तुल्सीराम पाण्डे
कुकुर इमान्दार र सन्तोषी हुन्छ । यसलाई सामान्य तालिम दिएमा अरु जनावरले भन्दा छिटो र धेरै कुरा सिक्न सक्दछ । धार्मिक रुपमा यसलाई भैरबको बाहन मानिन्छ । त्यसबाहेक अन्य विशेषताहरुमा स्थल प्राणीमा सबैभन्दा धेरै दाँत (४२ वटा) हुने । शरीरबाट पसिना नआउन,े पातलो निद्घा हुने । मालिकको भक्ति गर्ने । निदाएको समयमापनि भुकेर थाहादिने । आफ्नो इलाकाको रक्षा गर्ने । नयाँ मानिस आएमा भुक्ने र घरको रक्षा गर्ने, पहाडी इलाकामा बाँदर लखेट्ने, हिमालमा भेडा च्याङ्ग्रा चराउने । मधेसमा चोरी हुन नदिने गर्दछन् ।
कुनै ठाउँमा भौगोलिक आवश्यकताले कुकुर पालिन्छ भने धेरै ठाउँमा कुकुर पाल्ने घरलाई सौखिन र सम्पन्नता भएको बुझिन्छ । २०२५÷३० सालसम्म सामान्य मानिसको विवाह गर्दा समेत ढुक्नी र भुक्नी छ कि छैन ? भनेर सोध्ने चलन थियो । खेती गर्ने मानिसले पनि अरुले कमाएको र जोगाएको सम्पत्ति देखिन्छ, कुकरले र बिरालाले जोगाएको देखिंदैन भन्दथे ।
काठमाडौं र अन्य शहरमा कुकुर पाल्नेलाई अरु मानिसले इज्जत गर्दछन् । भाडामा बस्नेहरु र कुकुर पाल्न नसक्नेहरुले समेत आफ्नो इज्जत राख्नको लागि घरमा कुकुर छ भनेर गेटमा टाँस्ने र पाहुना आएको थाहा पाएमा कुकुर भुकेको टेप बजाएपछि मात्र ढोका खोल्दछन् । गाउँमा कुकुर पाल्नेहरुले अरु नातेदार र आफन्तसँग कुकुरको कुनै कुरा गर्दैनन्, सबैलाई साइनोअनुसार सम्मान गर्दछन् । शहरमा कुकुर पाल्नेहरुले सबै ध्यान कुकुरमा केन्द्रित गर्दछन् । कोही पाहुना गएमा समेत कुकुरको मात्र कुरा सुनाइरहन्छन् । कहाँबाट ल्याएको, कतिमा ल्याएको, कुन जात हो, के खान्छ, कुन साबुनले नुहाइदिने जस्ता कुरा गरिरहन्छन् ।
कुकुरमा ध्यान केन्द्रित गर्नेहरुको मानवीय भावना हराउँदै गएको पाइन्छ । त्यसैअनुसारको व्यवहार देखिन्छ । त्यस्ता व्यवहारहरुमा :- भान्सामा र विस्तरामा लैजाने, आफूसँगै राखेर मुसारी रहने, अरुको वास्ता नगरेर कुकुरसँग जिब्रो चाटाचाट गर्ने, सधैँ दूध, घ्यू र मासुका परिकारहरु खुवाउने गर्दछन् । यस्तो व्यवहार गर्नेहरुले परिवारमा अपाङ्ग मानिस भएमा हेला गर्ने, गरिब र माग्नेलाई देखेमा हेप्ने, गाली गर्ने, पानीले छेप्ने र कुनै बेला घचेट्ने समेत गर्दछन् । आफ्ना बाबु आमा समेत कमाउन नसक्ने भएपछि वृद्घ आश्रममा राख्ने र आपूmहरुले मोजमस्ती गर्दछन् ।
सुघ्ने क्षमता बढी भएको कारणले त्यसलाई प्रयोग गरेर चोर, हत्यारा र विस्फोट पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग गरिन्छ । भिआइपी र भिभिआइपिहरुको सुरक्षामा समेत कुकुरले जाँच गरेपछि मात्र पूरा भएको मानिन्छ । नेपालको प्रहरी र सेनामा समेत विभिन्न दर्जा पाएका कुकुरहरु कार्यरत छन् । काठमाडौंमा केही मानिसहरुले कुकुर पालेर छाउरा बेच्ने व्यवसाय चलाएका छन् । जापान र कोरियामा पाहुना आउँदा कुकुरको मासु पकाएमा ठुलो स्वागत गरेको मानिन्छ । कुखुरा र खसीको मासुभन्दा कुकुरको मासु तीन गुना बढी महँगो हुन्छ । नागाल्याण्डका आदिवासीहरुमा कुल पूजा गर्दा कुकुरको बलिदिने गर्दछन् भनेर त्यहाँ जानेहरुले बताउँथे । कुकुरको मासुले शरीरमा गर्मी बढाउने र रोग निको पार्ने विश्वास गरिन्छ । पहिलेका मानिसहरुले वात भएमा स्यालको मासु खाने र छालामा बस्ने गर्दथे । पुरानो कुरा जानेका केही ठट्यौली मानिसहरुले अहिले पनि स्याल र कुकुर एकै हो, कुकुर खाए पनि हुन्छ भन्दछन् ।
कसैले बिरालोको मासु खाए पनि बेसरी गर्मी हुने र जाडोमा समेत एक सरो कपडामा हिंड्न सकिने कुरा गर्दछन् । ५० को दशकमा निर्माणको काम गर्न आएका चिनियाँहरुले त्यस ठाउँका भुस्याहा कुकुरहरु खाएका थिए । त्यही देखेर काङ्ग्रेसहरुले यहाँका कम्निष्टहरुलाई कुकुर खाने भनेर गाली गरे र त्यहीभनेर बुढाबुढीसँग भोट मागे ।
अहिले गाउँ र शहरमा भुस्याहा कुकुरहरु बढेका छन् । पशुहरुको बाँच्न पाउने अधिकारले कुकुरलाई मार्न पाईंदैन । पहिले नगरपालिका र गा.वि.स ले बेलाबेलामा भुस्याहा कुकुरहरु मार्दथे । अहिले पसलमा समेत कुकुर राख्दछन् । कुनै बेला ग्राहकलाई समेत टोक्दछन् । बाटामा हिंड्ने कुकुरले बटुुवालाई टोक्ने र मोटर साइकललाई लखेट्ने गर्दछन् । बाग्लुङमा एकजना मोटरसाइकल यात्रीको कुकुरले लखेटेको कारणले मृत्यु भयो । धेरै ठाउँमा कुरा उठ्दा समेत कुकुरको व्यवस्थापन हुन सकेन । गाउँबाट बजारमा आएको मानिसलाई कुकुरले टोकेमा उपचार गर्न र कुकुरको मालिकलाई चिनेर न्याय खोज्न सक्दैन । राज्यले चाहेमा अनेक तरिकाबाट कुकुरको व्यवस्थापन हुन सक्दछ ।
मानिसको सहयोगी भएको हुनाले तिहारमा कुकुरको पूजा गर्ने चलन छ । धेरै मानिसहरुले सडकका कुकुरलाई एकदिन पूजा गर्ने, फेसबुकमा फोटो राख्ने र सडकमै छोडिदिने गर्दछन् । अरु दिन पिट्ने गर्दछन् । पहिले कुकुरहरुले बाटाको दिशा खान्थे । खुल्ला दिशामुक्त भएपछि कुकुरको आहारा कम भएको छ । एकाबिहानै हिंड्ने मानिसलाई ठट्यौला मानिसहरुले कुकुरले गुहु पनि नखाँदै हिंडेछौं भन्दथे । कुकुरको रोग प्रतिरोधी क्षमता बढी हुन्छ । आफ्नो शरीरमा ठूलो घाउ भए पनि चाट्न मिल्ने ठाउँमा भएमा निको पार्दछ । कुकुरहरु लड्दा प्रायः ः कानमा टोक्ने र चिथोर्ने गर्दछन् । कानको घाउ निको नभएमा कुकुर मर्दछ । केही ठट्यौला मानिसहरुले कुकुरको खुसीको महिना कार्तिक हो, यो बेलाका कुकुरहरु एउटा कान गएजाला भन्दै हिंड्छन् भन्दथे । पहिले कार्तिकमा मात्र कुकुरको मिलन हुने र फागुनमा ब्याउने गर्दथे । पहाडका मानिसहरुले कुकुर ब्याएपछि मात्र अमला र भरला खान्थे । अचेल जहिले पनि कुकुर ब्याउँछन् । फागु खेल्दा समेत ‘पारीबाट कुकुर आयो कान कुहेको तेरो बालाउरे....भनेर अस्लील गीत गाउँथे ।
कुुकुरबाट केही उखान समेत बनेका छन्–‘भुक्ने कुकुरले टोक्दैन ।’ नपत्याएका कुकुरले टोक्छ । कुकुरका छाउरा झै धेरै सन्तान पाएछु । कात्तिक कुकुर झै लखर लखर हिंडेको छ । कुकुरको काम पनि छैन, फुर्सद पनि छैन । कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै । कुकुरको पुच्छर पनि सोझिन्न, यसको बेहोरा पनि सोझिन्न । चित्रबहादुर केसीले समेत अहिलेका नेताले भाषण मात्र गरेको देख्दा नरको चित्त बुझाउन लुते कुकुर भुक्छ, भनेर नयाँ उखान बनाएका छन् ।
पुराना मानिसहरुले कसैलाई गाली गर्दा कुकुर भन्दछन् । २२ नङ्ग्रा हुने कुकुर ज्याद्रो र बाठो हुन्छ । धेरै नङग्रा हुने कुकुर शिकारी हुन्छ । चन्द्रमामा समेत कुकुर पहिल्यै पुगेको थियो । कुकुर बुढो भएर कालगतिले मरेको देखेमा अशुभ मानिन्छ । आफ्नो कालआएको कुकुरले थाहा पाएपछि कसैले नदेख्ने ठाउँमा गएर मर्दछ । पुराना मानिसहरुले मानिस मरे दागबत्ती दिने, गाई मरे मुखमा माटो राखिदिने र कुकुर मरेको देख्न नपरोस् भन्दछन् ।
कुकुर र मानिस एकअर्काको सहयोगी भएको हुनाले अहिलेसम्म मानिसलाई कुकुरको र कुकुरलाई मानिसको साथ छ ।




