फागुन २१ मा हुन लागेको प्रतिनिधिसभाको चुनावको माहौल अझै तात्न सकेको छैन । मुलुकमा चौतर्फी निराशा र आक्रोशको निशानामा दलहरु परेका छन् । मुलुकमा लामो समयदेखि चलिरहेको राजनैतिक अस्थिरताको दुष्चक्र दलहरुले संविधान बनेपछि तोड्छन् भन्ने विश्वास टुटेको छ ।
संविधान निर्माणपछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकता गर्ने गरी एमाले र एमाओवादीको गठबन्धनले झण्डै दुई तिहाई नजिक जित हासिल ग¥यो । पार्टी एकता भयो, त्यो एकता बिचमै तुहिएपछि राजनैतिक अस्थिरताको दुष्चक्र निरन्तर छ । जेनजी आन्दोलन र विध्वंशपछि हुन लागेको यो चुनावमा नयाँ र पूराना दल भन्ने भाष्य खडा गरिएको छ, नयाँ र पूराना दल भन्ने भाष्य खडा गरेर आम नागरिकलाई भ्रम श्रृजना गर्न खोजिएको छ । नयाँ दल र उम्मेदवार सबै ठिक र पूराना भनिएका दल र उम्मेदवार सबै खराब भन्ने भाष्य खडा गरेर ‘लोकप्रियतावाद’को जालोमा नागरिक परेका छन् । चुनावमा राजनैतिक दलका एजेण्डा हुन्छन् । एजेण्डाको आधारमा दल र उम्मेदवार जनताको घरदैलोमा मत माग्न जानु स्वभाविक हो । राजनैतिक दलको एजेण्डाका आधारमा आफूलाई मन परेको दल र उम्मेदवारलाई मत दिने अधिकार मतदातालाई छ । तर मतदाताको यो अधिकार संकुचित गर्न खोजिएको छ । सामाजिक सञ्जालको अल्गोरिदमका कारण यतिखेर मतदाता दिग्भ्रमित भइरहेका छन् ।
राजनैतिक दल र उम्मेदवारको एजेण्डाका आधारमा छनौटको सार्वभौम अधिकारबाट मतदाता वञ्चित भएका छन् । सामाजिक सञ्जालले मतदाताको मनलाई स्वतन्त्रतापूर्वक निर्णय गर्न दिइरहेको छैन । कसैविरुद्ध अर्नगल प्रचार गर्नु, आरोप लगाउनु र मतदातालाई दिग्भ्रमित पार्न सक्ने दल र उम्मेदवार नै चुनावमा अघि हुने र जित्ने जोखिम बढेको छ । सामाजिक सञ्जालको अल्गोरिदममा फसाएर मतदाताको मन बाध्न खोज्नु लोकतन्त्रलाई संस्थागत गर्न बाधा पु¥याउनु हो । समाजमा बढिरहेको अराजकतालाई अझंै फैलाउनु हो । विचार निर्माण अध्ययनका आधारमा होइन्, सञ्जालमा दिइने दुष्प्रचारको आधारमा हुनुु भनेको समाजलाई लहडी बनाउनु हो । लहडी समाज जता पनि बहन सक्छ, लहडी समाजले समस्या समाधानको बाटो पहिल्याउँदैन । त्यसले समस्याको चाङ खडा गर्दै अघि बढ्छ । समस्याको चाङ खडा गर्दै गएपछि अन्ततः समाजमा निराशाकै खेती हुन्छ । आपसी द्वन्द्वमा फस्दै निस्कनै नसक्ने सुरूङमार्गमा जाने खतरा बढ्छ ।
अझैं समय छ, मतदाताको विवेकलाई स्वतन्त्रतापूर्वक छाड्नुपर्छ । कसैले दुष्प्रचार गरेर दिग्भ्रमित पार्न खोज्दा एउटा चुनाव जित्न वा कसैलाई हराउन सकिएला । अन्ततः त्यसले समाज र राष्ट्रले खोजेको परिवर्तन र राजनैतिक निकास दिँदैन् । विचार र एजेण्डाको स्वस्थ बहस गर्ने गराउने वातावरण तयार गरी मतदाताको स्वतन्त्रतालाई सम्मान गर्न सक्दा हाम्रो लोकतन्त्रले सही बाटो लिनसक्छ ।




