दीपक भट्टराई
दुई दिनको ठूलो आन्दोलनपछि एकाएक देशको अवस्थामा ३६० डिग्रीको परिवर्तन भयो । इतिहासमा बिरलै हुनेमध्येको घटना थियो । त्यो भाद्र २३ र २४ को दुई दिन । उक्त दुई दिनको परिवर्तनलार्ई कुनै निकायले अनुमान लगाउन सकेन किन र कसरी त्यो सम्भव भयो अझैँ पनि पत्ता लगाउन सकिरहेको छैन । त्यो अझैँ गर्भमै छ र आशा गरौं एकदिन अवश्य पत्ता लाग्नेछ र दोषीलार्ई कारबाही पनि हुनेछ ।
सरकारी मात्रै होइन निजी सम्पत्ति पनि खोजी खोजी तोडफोड र आगजनी गरियो । देश पुरै अन्धकारमै गयो, सुरक्षा निकाय पुरै शिथिल भयो, सरकार ढल्यो, करिब ४८ घण्टामा देश सरकारविहीन भयो । नयाँ सरकार बन्ने रस्साकस्सी सुरु भयो अब केही नयाँ हुँदैछ कि भन्ने धेरै लार्ई लागेको थियो तर नयाँ बनेको जेन जेड सरकारले यही संविधान मानेर २ वर्षपछि हुने निर्वाचन २ वर्ष अगाडि गराउने र यही संविधानलाई मान्ने गरी निर्णय गर्यो । २१ फागुन २०८२ मा निर्वाचनको मिति घोषणा गर्यो । २ वर्ष पछाडिको निर्वाचन अगाडि सार्नकै लागि किन यति धेरै तोडफोड भन्ने प्रश्न धेरै नउठेका होइनन्, तर सरकार तसको मस भएन र निर्वाचनलार्ई नै जोड दियो । राष्ट्रियसभामा उनै पुराना दल नै छन्, त्यहाँबाट पास नभएसम्म नयाँ शक्तिले बहुमत नै ल्याएको अवस्थामा पनि कानुन बनाउनु कति जटिल छ भन्ने प्रश्न पनि नआएको होइन, तर पनि सुशीला सरकारले त्यो कुरालाई पनि सुनेन् । नयाँ निर्वाचन मात्रै किन भन्ने प्रश्न अवश्य पनि भविष्यले सोध्ने नै छ ।
नेपालले धेरै आशाका ललिपप खाइसके के अब पनि नयाँ–नयाँ मान्छे आउँछ र गर्छन् भन्ने आशा मात्रै गर्ने हो ? आज जनताको क्रेज जति बालेन र रविमा देखिएको छ, त्यस्तै अवस्था ०६२-६३ मा प्रचण्ड - बाबुराम र माओवादीको थिएन र ? लगत्तै क्रेज बढेको केपी ओलीको थियो । ओली बा आइ लभ यू भन्दै नहिंडेको हो र ? तिनैलाई हामीले हाई हाई बनाएका पात्रले कयौं पटक चुनाव जिते र प्रधानमन्त्री पनि भए । आखिर भयो के ? त्यती खेरको हाम्रो गल्ती त्यही हो कि हामी यी नेताले के काम गर्न सक्छन् भन्दा पनि लहैलहैमा उनीहरुको व्यक्तित्व हेरेर हाई दियौ । अब फेरि त्यस्तो गल्ती गरेर देशलार्ई प्रयोगशाला हुनबाट बचाउन जरुरी छ ।
अब आउने फागुन २१ मा हुने निर्वाचन पनि त्यस्तै खालको निर्वाचन हो र अवश्य पनि हाम्रो सार्वभौम अधिकारको प्रयोग गर्ने बेला आएको छ । अब भोट दिँदा धेरै कुराको विचार गर्ने बेला आएको छ । सामाजिक सञ्जालमा कति फालोअर छन् भन्दा पनि अबको ५ वर्ष तपार्ईंको जीवन परिवर्तन गराउने उसँग कस्ट योजना छन् जान्न जसरी छ । अब जान्ने के त ? तपाईंलार्ई जसले भोट माग्छ अब यी प्रश्न अवश्य गरौं ।
(क) कृषि र पर्यटन
२०४६ पछिका हरेक पार्टीका नेताहरुले हामीलार्ई के भनेर झुक्याई रहेका छन्, सम्झौता ? प्रजातन्त्रका नाइके हुन् या गणतन्त्रका नाइके हुन्, गिरिजादेखि केपी, प्रचण्ड हुँदै अहिलेका नयाँ नेता भन्नेहरुले समेत भन्ने गरेको कुरा हो कृषि क्रान्ति र पर्यटन । ०४६ देखि ०८२ सम्म देशमा यी दुवै कुरा भाषणमा मात्रै सीमित भएका छन् । इजरेलमा जम्मा जनसंख्याको १% रोजगारी ले ११ बिलियन डलरंको उत्पादन गर्छन्, र १.४ बिलियन डलरको भहउयचत हुन्छ अनि २०२६ सम्ममा १६.३३ बिलियन डलरको उत्पादन बनाउने योजना रहेछ । नेपाल को अवस्था के छ त ? ७०-८०% कृषिमा आधारित हुँदा २ महिनालार्ई देशलार्ई धान्न सक्ने उत्पदान गर्न सक्दैन । आज पनि मल पाउनु सुन पाउनु जत्तिकै छ । त्यति धेरै उर्बर भूमिको दुरुपयोग भइरहेको छ ।
पर्यटनमा पनि त्यस्तै छ, धुलाम्य सडक, लत्रिएका बिजुलीका तार अलपत्र योजनाहरु ।
अब भोट माग्ने नेताले तपाईंसँग यी दुई कुराभन्दा साथ सोधौं तपाईंसँग त्यसका योजना के छन् ? पहिलेका नेताले पनि भनेकै थिए, के कारणले भएको रहेनछ ? इच्छा शक्तिले मात्रै हुने भए उनीहरुले पनि गर्थे, अब तपाईंको योजना सुनाउनुस्भन्नुस् ।
(ख) रोजगारी सिर्जना
पहिलो कुरा हामी प्रष्ट हुन जरुरी छ, रोजगारी कुनै पनि सरकारले दिने होइन । सरकारले त केवल वातावरण मात्रै तयार गरिदिने हो । आवश्यक कानुन बनाउने र लगानीको लागि सुरक्षित वातावरण को सिर्जना मात्रै गरिदिने हो । कसैले सरकारले रोजगारी दिन्छ मात्रै भन्छ भने उसको अरु कुरा सुन्दै नसुन्नु । रोजगारी सिर्जना हुनको लागि देशभित्रै उद्योग कलकारखाना खोलिनु पर्छ । कित स्वदेशमै भएका व्यक्तिबाट लगानी गराउनु पर्छ या विदेशी लगानी भित्रिनु पर्दछ । उद्योग दर्ताको लागि कम्तिमा २÷३ महिना लाग्छ ।
अब तपाईंको प्रश्न हुन्छ कि देशभित्रै भएका उद्योग किन धरायसी अवस्थामा छन्, किन यस्तो अवस्था मा गएका होलान् र तिनलार्ई उकास्ने तपार्ईंसँग के योजना छन् । देश भित्रै लगानी गर्ने मान्छे छन् भने तिनी हरुले आजसम्म किन लगानी गरेनन र अब तपाईंँ र तपाईंको पार्टीले के त्यस्तो योजना ल्याउँछ र लगानी गर्लान । त्यसैगरी विदेशी लगानी किन आएन र तपाईंको सरकार आयो भने कसरी आउँछ ? कस्तो–कस्तो कानुनले रोकेको थियो र ति कानुनलाई कसरी परिमार्जन गर्छ ।
विशेषत कर प्रणालीको बारेमा सोधौ उम्मेदवार कतिको जानकार छन् र अबको कर प्रणाली कस्तो प्रकारको हुन्छ, जसले नेपालभित्रै व्यवसाय गर्न उत्साहित बनाउँछ । अझ जान्ने पर्ने कुरा भनेको फेरि पनि भाद्र २३-२४ जस्तै आन्दोलन भए भने या पहिले जस्तै बन्द, हड्ताल भए कसरी सुरक्षा दिन सक्नु हुन्छ । राजनैतिक युनियनले परिरहेको समस्यालाई कसरी समाधान गर्न सक्छन् । एनसेल जस्तै वैदेशिक लगानीको कर विवादलार्ई करी मिलाउन सक्छन् ।
(ग) संघीयता, राजा र हिन्दु राष्ट्र
गएको केही वर्षदेखि निरन्तर रुपमा बहसको विषय बनेको छ संघीयता । यसको उपयोगिता र यसलार्ई धान्न मात्रै सरकारले गरी रहेको खर्चलार्ई पुष्टि गर्न सकेन भन्ने बहस चलिरहेछ ।
सबै काम पालिका र बाँकी काम जिल्ला अनि सदरमुकामले गर्ने भएपछि यो के पार्टीहरुलार्ई कार्यकर्ता व्यवस्थापनकोलाई मात्रै भएको धेरैले महसुस गरिरहेका छन् । यस विषयमा तपाईं भोटर को सोंच के हो ? यदि तपार्ईं संघीयता चाहिन्छ भन्ने सोंचमा, परिमार्जन या खारेजीको साेंच के मा हुनुहुन्छ, तपाईंले प्रश्न गर्नुस् र तपाईंको सोंचअनुसार मिल्नेलाई मात्रै भोट दिनुस् ।
अब रह्यो राजा र हिन्दु राष्ट्र यसमा पनि त्यही नै गर्नु पर्यो । भोट मागी रहेको नेता र उसको पार्टीको के विचार छ ? तपाईंको विचार र भोट माग्ने पार्टी र नेताको विचार मिल्यो कि नाइँ ? अब जोसँग तपाईंको विचार मिल्यो त्यसैलाई मात्रै भोट दिनुस् ।
(घ) सुरक्षा र भाद्र २३-२४ को आन्दोलन
हामीले भाद्र २३-२४ मा भएको देशको अवस्था देख्यौं । हाम्रो आँखै अगाडि विभिन्न सरकारी र निजी सम्पत्ति तोडफोड र आगजनी भए कति मान्छे मरे । यो सही या गलत थियो त्यो त हामीले भविश्यलार्ई छोडेका छौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द भएकोले यो आन्दोलन भएको भनिए पनि निजी सम्पत्ति राख्ने जनताको अधिकारलार्ई कसले सुरक्षा दिने हो भनेर प्रश्न गरौं । प्रहरीले किन यस्तो अवस्थामा सुरक्षा दिन सकेन र भविश्यमा हुने यस्ता खालका आन्दोलनबाट सुरक्षा दिन सरकारले कस्तो नीति लिन्छ अवश्य सोधौं ।
महत्वपूर्ण कुरा भनेको त्यति ठुलो विध्वंशको आवश्यकता थियो या थिएन र यो कसले गराएको थियो भन्ने अनुसन्धान हुन्छ कि राजनीतिक आन्दोलन भनेर छोडिन्छ अवश्य सोधौं ।
चाहे १० वर्षे आन्दोलन होस् या त्यसपछिका गौर हत्या काण्ड र रेशम चौधरी काण्डसम्मका प्रश्न गरौं । प्रहरीको खस्केको मनोबल बदल्न सरकारका कस्ता योजना छन्, अवश्य सोधौं ।
(ङ) शिक्षा ,स्वास्थ्य र सुशासन
निःशुल्क शिक्षा लगभग सकिएको अवस्था छ । सामुदायिक विद्यालय को अवस्था यति धेरै बिग्रिएको अवस्था इतिहासमा कहिले थिएन होला । सबै जसो शिक्षक सक्रिय रुपमै स्कुलभन्दा राजनीतिमा बढी सक्रिय छन् । पालिकाहरुले पढाउने र राम्रो व्यवस्थापकभन्दा पनि आफ्नो पार्टीको भर्ती केन्द्र जस्तै बनाएका छन् । सरकारले लगाएको अर्बौं लगानी बालुवामा पानी भने जस्तै भएको छ । यसलार्ई सुधार्न नेताका र उक्त पार्टीका योजना के छन् भनेर सोध्न नबिर्सनु होस् ।
क्याम्पस र विश्वविद्यालयहरु राजनीतिक आन्दोलनका अखडा जस्तै बनेका छन् । राजनैतिक भाग बण्डामा जकडिएका छन् । यसलार्ई सुधार्न उक्त नेता र उक्त पार्टीको साेंच कस्तो छ । पढ्न भनेरै जाने विद्यार्थीकोे लागि कसरी पढ्ने वातावरण मिलाउनु हुन्छ । तपाईंका छोराछोरीले कसरी सरकारी लगानीमै फेरि पढ्न पाउँछन् ।
राम्रो उपचार नपाउनु र पैसा नभएकै कारणले बिरामीले मर्नुपर्ने अवस्था को कसरी अन्त्य गर्नु हुन्छ ? सरकारका स्वास्थ बिमा जस्ता कार्यक्रम पनि पैसाको अभावले निस्क्रिय हुने अवस्थामा छन्, त्यसलाई बचाउन तपार्इं र तपार्ईंका पार्टीका योजना के छन् र योजना मात्रै भएर भएन त्यसको श्रोत कसरी जम्मा गर्ने साेंच्नु भाछ ।
सरकारी कार्यालयको कुरै छोडौं । हामी यस्तो देशमा छौं, जहाँ कर तिर्नको लागि घन्टौ लाइन बस्नु पर्छ, अपमान सहनु पर्छ । सानो काम गराउन पनि दलालको सहयोग नलिई सम्भव नै छैन । सामान्य काम गर्न यो कोठा, त्यो कोठा, गाउँ र वडा र हुँदै, घरेलुदेखि वाणिज्यसम्म ५-७ दिन नगएसम्म कामै हुँदैन । यति धेरै झन्झटिला सरकारी कामको सुधार कसरी गर्नु हुन्छ, अवश्य सोधौं ।
यी माथिका यावत कुरा सोधी सकेपछि विचारगरौं । के तपाईंले सोधेका सबै प्रश्नको उत्तर पाउनु भयो ? तपाईंले पाउनु भएको उत्तरबाट के तपाईं सन्तुष्ट हुनुभयो ? अब विचार गर्नुस् । के तपाईंले भोट दिने नेता र पार्टीले यी सबै काम गर्ने हैसियत राख्दछ ? के तपाईं उसले गर्छ भन्ने कुरामा विश्वस्थ हुनु भयो ।
अब भोट दिने दिनभन्दा अघिल्लो दिन साेंच्नु होस् । नेताले भासन गरि रहेको समयमा ताली बजाउनभन्दा पनि ध्यान दिएर सुन्नुहोस् । सामाजिक सञ्जालमा धेरै फलोवर भएको आधारमा भोट नगर्नु होस् । हल्लाको पछि नलाग्नुस् । अर्काको कुरा पटक्कै नसुन्नु होस् र आफैँ विचार गर्नुस् । अन्यथा हाम्रो र हाम्रो देशको अर्को ५ वर्ष बर्बाद हुनी मात्रै हो । तेसो हुँदा गलत मान्छेले चुनाव जित्ने र तलब खाएर जाने बाहेक अर्को केही हुँदैन ।
हामीले धेरै आदर्शका कुरा सुनी सकेका छौं । अब हामीलाई काम गर्ने चाहिएको हो ।




