२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामुदायिक विद्यालयले अर्को पालिकाबाट बसमा विद्यार्थी बोक्नु कति उचित ?

सामुदायिक विद्यालयले अर्को पालिकाबाट बसमा विद्यार्थी बोक्नु कति उचित ?

सामुदायिक विद्यालयले अर्को पालिकाबाट बसमा विद्यार्थी बोक्नु कति उचित ?

सामुदायिक विद्यालयले अर्को पालिकाबाट बसमा विद्यार्थी बोक्नु कति उचित ?

सामुदायिक विद्यालयले अर्को पालिकाबाट बसमा विद्यार्थी बोक्नु कति उचित ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • बुटवल
    मंगलबार बिहानै एउटा दुर्घटनाको खबर स्थानीय र राष्ट्रिय मिडियाहरूमा छायो । खबर थियो– रूपन्देहीको ओमसतिया–४ बसन्तपुरमा मणिग्रामको शान्ति नमूना माविले भाडामा लिएको बस दुर्घटनामा २१ जना विद्यार्थी घाइते । 


    बिहान साढे ६ बजेतिर धान धकधईतर्फबाट आउँदै गरेको लु १ ख ८६७५ नं. को बस र भैरहवाबाट पूर्वतर्फ जाँदै गरेको लु ३ त ३५३० नं. को ट्याक्टर एक आपसमा जुध्दा शान्ति नमूनामा कक्षा ११ र १२ मा पढ्ने २१ जना विद्यार्थी घाइते भए । तीमध्ये १५ जना उपचारपछि मंगलबारै डिस्चार्ज भए । गम्भीर घाइते ६ जनालाई युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरेर उपचार भइरहेमा रहेको विद्यालयले जनाएको छ । 


    उक्त दुर्घटनापछि सामुदायिक विद्यालयहरूले कति टाढाबाट विद्यार्थी बोकेर ल्याउन पाउने भन्ने वहस फेरि उठेको छ । 
    संविधानले विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । जसअनुसार राज्यले लगानी गरिरहेको छ । तर एउटा स्थानीय तहमा सञ्चालित ठूला सामुदायिक विद्यालयहरूले टाढा टाढा पुगेर अर्को पालिका र अर्को जिल्लाबाट समेत बसमा विद्यार्थी बोक्ने परिपाटी छ । यसबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा यो क्रम रोकिएको छैन । निजी विद्यालयहरूले पनि अर्को जिल्लाबाट समेत विद्यार्थी बसमा ल्याउने गरेका छन् । 


    टाढाबाट विद्यार्थी बोक्नुपर्दा गाडीको यान्त्रिक अवस्था, सडकको अवस्था, प्रतिकूल मौसम, समयको चाप (हतार) लगायत कारणले दुर्घटना हुन जान्छ । यसको मतलब नजिक वा पालिकाभित्र गाडीमा विद्यार्थी बोक्दा दुर्घटना हुँदैन भन्न खोजिएको होइन । तर टाढाको यात्रामा दुर्घटनाको जोखिम पक्कै पनि बढी हुन्छ । 


    अझ विद्यालयले भाडामा लिने बस अधिकांश पुराना र थोत्रा, सम्बन्धित निकायबाट नियमित र प्रभावकारी अनुगमन अभाव जस्ता कारणले बेला बेलामा दुर्घटना निम्तिने गरेका छन् । केही समयअघि शुद्धोधन गाउँपालिकामा एउटा निजी विद्यालयको बसमा आफैँ आगो लागेको थियो । 


    टाढाबाट यात्रा गर्नुपर्दा विद्यार्थीले बस भाडावापत अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ भने र बस भाडामा लिएर चलाउँदा विद्यालयले पनि खर्च बढेको छ । विद्यालयको खर्च बढ्नु भनेको राज्यकै खर्च बढ्नु हो । निजी विद्यालयले पनि अर्को पालिका र फरक जिल्लाबाट समेत विद्यार्थी बसमा ल्याउने गरेका छन् । 


    अभिभावक संघका केन्द्रीय सदस्य एवं रूपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली सामुदायिक विद्यालयले बसमा विद्यार्थी बोक्नु नै गलत भएको बताउँछन् । त्यसमा पनि अर्को पालिका र जिल्लाबाट विद्यार्थी ल्याउनु त झनै खराब परिपाटी भएको ज्ञवालीको तर्क छ । 
    ‘एउटा पालिकाबाट अर्को पालिकामा विद्यार्थी जान दिनु वा पठाउनु पालिकाको नेतृत्वको लाचारी हो, अक्षमता हो, एक प्रकारले संविधानको बर्खिलाप पनि हो,’ ज्ञवाली भन्छन्–‘आफ्नो पालिकाभित्रका विद्यालयलाई अब्बल बनाएर त्यहींका विद्यालय रोज्ने, बाहिर जानु नपर्ने बनाउने मुख्य दायित्व पालिकाको राजनीतिक र शिक्षा शाखाको दायित्व हो, तर उनीहरूले यसमा बेवास्ता गरेका छन् ।’  


    टाढाबाट विद्यार्थी बोक्दा अभिभावकलाई आर्थिक भार थपिने, ट्राफिक जाम र दुर्घटनाको जोखिम हुने भएकाले आफ्नो पालिकाका विद्यार्थीलाई आफ्नै पालिकामा गुणस्तरीय शिक्षा दिलाउन पालिकाहरू लाग्नुपर्ने ज्ञवालीको सुझाव छ ।
    ५ कक्षा माथिका विद्यार्थीलाई कम्तीमा आधा घण्टा हिंडेर पुगिने विद्यालय भएर हिंडेर जान दिनु विद्यार्थीको स्वास्थ्यका दृष्टिले पनि राम्रो हुने उनको सुझाव छ । 


    पालिकाका दुई चार वटा विद्यालय मात्र राम्रो भएर नपुग्ने भन्दै सबै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सम्बन्धित निकायको ध्यान जानुपर्ने ज्ञवालीको आग्रह छ ।  


    जिल्ला शिक्षा समन्वय इकाई रूपन्देहीका प्रमुख विष्णु पन्थीले विद्यालयले कति टाढा दूरीका विद्यार्थी भर्ना गर्न मिल्ने र बोक्ने भन्ने विषयमा यसअघि पनि थुप्रै प्रश्न उठेका, तर ठोस निकास ननिस्केको बताए । संविधानले विद्यालय तह (कक्षा १२) सम्मको शिक्षाको  अधिकार स्थानीय तहलाई दिएको, तर एउटा पालिकाभित्रको विद्यालयले कति टाढा दूरीका विद्यार्थी भर्ना गर्न मिल्ने र बोक्ने भन्ने स्पष्ट किटान नभएको उनले बताए । पछिल्लो राष्ट्रिय शिक्षा नीतिमा ‘स्कुल जोन’ र विद्यालय सेवा क्षेत्रबारे उल्लेख भएको जानकारी दिँदै पन्थीले अब यसबारे कानुनी स्पष्टता आवश्यक रहेको औंल्याए ।


     ‘अर्को पालिकाका विद्यार्थी भर्ना गर्न र बसमा बोक्न नमिल्ने नै भन्ने त छैन, तर सकभर पालिकाहरूले आफ्नो पालिका बाहिर विद्यार्थी जान नपर्ने वातावरण बनाएको राम्रो हो,’ पन्थीले भने–‘अहिले आएको राष्ट्रिय शिक्षा नीतिले कानुनमै यसबारे स्पष्ट व्याख्या गरिदिनुपर्छ ।’  


    शान्ति नमूना माविका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले विद्यार्थी र अभिभावकको मागअनुसार आफूहरूले रोहिणी गाउँपालिकाको धकधईसम्मका विद्यार्थी भर्ना गरेको बताए । 


    पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बस विद्यालयले भाडामा लिएकाले दुर्घटनामा घाइते विद्यार्थीको उपचार खर्च बस समितिले नै व्यहोर्ने लामिछानेले बताए ।


    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले विद्यालयले भाडामा चलाउने बसहरूको यान्त्रिक अवस्था, चालकको योग्यता, बसमा यात्रा गर्ने विद्यार्थीको दुर्घटना बिमा  आदि पक्षबारे सम्बन्धित सरकारी निकायको अनुगमनको कमी देखिएको औंल्याए । 


    डीएसपी सापकोटाका अनुसार बिहानपख बाक्लो हुस्सुका कारण सवारी साधनको बत्तीको भिजिबिलिटी कम भएर बस र ट्याक्टर ठोक्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ट्याक्टरले  ओभरलोड हुने गरी धान बोकेको उनले बताए । बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij