बुटवल
छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा संक्रमणको उच्च जोखिम छ । संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सर्तकता अपनाएको छ ।
भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएको थियो । यो भाइरसको संक्रमण उच्च रहेकोले ा नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत् संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने काम भइरहेको जानकारी दिएका छन् ।
प्रवक्ता बुढाथोकीका अनुसार, निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेकोले संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको छ । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको छ ।
उनले भने–‘चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले यी तीन चिजहरूलाई मध्यनजगर गरेर आम नेपाली नागरिकलाई पनि निपा भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसलाई केही समय क्वारेन्टाइनमा रहने र उनीहरूको सम्पर्कमा नजाने भनेर सचेतना फैलाइरहेका छौँ ।’
शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, नेपाल र भारतबिच खुला सिमाना कारण संक्रमण उच्च छ । यो भाइरसको प्राकृतिक रिजर्भोयर मानिने चमेरो नेपालमा पनि पाइन्छ । सुँगुर पनि नेपालमा लोकप्रिय नै मानिन्छन् । सुँगुरमार्फत् मानिसमा र मानिसबाट मानिसमा सजिलै सर्न सक्ने भएकाले नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा छ ।
‘भारतमा जस्तो नेपालमा जंगल जंगल डुल्ने र जंगलमा फलेका र झरेका फलफूल खाने चलन अलिक कम छ जस्तो लाग्छ, तर त्यहाँ पाइने चमेरो यहाँ पनि पाइन्छ र त्यो चमेरोमा यो भाइरस छ कि छैन भनेर कुनै परीक्षण नभएकाले अहिले नेपालमा यसको जोखिम छैन भन्न मिल्दैन ।’–उनले भने ।
नेपालमा सुँगुरहरू मर्दा के कारणले म¥यो भनेर त्यसको खोजी खासै गरेको पाइँदैन । त्यसैले पनि अब सुँगुर म¥यो वा बिरामी प¥यो भने त्यसको पनि कारण खोज्ने र परीक्षण गर्ने बेला आएको उनको भनाइ छ ।
मलेशियाबाट फैलिएको भाइरस
सन् १९९७ मा मलेसियाले धेरै खडेरी भोग्यो । यसैबेला मलेसियामा अर्को संकट आयो । सुँगुर फार्ममा काम गर्नेहरूमा अनौँठो किसिमको ज्वरो आउने र बेहोस हुने समस्या देखियो । जसबाट २६५ जना संक्रमित भए । तीमध्ये १ सय ५ जनाले ज्यान गुमाए ।
सुरुमा त मलेसियाले यसलाई जापानिज इन्सेफ्लाइटिस (जेई) भएको बतायो,जुन लामखुट्टेको टोकाइबाट सर्छ । यसको नियन्त्रणका लागि मलेसियाली सरकारले लामखुट्टे मार्ने र जेईविरुद्ध खोप अभियान नै पनि चलायो । तर यो अभियानले महामारी रोकिएन् । जेईको खोप लगाएकाहरूले नै ज्यान गुमाए । अधिकांश बिरामीहरू सुँगुर फार्मसँग कुनै न कुनै हिसाबले जोडिएकाहरू थिए ।
महामारीबाट नागरिकले ज्यान गुमाएको विषयमा जानकारी पाउन मलेसियालाई झण्डै एक वर्ष लाग्यो । मलेसियाबाट संकलन गरी पठाइएको नमूनामाथि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) मा अध्ययन गरियो । सन् १९९९ मा जेईसँग मिल्दोजुल्दो लक्षण भए पनि यो नयाँ भाइरस भएको पुष्टि भयो ।
सबैभन्दा पहिला यो भाइरस पुष्टि भएको ठाउँ सुङ्गाई निपाबाट नै यस भाइरसको नाम पनि निपा भाइरस राखियो । जुन खासगरी फ्रुट ब्याट भनिने ठूला चमेरोमा पाइने कुरा पनि पत्ता लाग्यो । तर चमेरो आफैँ भने यो भाइरसबाट बिरामी पर्दैन् ।
यसरी मलेसियाबाट सुरुवात भएको निपा भाइरस संक्रमणको जोखिम आज नेपालसम्मै आइपुगेको छ । तर इपिसेन्टर मलेसिया भने पहिलो प्रकोपपछि निपा भाइरसमुक्त छ । पहिलो प्रकोपपछि २६ वर्ष भयो मलेसियामा निपा भाइरसको नयाँ बिरामी भेटिएका छैनन् ।
संक्रमण भएको ४ देखि १४ दिनभित्र निपा भाइरसका लक्षणहरू देखिन थाल्छन् ।
सुरुमा ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । त्यसपछि बिरामीमा इन्सेफ्लाइटिस अर्थात् मस्तिष्कको सुजनका लक्षण देखिन सक्छन् ।
यस्तो गम्भीर अवस्था आएमा बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत अवस्थामा जान सक्छ । साथै, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्छ । उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुनसक्ने देखिएको डा. पुनको भनाइ छ । हालसम्म यस भाइरसविरुद्ध विशेष एन्टिभाइरल औषधि वा खोपको विकास भएको छैन ।
विश्व स्वास्थ्य संगठनले यो भाइरसको संक्रमणको कारण मृत्यु हुने दर ४० देखि ७५ प्रतिशतसम्म पनि हुने गरेको बताएको छ । भारतमा यो भाइरस संक्रमणको पछिल्लो इतिहास हेर्दा बेला बेलामा सानो सानो आउटब्रेकहरू भइरहेको छ । र संक्रमितमध्ये अधिकांशको मृत्यु भएको पाइन्छ ।
डा. पुनका अनुसार भारत र बांगलादेशमा निपा भाइरसको मृत्युदर औषतमा ७० देखि १०० प्रतिशतसम्म रहेको छ । तर कोरोना महामारी जसरी मानिस मानिसबिच भेट्दैमा र हिँड्दैमा यसको संक्रमण फैलिएको भने पाइँदैन । तर यसो भन्दैमा वा आजसम्म नेपालमा संक्रमण पुष्टि भएको छैन भन्दैमा ढुक्क हुन मिल्दैन ।
मलेसियाले यो भाइरस नियन्त्रणका लागि संक्रमण फैलिएको क्षेत्रमा पालिएका १० लाखभन्दा बढी सुँगुरहरू नष्ट गरेर खाडलमा पुरिएको थियो । यसका लागि मलेसियाले सेनासमेत परिचालन ग¥यो । साथै मलेसियाले सुँगुर फार्महरूको संरचनामा पनि ठूलो परिवर्तन ग¥यो । सुँगुर फार्मलाई मानवबस्ती र फलफूल खेतीभन्दा टाढा सारियो । फार्महरूमा चमेरो छिर्न नसक्ने गरी तारजाली लगाइयो । फार्म वरिपरि फलफूल रोप्न पनि प्रतिबन्ध लगाइएको थियो ।
किनकि तत्कालीन समयमा खडेरीका कारण जंगलबाट चमेराहरू आहाराको खोजीमा मानिसले पालेका सुँगुर फार्म छेउछाउका फलफूलहरू खान आए र चमेरोले आधा खाएर छाडेका फलफूल वा तिनिहरूको ¥याल र पिसाब सुँगुरको खोरसम्म आइपुग्दा चमेरोबाट यो भाइरस सुँगुरमा र सुँगुरबाट मानिसमा सरेको निष्कर्ष मलेसियाले निकालेको थियो ।
अहिले पनि मलेसियामा सुँगुर बिरामी पर्नासाथ रिपोर्ट गर्नुपर्छ । सुँगुर फार्ममा काम गर्ने कर्मचारीहरूका लागि विशेष किसिमको लुगाको व्यवस्था गरिएको छ भने सरसफाइमा पनि विशेष ध्यान दिने गरिन्छ ।
नेपालले कस्तो सावधानी अपनाउने ?
सबैभन्दा पहिला त संक्रमण फैलिएको देश भारतबाट आउने नागरिकले आफैँ आइसोलेट भएर बस्ने र यदि ४ देखि १४ दिनभित्र रूघाखोकीका कुनै लक्षण देखिए तत्काल परीक्षण गर्न डा.पुन सुझाउँछन् ।
यसका साथै नेपालमा धेरैजसो फलफूलहरू भारतबाटै आउने भएकाले राम्रोसँग पखालेर मात्र खाने, बेलाबेलामा साबुनपानीले हात धुने र मास्क लगाउने गर्नुपर्छ ।
यो भाइरसको संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, मांसपेशी दुख्ने, घाँटी दुख्ने, बान्ता हुने, चक्कर लाग्नेजस्ता समस्या देखिन्छन् । यी लक्षणहरूफ्लु वा अन्य संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणबाट मात्र निश्चित गर्न सकिन्छ ।
आत्तिहाल्नु पर्ने अवस्था छैन’
लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठक अहिले नै आत्तिनुपर्ने अवस्था नभएको बताउँछन् ।
उनका अनुसार सर्तक रहनु राम्रो हो, तर संक्रमण छिट्टै हुन्छ र क्षति ठूलो गर्छ भनेर आत्तिनुपर्ने अवस्था छैन । उनले कोभिड महामारीमा झैं संक्रमणदर उच्च नरहेको बताए । ‘संक्रमण भएपछि मृत्युदर भने बढी छ । मृत्युदर बढी भएकाले जोखिम देखिएको हो ।’–उनले भने ।
डा. पाठक नेपालमा निपाहा भाइरसको संक्रमण आउने सम्भावना कम देख्छन् । चमेरो, सुँगुर, घोडा र संक्रमित व्यक्तिबाट सर्ने यो भाइसको प्रमुख स्रोत चमेरो नेपालमा पर्याप्त नदेखिएको उनको भनाइ छ । ‘मलेशिया, बंगलादेश र थाइल्याण्डमा खजुर पाइने भएकाले खजुर खान चमेरो जान्छ , चमेरोले खाएको फलफूल मान्छेले खाँदा जोखिम बढेको हो ।’–उनले भने । उनले सुँगुरबाट हुने संक्रमण भने कायमै छ । सुरक्षात्मक उपाय अवलम्बन गरे सुँगुरबाट हुने संक्रमण नियन्त्रण गर्न सकिन्छ ।
संक्रमित भएको व्यक्ति छिट्टै बिरामी भई अस्पताल पुग्ने भएकाले संक्रमणको दर न्यून रहेको उनको भनाइ छ ।




