भैरहवा । पूर्वाधार, जनशक्ति र क्षेत्रफलमा पूर्ण रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुरक्षित हुँदा पनि निरन्तर सञ्चालन हुन नसकेपछि निराशा छाएको छ ।
नियमित उडान र भइरहेको उडानलाई निरन्तरता दिँदै दिगो सञ्चालनका लागि सरोकारवालाबिचको छलफलमा बोल्दै सहभागीले विमानस्थलमा जसरी पनि नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने जनाए । नियमित अन्तर्राष्ट्रिय उडानको लागि निजी क्षेत्र र विमानस्थलले एकीकृत प्रयासको वातावरण बनाउनुपर्नेमा सरोकारवाला निकायको जोड छ ।
विमानस्थलले यहाँबाट सन २०२५ मा ३ सय ९६ उडानमार्फत् १९ हजार ५ सय ९१ जनालाई सेवा दिएको छ । संसारको आधा जनसंख्या छिमेकी २ देशसँग भए पनि उनीहरूको नेपाल आउने चाहना हामीले पूरा गर्न सकेका छैनौ । हामीसँग रामायण सर्किट, महाभारत सर्किट र बुद्धिष्ट सर्किट भए पनि त्यसलाई हामीले क्याच गर्न नसक्नु विडम्बना रहेको छ ।
नेपाल भारत सम्बन्ध भए पनि भारतीय पर्यटकमार्फत् पनि यो विमानस्थल निरन्तर चलाउन सकिने विमानस्थलको अपेक्षा छ । विमानस्थलले थाइलैण्डका महारानीमार्फत् नियमित उडानको लागि अनुरोध गरी बुद्ध सर्किटको यात्रा बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरुवात हुने गरी प्याकेज बनाउनु पर्नेबारे अवगत गराएको विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले बताए । उनले आर्थिक विकासका लागि निर्माण गरिएको विमानस्थल नियमति नचल्दा निजी क्षेत्र अप्ठ्यारोमा पर्नु स्वभाविक रहेको जनाउँदै सबै सरोकार निकाय एकीकृत रूपमा आफ्नो तर्फबाट सक्रियता देखाउन जरूरी रहेको जनाए । त्यसका लागि कोर टिमसहित केही विषयगत टिम बनाएर अगाडि बढ्नुपर्छ ।
विमानस्थलका सहायक निर्देशक मुरारी पौडेलले विमानस्थलमा कसरी उडान बढाउने र व्यवस्थापन गर्ने भन्ने विषयमा प्रस्तुति दिँदै पूर्वाधारमा कुनै काम बाँकी नरहेको उदाहरण थाई एयरमा गएको हात्तीले प्रमाणित गरेको बताए । ‘५ सय ५० जना यात्रु एकैसाथ आउँदा पनि १८ घण्टा चलिरहेको यो विमानस्थलले सेवा दिन पूर्ण तयार छ, तर विडम्बना हामीसँग आफ्ना पर्याप्त विमान नहुनु हो, हामीले अर्बांै लगानी गरेर थुप्रै छुट सुविधाहरू दिँदा पनि कूटनीतिक सहजीकरणको अभाव रहेको छ, यहाँबाट भारत जाने पर्यटकलाई सहजता दिनुपर्ने, सिमामा सहज र व्यवस्थापनमा सुधार गर्नुपर्ने, सडक पूर्वाधार, पर्यटकीय गन्तव्यलाई व्यवस्थित गरी प्याकेजसहितको प्रोगाम निजी क्षेत्रबाट ल्याउन जरूरी छ ।’–उनले भने ।
आफ्नो एयरलाइन्ससँग पर्याप्त जहाज नभएकोले नै अरूकोे मुख ताक्नुपर्ने अवस्था आएको हो । पर्यटक लक्षित प्याकेज बनाउन सके आर्थिक चलायमान हुने र विजनेशका लागि बाहिरी विमान कम्पनीहरू स्वतः आउने बताए ।
थाइ एयरले हाल हप्तामा दुई दिन मात्रै उडान सञ्चालन गरिरहेको, तर अप्रिलदेखि नियमित उडानको योजना नराखेकोले यहाँका संघसंस्थाहरूले नियमित सञ्चालनका प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । पर्यटकलाई मात्रै प्राथमिकतामा नराखी श्रमिकहरूमार्फत् पनि चलायमान गर्न सकिने हुनाले ट्राभल, मेनपावर, श्रम स्वीकृति, एनओसी लेटर र मेडिकलसम्बन्धी सेवाहरू यहीबाट दिने व्यवस्था गर्नुपर्ने उनीहरू बताए । निजी क्षेत्रले यसका लागि सम्बन्धित सरकारी निकाय र राज्यलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउनु पर्ने बताउँदै उनीहरूले नियमित उडान भर्नका लागि सबै लुम्बिनीसँगै अन्य स्थानहरूलाई जोडेर टूर प्याकेज र प्रचारप्रसार गर्नुपर्छ र दिगो सँचालनका लागि निजी क्षेत्रसँग सहकार्य गरी सहजीकरण समिति बनाउनुपर्नेमा जोड दिए । यहाँका व्यवसायीले विभिन्न प्याकेज बनाएर प्रवद्र्धनका काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्र एकीकृत रूपमा सकारात्मक रूपमा विमानस्थल प्रवद्र्धनका लागि हातेमालो जरूरी रहेको जनाए । ‘यो सबैको सामूहिक समस्या र जिम्मेवारी पनि हो, पालिका, होटल व्यवसायी, ट्राभल एजेन्सीले गर्नुपर्ने काम बाँडौ र एउटा बलियो समिति बनाएर सरकारलाई समन्वय गर्न लागौं ।’–उनले भने ।
अब सबैले प्रतिबद्धतासहितको बैठक गरी, पर्यटकलाई सहजताका लागि क्वीक रेस्पोन्स नम्बर जारी गर्नुपर्ने बताए । यस्तै उत्तरप्रदेशका मुख्यमन्त्रीसँग निजी क्षेत्र समन्वय गरेर समास्या समाधानको लागि अग्रसरता लिन सक्ने उनले बताए । उनले अब मास मिटिङ राखेर जिम्मेवारीसहित सहमतिमै एक्शनमा जाने गरी काम गर्न सबैलाई आग्रह गरे ।
नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले इ–भिसालाई भारतले प्रवेश नदिएको र अनएराइभल भिसा सुविधा दिनुपर्नेतर्फ ध्यान दिन जरूरी रहेको बताउँदै निजी क्षेत्रको पहलमा काम गर्न जरूरी रहेको जनाए ।
पूर्वअध्यक्ष सागर अधिकारीले पर्यटक मात्रै नभई श्रमिकलाई पनि प्राथमिकतामा राखेर काम अगाडि बढाउनु पर्ने जरूरी रहेकोले त्यसको आवश्यक सबै तयारी गर्नुपर्ने उल्लेख गर्दै समस्या र समाधानसहित निजी क्षेत्र जानु पर्ने बताए ।
च्याम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष जेपी कंडेलले बुद्धको प्रचारप्रसारमा कमि गरेकोले यसतर्फ हामीले नै जोड दिनुपर्छ । यही क्षेत्रबाट अधिकांश श्रमिक विदेशीएकोले तिनीहरूलाई लक्षित गरी पूर्वाधार र सुविधाबारे जानकारी दिनु पर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि यहाँबाट आन्तरिक उडानको कनेक्टीभिटी पनि बढाउन जरूरी रहेको बताए । काठमाडौंमा रहेका एजेन्सीलाई यहाँ शाखा खोल्न दबाब दिनका लागि पनि निजी क्षेत्रले भूमिका खेल्नु पर्ने उनले उल्लेख गरे ।




