भैरहवा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिले भेटघाट चलिरहेको छ । कसैले व्यक्तिगत रुपमा त कसैले सामूहिक रुपमा भेटघाट गरिरहेका छन् । रुपन्देहीमा पनि यो क्रम चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम गरेको छ । सुप्रिम सहकारीको बचत अपचलनमा ठगीको मुद्दाको तारेख लिन जिल्ला अदालत रुपन्देही आएको बेला रास्वपा सभापति रवि लामिछानेले जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम भन्दै आचारसंहिताविपरीत कोणसभा गरेका छन् । उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाए पनि रास्वपाले आचारसंहिता उल्लंघन गरेको हो ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १३ मा मतदान हुने दिनभन्दा सत्र दिन अगाडि अर्थात् फागुन ४ गतेदेखि मात्रै जुलुस आमसभा, वा कोणसभा गर्न, सञ्चार माध्यममा प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्न पाउने उल्लेख गरेपनि लामिछानेले सोमबार रूपन्देहीका दुई दर्जन ठाउँमा कोणसभा गरे ।
दफा १३ को (ख) मा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने र दफा १३ को (ग)मा जुलुस आमसभा कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति समय मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगाडि जानकारी गराउनु पर्ने उल्लेख भए पनि सोलाई लत्याउँदै कोणसभा भएको हो ।
उपस्थितहरुले पनि आचारसंहिताविपरीत व्याच र चुनाव चिन्ह घण्टी बजाउँदै बिहानैदेखि रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रको विभिन्न भागमा दर्जनौ गाडीको लस्करसहित ¥याली र सभा गरेका छन् ।
समाजिक सञ्जलामा पनि आइतबारबाटै देवदहको खैरेनीबाट जिल्लाको विभिन्न क्षेत्रका २६ स्थानमा निर्धारित तालिकाअनुसार नै कार्यक्रम हुने गरी प्रचार गरिएको थियो । सबै स्थानमा औपचारिक सम्बोधन नभए पनि केही ठाउँमा भाषण भएको थियो । उनले निर्वाचन क्षेत्रका रास्वपाका उम्मेदवारलाई अघि सारेर कार्यक्रम गरेका थिए ।
जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समिति अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट फोन, सामाजिक सञ्जाल र लिखित रुपमा २०–३० वटा उजुरीहरु प्राप्त भएको छ, छिटफुट घटना भएकोले सबैलाई जानकारी गराएको आचारसंहिता पालना गराउने तर्फ लागेका बताए ।
रवि लामिछानेले कोणसभा गरेको जानकारी नआएको, तर विभिन्न ठाएमा रुट बनाएर आचारसंहिता पालना गरेर भेटघाटको कार्यक्रम गर्ने जानकारी आएको बताए । ‘हिजै हामीले सम्बन्धितलाई व्यवस्थित गर्नका लागि अनुरोभ गरेका थियौं ।’–उनले भने ।
समग्र जिल्लाबाट गम्भीर प्रकृतिको नभई सामान्य उल्लंघनको उजुरी आएकोले सम्बन्धितलाई सो को जानकारी गराएको, निगरानी गरी केही हटाउन लगाइ आचारसंहिता पालना गराउनेतर्फ लागेको उनको भनाइ छ ।
पोस्टर टासेको, व्यानर टासेको, कार्यकर्तालाई भोज खुवाएकोलगायतको उजुरी आएको र त्यसलाई बन्द गराई सकारात्मक नतिजा आएको बताउँदै अधिकृत आचार्यले जिल्लामा आएको सबै उजुरी फछ्र्यौट भएको जानकारी दिए ।
के बोले रविले ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रुपन्देही क्षेत्र नं. ३ मा आगामी निर्वाचनलाई देशको दिशा बदल्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । जनसम्पर्क कार्यक्रममा उनले मतदाताले आफ्नो रोजाइ मनमै तय गरिसकेको उल्लेख गर्दै अब त्यसलाई मतदानमार्फत् अभिव्यक्त गर्ने समय आएको बताए । लामिछानेले क्षेत्रीय उम्मेदवार डा. लेखजंग थापालाई सक्षम नेतृत्वका रूपमा प्रस्तुत गर्दै देश निर्माणका लागि नयाँ सोंच र प्रतिबद्ध व्यक्ति आवश्यक रहेको धारणा राखे ।
उनका अनुसार यस्ता उम्मेदवारले राजनीतिक अभ्यासलाई परिणाममुखी बनाउने विश्वास दिलाउँछन् । समानुपातिकतर्फका उम्मेदवार ज्ञान पौडेललाई पनि उनले निडर र योग्य प्रतिनिधिका रूपमा चित्रित गर्दै संसदमा पु¥याउन मतदातासँग अपिल गरे ।
उनले विगतका चुनावहरूले अपेक्षित परिवर्तन दिन नसकेको स्मरण गराउँदै यसपटक सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताए । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा पार्टीलाई समर्थन गर्न आग्रह गर्दै लामिछानेले मतदाताको भरोसाले मात्रै राजनीतिक परिवर्तन सम्भव हुने उल्लेख गरे । एनले देशलाई अघि बढाउने जिम्मेवारी अब नागरिककै हातमा रहेको बताए ।




