भैरहवा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देहीका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाए पनि उल्लंघनको क्रम सुरु भएको छ ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १३ (म) मा मतदान हुने दिनभन्दा सत्र दिन अगाडि अर्थात् फागुन ४ गतेदेखि मात्रै जुलुस आमसभा, वा कोणसभा गर्न, सञ्चार माध्यममा प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्न पाउने उल्लेख गरे पनि अहिलेबाट नै अधिकांश उम्म्ेदवार घरदैलोमा व्यस्त रहेका छन् ।
रूपन्देहीका उम्मेदवारहरू घरदैलो गर्ने, मतदातालाई समूहमा उपस्थित गराई सल्लाह सुझाव लिने गरेको पाइएको छ ।
यस्तै आचारसंहिता विपरीत सार्वजनिक ठाउँमा ब्यानर लगाउने, घरदैलो गर्ने, भारतीय गाडी र धेरै गाडीको प्रयोग गर्ने, कलर पर्चा पम्पलेट, निर्वाचन चिन्ह अंकित सामग्रीको प्रयोग गरिरहेका छन् । यस्तै वडा वडामा सम्पर्क कार्यालय स्थापना गर्ने कार्य पनि राजनैतिक दल र उम्मेदवारहरूले गरेका छन् ।
यस्तै सरकारी कार्यालयका कर्मचारीहरू पनि खुला रूपमा राजनैतिक दलको समूहमा हिड्ने, प्रचारप्रसारमा सहयोग गर्ने गरेको पाइएको छ ।
यस्तै आचारसंहिता को परिच्छेद ३ को दफा ५ को (क) मा मन्त्री, स्थानीय कार्यपालिका पदाधिकारीहरू राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिए पनि पालिकाका निर्वाचित प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरू कार्यक्रममा सहभागी भइरहेका छन् । यस्तै प्रदेशका मन्त्रीहरू पनि सहभागी भइरहेका छन् ।
दफा १३ मा स्थानीय प्रशासनको अनुमति २४ घण्टा अगावै गरि मात्रै भेला गर्नु भने पनि निर्वाध तरिकाले वडा वडामा स्थानीयहरूको भेला गराई कार्यालय स्थापना भइरहेको छ ।
यस्तै दफा १३ को (ज) मा सार्वजनिक ठाउँमा दलको झण्डा, निर्वाचन चिन्ह राख्न वा टास्न नहुने उल्लेख भए पनि ठूला ठूला व्यानर राखिएको छ ।
भेला प्रचारप्रसारको समय बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न भने पनि राती अबेरसम्म यि कार्यक्रम अहिलेदेखि नै भइरहेको छ ।
निर्वाचन प्रयोजनको लागि ७५ ग्राम पेपरमा ३ सय वर्ग ईन्च एक रंगको र मुद्रकको नामसहित पर्चा मात्र प्रयोग गर्नु भने पनि त्यसको विपरीत पर्चाहरू बनाइएको छ ।
उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३ बाई ४ फिट सम्मको मात्रै राख्न मिल्ने भए पनि फोटोसहितको फलेक्स बोर्डहरू राखिएका छन् ।
प्रचारप्रसारमा घरदैलौ गर्दा उम्मेदवारसहित २५ जनाभन्दा बढी जुलुस लिएर जान नहुने र बाजागाजा तथा झाँकीको प्रयोग पनि बन्देज गरिएको छ । कतिपयले भारतीय गाडीको प्रयोग पनि गरिरहेका छन् ।
निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको प्रयोग गर्न नमिल्ने भए पनि त्यसको प्रयोग जाथाभावी गर्दा समेत नियमन निकायको ध्यान जान जरूरी छ ।
हालै मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको सर्वदलिय सर्वपक्षिय बैठकमा अधिकांश उम्मेदवारले आचारसंहिता पूर्ण पलना गर्ने प्रतिबद्धता जनाएका थिए ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुनेदेखि उम्मेदवार रद्दको निर्णयसम्म हुन सक्ने व्यवस्था गरेको छ । यस पटक आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अन्तर्गत कारबाही हुन सक्ने व्यवस्था निर्वाचन आचार संहिता २०८२ मै उल्लेख गरेको छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँदेखि उम्मेदवारी रद्दको निर्णयसम्म हुनसक्ने व्यवस्था आचारसंहिताको दफा ४८ मा उल्लेख गरिएको छ ।
जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समितिको संयोजकमा मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेत रहेका छन भने ७ सदस्यीय समिती छ ।
अनुगमन समिति अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार फोन, सामाजिक सञ्जाल र लिखित रूपमा उजुरी प्राप्त भए पनि गम्भीर प्रकृतिको उजुरी नभएको बताए । सामान्य उल्लंघनको उजुरी आएकोले हामीले सम्बन्धितलाई सोको जानकारी गराएर निगरानी गरी केही हटाउन लगाई आचारसंहिता पालना गराउनेतर्फ लागेका छौं ।
पोस्टर टासेको, व्यानर टासेको, कार्यकर्तालाई भोज खुवाएकोलगायतको उजुरी आएको र त्यसलाई बन्द गराई सकारात्मक नतिजा आएको, जिल्लामा आएको सबै उजुरी फछ्र्यौट भएको उनले जानकारी दिए ।




