा १००- २०० रुपैयाँ पाउँदा हामी मख्ख प¥यौं । लामो समयसम्म ठोस काम सम्पादन गर्नुभन्दा समय गुजार्ने काम भए ।
खुब गफ गर्न जान्ने भयौं । गफ पनि कस्तो भन्दाखेरि आटो नपिठाको । समाजका अगुवाहरुको आलोचना गर्न सिकौं । फेसबुक इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल चलाउन पनि जन्यौं, यसमा तथ्यमा आधारित सत्य कुराभन्दा भए नभएका काल्पनिक लेख्न मज्जा मान्यौं । सामाजिक अगुवाहरुलाई फटाहा ! धमिरा, घुन शोषक, भ्रष्टाचारीको बापत लगाउन खप्पिस भयौं ।
हामीले हातका मैला सुनका थैला के गर्नु धनले !
साग र सिस्नो खाएको बेस आननन्दी मनले क्षत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन ।
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा सचेत मुनामदन पढाएनौं वा पढेनौं ।
हामीले सत्य बोल (सत्यंवद) सानालाई स्नेह गर वा माया गर । ठूलालाई सम्मान गर पढाएनौं वा पढेनौं ।
आगो ताप्नु मूढाको कुरा सुन्नु बूढाको अर्थ बुझेनौं र आफ्ना छोराछोरीलाई बुझाएनौं । हामीले बुद्धको अष्टाङ्गिक मार्ग पढेनौं । पढाएनौं ।
बुद्धको अहिंसा परमो धर्म पढाएनौ पढ्दै पढेनौं ।
त्यति मात्र होइन माओत्सेतुङको तीन आठ नियम– बाली नबिगार, सापट लिएको सामान फिर्ता गर । महिलाहरुसँग छाडा व्यवहार नगर जस्ता महापुरुषहरुले सिकाएका आदर्श वाक्य र परम्परालाई पनि चटक्कै बिस्यौं ।
सारत पीएचडी गरे पनि समाज परिवर्तनका चालक नियमहरु पढ्न, बुझ्न र बुझाउनतिर लागेनौं ।
त्यसैले भाद्र २३ र २४ गते युवाको नाममा सरकार ढाल्नतिर बलिया बाँकाहरु लागे, सिंहदरबारदेखि प्रहरी चौकी, ठाना, स्वास्थ्य चौकी, ठाना, गाउँपालिका, नगरपालिका र वडा भवनतिर भत्काउन लागे, भत्काइए । कोही कोहीले यसैलाई भन्छन्– क्रान्ति ! यो क्रान्ति थिएन । होइन, यो त भ्रान्ति मात्र थियो । त्यो कथित क्रान्तिले दिए के त ? सकारात्मक परिणाम के आयो त ? छैन । केही छैन । प्राप्त भएको परिणाम खरानीको थुप्रो हो ।
दाउरा बालेपछि खरानी बन्छ । घर भवन जलाएपछि खरानी बन्छ । मान्छे जलाए पनि खरानी बन्छ । खरानीमा पूर्व वस्तु हुँदैन । त्यसैलाई क्रान्ति ठान्ने हो भने समाज कस्तो बन्ला ? यस खालका प्रवृत्तिलाई राजनीति मान्ने वा भन्ने हो भने अराजकता नै राजनीति हुन जान्छ । अनुशासनहीनतालाई राजनीतिको शिरपोश दिन पुगिन्छ होला !
विदेशी वा कसैले उक्साएर सडकतिर टायर बाल्न वा अर्काको घर जलाउन वा सिंहदरबार जलाउन जाँदैछु, उही कर्ता (एक्टर) लाई नै थाहा नहुन सक्छ । यस्तो आरोपित गरे ऊ स्वीकार गर्न तयार छैन ।
युवा युवा भन्छन् ! भविष्य युवाकै हो । आजकल त नवयुवा पनि भन्छन्, युवा र नवयुवामा के भिन्नता छ ? आजका बुढा नेताहरुले किशोर अवस्थादेखि नै राजनीतिक नेता बनेका हुन् । आजका सामाजिक बुढा अगुवाहरुले पनि किशोर उमेरदेखि नै समाजको सेवा गर्दै आउँदै सामाजिक हस्तीका रुपमा स्थापित हुनु भएको हो ।
ज्येष्ठहरुको सम्मानका लागि र सामान्य भरणपोषणका लागि ज्येष्ठ नागरिक भत्ता, विधवा (एकल) नागरिक भत्ता, दलित भत्ता यस्तै यस्तै दिने नीति २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा रहेको एमालेको सरकारका थिति बाँधेको हो । यो थिति राम्रो छ । लोकप्रिय पनि छ र आवश्यक पनि छ । तर आजकालका आन्दोलनमा नारा उठन थाले– बुढा हटाऊ । बुढा हटाऊ । राजनीतिक पद, प्रतिष्ठा युवालाई देऊ भन्छन् । युवालाई स्थान चाहिएको हो कि नव युवालाई ?
ठीक छ युवा वा नवयुवा अघि बढ ! अघि आऊ अघि आऊ ! अनुशासित बनेर आऊ अघि बढ । अघि बढ्नकै लागि राष्ट्रिय सम्पदा जलाउनु पर्दैन, हुँदैन । राजनीतिक पार्टी नेताहरुको घर जलाउनु हुँदैन । यसरी जलाउनेलाई त विध्वंसकारी, आतंककारी भन्दछन् । हामी के गर्दैछौं । आखिर यस्तो विद्रोहमा लाग्ने निर्दाेष नानी बाबु त अवश्य होइन ? ती त लौहाठ, हुलडवाद, अराजनीतिक र देशविद्रोही तत्व होइन र ? अधिकांश ती तत्व त तन्नेरीहरु भएको टीभीले देखाएका थिए ।
हामीले नै २०४६ सालमा प्रजातन्त्र र ०६२-०६३ को आन्दोलनपछि लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं । यसबिचमा पूर्वाधार निर्माण जस्ता विकास निर्माणका काम पनि प्रशस्तै भएका छन् । नेपालको स्वाधीनताको झण्डा उठाउने काम पनि भएका छन् । लिम्पियाधुरा, लिपुलेक, कालापानी, विशाल नेपालको नक्सामा समेटिएका छन् । यो कम साहसिक काम होइन । नेताहरुले छिमेकी देश भारतसँग लड्दैछन् । राष्ट्रिय स्वाधीनताको झण्डा उठाएका छन् ।
यसर्थमा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री, सिंगो संसद र सांसदहरुलाई स्वाबासी भन्नै पर्छ । गुमेको भूमिको नक्सा बन्दा वा बनाउँदा नेपाली युवाहरुले खुशी मनाउँदै स्वाधीनताकोकाव्य महाकाव्य, लेख, निबन्ध लेख्नुपर्ने हो । त्यसका लागि आफू मर्न मेट्न तयार भएको अभिव्यक्ति दिनुपर्ने हो । खोई त्यस्तो स्वाभिमानिताका आवाजहरु कहाँ गएँ ?
हाम्रा पुर्खाहरु भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, कर्णेल उजिरसिंह थापाका हामी सन्तानहरुले देशका निम्ति केही न केही त गर्नुपर्ने हो । खोइ कहाँ गयो हाम्रो विरासतको इतिहास ।
ए युवा हो ! ए नवयुवा हो ! आफ्ना नेताप्रति भुक्की उठाउने कि बैरीप्रति ? पढ हाम्रा वीर पूर्खाको इतिहास ! बिसनै नहुने विरासतको इतिहासलाई । फेसबुकमा मात्र तल्लिन भए त ठेस मात्र भइन्छ । तिचिच्न, थिचिच्न, मिचिच्न पर्ने छ । असामयिक भए पनि फागुन २१ गते चुनाव हुँदैछ । चुनावमा प्रतिस्पर्धा गर ! स्वस्थ प्रतिस्पर्धा गर । तर चुनावपछि संविधान ऐन, कानूनलाई व्यवस्थित गर । विदेशीको भाउँतोमा लाएर वा अटनखटनमा संविधान, ऐन काम नबनाऊ । आवश्यकता अनुसार बनाऊ र सुधार गर ।
जय नेपाल ! जय नेपाल ! जय गणतन्त्र ! नेपाल अहिले त राजनीति भन्दा पद नीति हुँदैछ । त्यसैले पार्टीपिच्छे अमुक अमुक नेतालाई प्रधानमन्त्री बनाउने भनेर पार्टीहरुले घोषणा गर्दैछन् । हाम्रो संविधानले संसदमा बहुमत प्राप्त गर्ने दलको नेता (संसदीय दल) को नेतालाई प्रधानमन्त्री बनाउने प्रावधान छ । निर्वाचन नहुँदै, बहुमत आउँदै अमुुक व्यक्तिलाई प्रधानमन्त्री बनाउने भनेर घोषणा गर्नु जनतालाई मूर्ख बनाउने तयारी हो । यस्तो नगर । गर्दै नगर । नेताहरुले संविधान र ऐनको अक्षर र भावनालाई पढ, मनन गर ! मनपरी नगर ।




