निर्वाचन आचारसंहिता मिचेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार र मंगलबार रूपन्देही र नवलपरासीका दुई दर्जन बढी ठाउँमा कोणसभा गरे । रूपन्देहीका मुख्य निर्वाचन अधिकृतकाअनुसार लामिछानेले सोमबार रूपन्देहीमा रोड सोमात्रै गर्ने गरी अनुमति पाएका थिए । तर उनले विभिन्न स्थानमा सभा गर्दै चुनावी भाषण गरेका थिए । विभिन्न स्थानमा परिचयात्मक भेटघाट गर्ने र सभा तथा सम्बोधन नगर्ने गरी लामिछानेलाई अनुमति दिएको थियो । तर लामिछानेले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि गरे । रास्वपाका कार्यकर्ताहरूले आचारसंहिताविपरीत व्याच र चुनाव चिन्ह घण्टी बजाउँदै बिहानैदेखि रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रको विभिन्न भागमा दर्जनौ गाडीको लस्करसहित ¥याली र सभा गरे ।
सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको तारिख बुझ्न सोमबार जिल्ला अदालत रूपन्देही आएको मौकामा लामिछानेले रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रका दुई दर्जन स्थानमा पुगेर केही ठाउँमा समर्थकहरूलाई सम्बोधनसमेत गरेका थिए । त्यस्तै कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय गरेका थिए । तर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी ‘निर्वाचन आचारसंहिताविपरीत’ कार्यक्रम नगर्न भनेको थियो । तर प्रशासनको सूचनालाई समेत लामिछाने र उनको दलले बेवास्ता गरेको पाइएको छ ।
पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ ले निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने भएकाले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्न÷नगराउन आग्रह गरेको थियो । प्रशासनको सूचनाका कारण लामिछानेले नवलपरासी र रूपन्देहीमा जस्तो आचारसंहिताविपरीतका धेरै भाषण गरेनन् ।
अन्य दलका उम्मेदवारले पनि निर्वाचन लक्षित साना तिना कार्यक्रम गरेका छन् । तर रास्वापले जस्तो प्रचार गरेरै आचारसंहितालाई उल्लंघन गरेको गुनासो आएको छैन । जे होस् आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा निर्वाचन कार्यालयले अनुमति दिँदा नै चुकेको देखिन्छ । त्यसमा पनि नयाँ र वैकल्पिक भनिएको र सुशासनको चर्का नारा उराल्ने दलले आचारसंहिता पालनामा इमान्दार नभई बल मिच्याई गर्नु राम्रो होइन । रूपन्देही, नवलपरासीलगायत विभिन्न जिल्लामा देखिएका श्रंखलाबद्ध घटनाले रास्वपा निर्वाचन आचारसंहिता पालना गर्न उदासिन देखिएको टिप्पणी भएको छ । निर्वाचन आचारसंहिताअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिन मात्र प्रचारको अवधि तोकिएको छ । निर्वाचन आयोगले सभा, जुलुस, कोणसभा, ¥याली, माइकिङका माध्यमले चुनावी प्रचारप्रसारका लागि उक्त समय तोकेको हो ।
निर्वाचन आचारसंहिताअनुसार फागुन ४ गतेअघि दलहरूले सभा, जुलुस, ¥याली, कोणसभाजस्ता प्रचारप्रसार गर्न पाउँदैनन् । प्रचारका लागि तोकिएको अवधिमा दलहरूले जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको छ । आचारसंहिताअनुसार निर्वाचनको ४८ घन्टाअघि भने मौन अवधि लागु हुनेछ । त्यसअनुसार फागुन १९ र २० गते मौन अवधि लागु गरिएको छ । आयोगकाअनुसार माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको छ । अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागु हुने आयोगले प्रस्ट पारेको छ ।
निर्वाचन अचारसंहिता उल्लंघनका घटनाप्रति जिल्ला निर्वाचन कार्यालयलगायत सम्बन्धित निकायहरूको गम्भीर ढंगले ध्यान जानुपर्दछ । उल्लंघन गर्नेमाथि कानुनअनुसार कारबाही हुनुपर्दछ ।




