आगामी फागुन २१ हुन लागेको प्रतिनिधिसभा चुनावमा दलहरु र उम्मेदवार मुलुकमा शासकीय सुधार र सेवा प्रवाहलाई गुणस्तरीय बनाउने तथा नीतिगत सुधारका प्रतिबद्धतामा चुकेका छन् । नयाँ भनिएका दलहरु यसपाली पुरानालाई होइन्, नयाँलाई दिनुपर्छ भन्ने अभियान चलाइरहेका छन् । पूराना भनिएका दल नयाँका नाउँमा अपरिपक्क पात्रलाई होइन, परिपक्क र अनुभवले खारिएका व्यक्ति तथा दललाई मत दिनुपर्ने बताइरहेका छन् ।
मुलुकलाई अहिले चाहिएको सुशासन, विकास र लोकतान्त्रिक व्यवहार हो । मुलुकमा राजनैतिक परिवर्तनले उथलपुथल ल्याएसँगै नागरिक इच्छा र आकांक्षाको आयतन पनि बढेको छ । नागरिकका आकांक्षालाई पूरा गर्न तीव्र विकासको आवश्यकता छ । मुलुकलाई तीव्र विकासको बाटोमा लैजान राजनैतिक दल र नेताको चाहनाले मात्रै हुँदैन।
त्यसका लागि पर्याप्त नीतिगत सुधारको खाँचो छ । नागरिक आकांक्षा पूरा गर्न चाहिने नीतिगत सुधार गर्न चुक्दा नागरिकमा असन्तुष्टि बढ्छ । लोकतन्त्रलाई संस्थागत र बलियो बनाउन नागरिक चाहना पूर्ति हुनुपर्छ । नागरिक आकांक्षाको पूर्ति नेताका भाषणले होइन, विश्वासिलो प्रतिबद्धतासहितको घोषणापत्र आवश्यक छ । घोषणा पत्र आश्वासनको पोको होइन, त्यो त मुलुक परिवर्तन र नागरिक आकांक्षा पूरा गर्ने दस्ताबेज हो । नागरिकलाई आकर्षक विकासे नाराले होइन, मुलुक परिवर्तनको प्रष्ट खाका हुनुपर्छ । मुलुकमा आवश्यक शासकीय सुधारको मार्गचित्र प्रष्ट हुनुपर्छ ।
मुलुकमा संविधान बन्यो, तहगत सरकारले काम थालेको दुई कार्यकाल पुग्नै लाग्दा हामी शासन प्रणालीलाई आवश्यक कानुन बनाउन चुक्यौं । शासन प्रणाली संस्थागत बन्ने कानुन बनाउन चुक्दा प्रणालीले काम गर्न नसक्दा नागरिकमा असन्तुष्टि चुलिएको हो । नागरिकमा आकांक्षा जगाउने, तर आकांक्षाको व्यवस्थापन गर्न मार्गचित्र बनाएर कार्यान्वयन नगर्दाको परिणाम चुलिंदा समाजमा विष्फोट हुन्छ भन्ने हेक्का नहुनु दुःखद छ । लोकतन्त्र पारदर्शी र विधिको शासन हो । विधिलाई स्थापित गर्न संरचनागत सुधारको फराकिलो मार्ग तयार गर्न दलहरुले यो चुनावमा प्रतिबद्धता गर्नुपर्छ ।
हाम्रा विकास आयोजना समयसीमामा किन बन्न सक्तैनन् ? विनियोजित बजेटको सीमाभित्र किन आयोजना पूरा हुन सक्तैनन् ? के यही पाराले मुलुकले विकासको यात्रामा छलाङ मार्न सक्छ ? यी प्रश्नको उत्तर खोजी हुन आवश्यक छ । र, यी प्रश्नको उत्तर खोजेर समग्र समस्या समाधानको मार्गचित्र तयार गर्न सक्दा मात्रै चुनावमा प्रस्तुत गरिने घोषणा पत्रको सार्दभिकता बढ्छ । चुनाव केवल जित हारको खेल होइन, यो मुलुक बदल्ने संकल्प नागरिकबाट अनुमोदन हुने अवसर हो ।
नागरिकमा आशा, भरोसा र विश्वास जगाउने दलहरु नै हुन् । दलहरुका घोषणापत्रले नागरिकसँगको सम्बन्ध फराकिलो र बलियो बनाउने विश्वास त्यसबेला गर्न सकिन्छ, जब आश्वासनको पोकाको साटो मुुलुक बदल्ने मार्गचित्र तयार गर्न सकिन्छ । नीतिगत प्रष्टता, लोकतान्त्रिक व्यवहार र आचरणलाई नागरिकको जीवनशैली बनाउन सक्दा मात्रै हो दलहरुसँग नागरिकको सम्बन्ध जीवन्त रहने । नयाँ भनेका सबै राम्रा र पूराना भनेका सबै खराब भन्ने गलत बुझाईलाई स्थापित गर्दा नै हो मुलुक गलत बाटोतिर लाग्ने । उमेरका आधारमा कोही राम्रा र नराम्रा हुनेभन्दा पनि मान्छेको विचार र व्यवहारले हो राम्रो र नराम्रो हुने । तसर्थ नागरिकले मुलुक बदल्ने मार्गचित्र भएको र विश्वासिलो आधार भएको दल र उम्मेदवारलाई चयन गर्न पाउने अधिकारको उपयोग गर्नुपर्छ ।




