भेषराज पोखरेल
जीवन सुख–दुःखको चौपारी हो । जन्मेदेखि मृत्यु पर्यन्त मान्छेले जीवनलाई सार्थक र सफल बनाउन अनेकौं आरोह-अवरोह पार गर्छ । जीवनयात्राका भोगाइले नै मान्छेलाई परिपक्क बनाउने, त्यही भोगाइले हो, जीवन र समाजलाई डो¥याउने । एउटा भनाइ छ–‘जीवनमा पढेर मात्रै जानिदैन्, पर्नुपर्छ ।’ यो भनाइको अन्तर्य हो, जीवनमा व्यक्तिले पढेर मात्रै नभइ भोगेर धेरै जान्दछ, बुझ्दछ ।
एउटा व्यक्तिले जीवनयात्रा समाज परिवेश र समयसँगै सिक्दै अघि बढिरहेको हुन्छ । तत्कालीन परिवेशको भोगाइले व्यक्तिलाई जति आत्मविश्वासी र परिपक्क बनाउँछ, पुस्तकका सैद्धान्तिक कुराले कमै बनाउन सक्छ । जन्मेपछि परिवार, समाजमा अन्तर्घुलन हुँदै व्यक्ति जसरी अघि बढ्छ, त्यसक्रममा उसले गरेका सत्कर्मले व्यक्तिको जीवनलाई सहज मात्रै बनाउँदैन्, त्यसले समाज र राष्ट्रका लागि पनि योगदान दिइरहेको हुन्छ ।
अझ दीर्घ जीवन बिताएका अग्रजको भोगाइ, ज्ञान र अनुभव नयाँ पुस्ताका लागि महत्वपूर्ण हुन्छन्, अनुकरणीय हुन्छन् । समाजका अग्रज नयाँपुस्ताका लागि सिक्ने महत्वपूर्ण औजार हुन् । आशा, भरोसा र विश्वासका खानी हुन् । जसले नयाँ पुस्तालाई आशा जगाउन सक्छन्, आत्मविश्वास भर्न सक्छन्, संकटको बेला सामना गर्न सक्ने सार्मथ्य दिन सक्छन् । अप्ठारो पर्दा आत्तिने र सजिलो हुँदा हौसिने प्रवृत्तिलाई निरूत्साहित गर्न सक्छन् । अप्ठारो पर्दा मनोबल कमजोर बनाएर अघि बढ्दा त्यसले राम्रो नतिजा दिन सक्तैन् । सजिलो हुँदा हौसिदा पनि त्यसले लैजाने ओरालो यात्रातिर नै हो । अनुभव र भोगाइले नै व्यक्तिलाई सफलताको मार्गतिर लैजाने । र, ती व्यक्तिको सत्कर्मबाट नै अरूले सिक्ने । उनीहरूको ज्ञान र अनुभवको फराकिलो दायराले नयाँ पुस्तालाई फराकिलो मार्गमा हिड्न सिकाउँछ ।
ज्ञान र अनुभवले खारिएका समाजसेवी शोभाखर पोखरेलले नयाँ पुस्ताका लागि आड दिनुभयो, भरोसा दिनुभयो, आत्मबल दिनुभयो । आशा, विश्वास र संघर्ष गर्न सिकाउनु भयो । उहाँ ९३ वर्ष लामो दीर्घजीवन बाँचेर केबल परिवारको लालनपालन र शिक्षा दीक्षा मात्रै दिनु भएन्, यो समाजलाई सत्मार्गमा हिड्न सिकाउनु भयो । व्यक्ति परिवारमा जन्मेर मुलतः सामाजिक परिवेशले उसलाई प्रभावित पार्छ र समाजलाई व्यक्तिको भूमिका तथा योगदानले बदल्छ ।
गुल्मीको धुर्कोट पहिलेदेखि नै चेतनास्तर राम्रो भएको सुसंकृत समाज हो । यही समाजको एउटा परिवारमा जन्मेको व्यक्ति स्वभाविक रूपमा सत्कर्ममा लाग्नु स्वभाविकै हो । त्यही समाजले उहाँलाई सधैं सत्कर्ममा लाग्न प्रेरित ग¥यो । चञ्चले स्वभावका उहाँको जन्म विसं. १९८९ सालमा धुर्कोट गाउँपालिकाको वडा नम्बर १ अरौंदीमा भयो । तीन दाजु र तीन दिदीका कान्छा भाइ शोभाखरलाई बुबा-आमा र दाजु-दिदीको माया र स्नेहको कमि भएन् । अरौंदीमै प्रारम्भिक शिक्षा प्राप्त भयो । धुर्कोटमा त्यसबेला पढ्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको थियो । त्यसपछि थप शिक्षाको लागि उहाँ खिदिम जानु भयो ।
अर्घाखाँचीको खिदिम त्यसबेला शिक्षा आर्जनको लागि चर्चित थियो । खिदिममा रहेको हरिहर संस्कृत पाठशालामा टाढा-टाढाबाट पठनपाठन गर्न जान्थे । गाउँघरमा त्यसबेला पर्याप्त स्कुल र पाठशाला थिएनन् । हरिहर संस्कृत पाठशालाले गुरुकुल शिक्षामा ख्याती कमाएको थियो । खिदिममा गुरुकुल शिक्षा ग्रहण गरेपछि धुर्कोटमा फर्केर घर गृहस्थीतिर लागेका उहाँ केबल घरको काममा सिमित रहनुभएन् । हरिहर संस्कृत पाठशालामा पढेर फर्केको टाठो र बाठो युवा गाउँमा सबैको नजरमा नपर्ने कुरै भएन् । उहाँ गाउँको अगुवा बन्नुभयो । भतिज एंव सहयात्री पुरूषोत्तम पोखरेलका अनुसार, केही न केही सत्कर्ममा सधैं उहाँ लाग्नुभयो ।
गाउँमा सबैभन्दा पहिले उहाँले फोनबाजा ल्याउनुभयो । गाउँमा मनोरञ्जनको साधन नभएको बेला फोनबाजा गाउँलेका लागि राम्रै काम गरेको थियो । संगीतका पारखी भएकाले उहाँले एकतारे र खैजडी आफैं बनाउनुभयो । एकतारे र खैंजडी बजाएर गाएका भजनले धेरैलाई मन्त्रमुग्ध बनाउँथ्यो । हक्की स्वभाव र आकर्षक जीउडालका पोखरेल सबैका प्रिय हुनुहुन्थ्यो ।
चालीसको दशक लाग्दै गर्दा उहाँको जीवनले नयाँ मोड लियो । थातथलो धुर्कोट अरौँदी छाडेर वामीटक्सार बसाईँ सर्नुभयो । वामीटक्सार गएदेखि त्यहाँको नारायणस्थानको पूजाव्यवस्था तथा पूजनकार्यमा निरन्तर संलग्नभई धर्म संस्कृतिको प्रवद्र्धनमा संलग्न हुनुभयो । वामीटक्सारलाई धार्मिक सक्रियता बढाएको देखिन्छ ।
धर्म संस्कृतिको प्रवद्र्धनले उहाँलाई समाजसँग घुलमिल हुन सघाउ पु¥यायो । सरल स्वभाव, मृदुवचन, हँसिलो तथा आकर्षक व्यक्तित्वले वामीमा सबैका सम्मानित शोभाखर गुरुका रूपमा परिचित हुनुभयो ।
त्यही पहिचानले उहाँलाई पञ्चायत कालमा वामी गाउँपञ्चायतको निर्विरोध वार्ड सदस्य हुने अवसर जु¥यो । वामीटक्सार क्षेत्रको शिक्षा विकासमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ । वामीटक्सारको महेन्द्र माध्यमिक विद्यालय स्थापना र आर्थिक स्रोत जुटाउन धान्याञ्चल महायज्ञ सञ्चालन गर्न उहाँको महत्वपूर्ण भूमिका रहेकोा छ ।
‘धान्याञ्चल महायज्ञ नगरी आर्थिक स्रोत जुटाउन सकिएन्, धान्याञ्चल महायज्ञ गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो ।’— त्यस बेलाका प्राचार्य हीरामणि अर्याल सम्झनुहुन्छ ।
वामीको पीछडिएको गाउँ बसेरीमा विद्यालय नभएकाले विद्यालय स्थापना गर्न अगुवाइ गर्नुभयो । बसेरीको गौमती प्राथमिक विद्यालय अहिले पनि सञ्चालन भइरहेको छ । लामो समय सो विद्यालयको सञ्चालक समिति अध्यक्ष भएर उहाँले शैक्षिक विकासमा योगदान गर्नुभयो । कुमाल समुदाय आदिवासी हुन्, उनीहरूको शैक्षिक र आर्थिकस्तर कमजोर छ । सीमान्तकृत कुमाल समुदायको शैक्षिक स्तर उकास्न उहाँले निरन्तर अभियान चलाउनु भयो ।
शोभाखर पोखरेलले पूर्वीय संस्कारअन्तर्गतको आध्यात्मिक जीवनचर्या पूर्णरूपमा अवलम्बन गरेको देखिन्छ । कर्मकाण्ड, त्यस क्षेत्रका धेरै परिवारका गुरु, सकारात्मक सोंच तथा व्यवहारको उत्प्रेरणा प्रदान गरिरहने हुँदा सबैको प्रेरणाको पात्र बन्नुभयो । उहाँले काम गर, सकारात्मक सोच राख, शिक्षा हासिल गर, सद्भाव बढाऊ भन्दै सबैलाई घच्घचाउनु हुन्थ्यो । कसैप्रति रिस, राग नराख्ने पोखरेलको निडर र स्पष्ट बोल्ने स्वभावबाट सबैले प्रेरणा लिनुपर्छ ।
जन्म संयोग हो, मृत्यु निश्चित छ, तर तिथि र मितिको टुंगो छैन् । दीर्घ जीवन बिताएर यो समाजका लागि एउटा असल नागरिकले पूरा गर्नुपर्ने भूमिका निभाएर ९३ वर्षको उमेरमा २०८२ साल माघ ७ गते उहाँको देहावसान भयो ।
बाबु आमा मार्गदर्शक हुन् । उनीहरूले सिकाएका असल गुणले छोराछोरी पनि असल हुन्छन् । नेपाली समाजमा असल बाबुआमाका छोराछोरीमा केही नमेटिने छाप परेको हुन्छ भनिन्छ । उहाँका सात भाइ छोरा पनि बाबुकै असल कर्म र गुणले होला, सत्मार्गमा लागेको देखिन्छ । पछिल्लो समय उहाँका कान्छा छोरा ज्योतिष फलादेश तथा प्राध्यापनमा संलग्न नारायण पोखरेल तथा बुहारी कल्पना पोखरेलसँगै रूपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत दुर्गा मन्दिर पथमा बस्दै आउनुभएको थियो । उहाँहरूले गरेको पितृसेवा अनुकरणीय रह्यो । सबैको सद्भाव र सेवासुश्रुशाले उहाँको उत्तराद्र्ध जीवन पनि सुखमय रूपमै बित्यो ।
शोभाखर गुरु झैं सत्मार्गमा हिडेको दीर्घजीवी व्यक्तित्वबाट यो समाजले धेरै पाएको छ । उहाँको निधनले परिवारले अभिभावक मात्रै गुमाएन्, समाजले सत्कर्ममा संलग्न एउटा अनुभवी व्यक्ति गुमाएको छ ।
उहाँको निधनसँगै धुर्कोट अरौदी पोखरेल बन्धुको अघिल्लो पुस्ताको अन्त्य भएको छ । हामीले उहाँका सत्कर्मबाट धेरै सिक्न सक्छौँ । स्वर्गीय शोभाखर पोखरेल हामी माँझ हुनुहुन्न । तर उहाँका सत्कर्मले उहाँलाई सधैं जीवित राख्नेछ । हामी सधैँ सम्झिरहने छौँ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।




