कृष्ण पोखरेल / पाल्पा । परिवर्तन कृषि बाटै मात्रै सम्भव छ भन्ने मुल उद्देश्य सहित संचालन भएको रिव्दीकोट कृषि परियोजना कार्यक्रमले गाउँपालिका भित्रका कृषकहरुलाई निशुल्क रुपमा उन्नत जातको अकवरे खुर्सानीको विउ वितरण गरेको छ ।
रिव्दीकोट गाउँपालिकाको ७० प्रतिशत, हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत साझेदारीमा रिव्दीकोट कृषि परियोजना कार्यक्रम ग्रामिण आर्थिक विकास संघ रेडाले संचालन गर्दै आएको छ । पालिकाको ८ वटै वडामा कृषि तथा पशुपालन क्षेत्रमा परियोजनाले काम गर्दै आएको छ ।
रिव्दीकोटका अधिकाश स्थानमा बादर तथा जंगली जनावरबाट हैरान परेका कृषकहरुलाई यो वरदान सावित भएको छ । एक बर्ष लगाएपछि चार बर्ष सम्म अकवरे खुर्सानीबाट आम्दानी लिन सकिन्छ ।
बादर तथा जंगली जनावर बाट कृषकहरु विस्थापित भएपछि निवर्तमान पालिका अध्यक्ष नारायण बहादुर जिसीको पहलमा पालिकाको ८ वटै वडामा अकवरे खुर्सानी खेती शुरु भएको थियो । अघिल्लो सरकारले शुरु गरेको अकवरे खुर्सानीलाई बर्तमान पालिका अध्यक्ष नारायण बहादुर कार्कीको नेतृत्वले निरन्तरता दिदै आएको छ । चालु आर्थिक बर्षमा पनि रिव्दीकोट गाउँपालिकामा ८ करोड रुपैयाको अकवरे खुर्सानी विक्रि भएको छ ।
कृषि बाटै रिव्दीकोट गाउँपालिकाका बासिन्दाले ८ घण्टा कृषिमा काम गर्दा कम्तीमा २५ हजार रुपैया सजिलै आम्दानी गर्ने वातावरण तयार भएको बताउदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले केहि दिन भित्रै गाउँपालिकाले अकवरे खुर्सानीको समर्थन मुल्य कायम गर्ने बताए । हामीले विभिन्न कम्पनी संग मुल्यको बारेमा कुराकानी गरेका छौ, प्रति केजी २२० रुपैया देखी २५० रुपैयाको विचमा मुल्य कायम गर्ने विषयमा छलफल भैरहेको अध्यक्ष कार्कीले कृषकहरुलाई जानकारी दिए ।
मुल्य सुनिश्चितता भएपछि अकवरे खुर्सानी लगाउने कृषकहरु बृद्धि हुने पालिका अध्यक्ष कार्कीले जोड दिए ।
परियोजना मार्फत खुर्सानी खेती गर्न चाहाने कृषकहरुलाई निशुल्क रुपमा प्रति रोपनी एक पोकका दरले अकवरे खुर्सानी उपलब्ध गराएको वडा नं ७ का वडा अध्यक्ष दान बहादुर कुवँरले बताए ।
कृषकले जती सकिन्छ खुर्सानी लगाउनु, पैसा कमाउनुस, यो नत बादरले खान्छ नत अरु जंगली जनावरले खान्छ ढुक्क भएर खेती गर्नुस, मुल्य पनि गाउँपालिकाले तोक्दै छ वडा अध्यक्ष कुवँरले बताए ।
कृषकको मागको आधारमा आवश्यकता अनुसार कृषकहरुलाई टोल टोलमा पुगेर अकवरे खुर्सानी विउँ वितरण गर्दै रिव्दीकोट कृषि परियोजनाका बजार विकास सहजकर्ता राम प्रसाद न्यौपानेले बताए ।
परियोजनाले उत्पादन बृद्धि गर्न चार चार बर्षमा विउ परिवर्तन गर्दै आएको, कृषकहरुलाई १० ग्रामको दरले विउँ उपलब्ध गराएको, एक पोका विउँबाट १ हजार देखी १ हजार २ सय सम्म विरुवा उत्पादन हुने सहजकर्ता न्यौपानेले बताए । रिव्दीकोट गाउँपालिका पछिल्लो सयमा अकवरे खुर्सानीको गाउँपालिकाको पहिचान बनाएको छ ।
पालिका भित्रका अधिकाश कृषकहरु अकवरे खुर्सानी खेतीमा लागेका छन । रिव्दीकोटका कृषकले अकवरे खुर्सानी खेतीबाट न्युनतम १ लाख देखी अधिकतम २० लाख रुपैया सम्म आम्दानी गर्दै आएका छन । गाउँपालिकाले निशुल्क विउ वितरण गरेपछि रिव्दीकोटका कृषकहरु उत्साहित भएका छन ।




