भैरहवा
रूपन्देहीमा परिचालन हुने निर्वाचन प्रहरीलाई बुधबारबाट फिल्डमा खटाइने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देही प्रहरीले ४ हजार १६ जनालाई छनोट गरी १० दिने प्रशिक्षणपश्चात् फिल्डमा खटाएको हो ।
जिल्लाको विभिन्न १३ प्रहरी युनिटमा निर्वाचन प्रहरीलाई तालिम दिइएको हो । जिल्लामा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने लक्ष्यसहित तालिम प्रदान गरी फिल्डमा खटाइएको हो ।
उनीहरूलाई निर्वाचन र निर्वाचन प्रणालीबारे कक्षा, सैद्धान्तिक र व्यवहारिक पक्ष, निर्वाचन आचारसंहिता, गर्न हुने र नहुने कुराबारे जानकारी, प्राप्त गर्ने सेवा सुविधा, प्रहरीको कवाज, शारीरिक व्याम, प्राथमिक उपचारको बारेमा युनिभर्सल मेडिकल कलेजको प्रविधिक सहयोगामा र प्रहरीको विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइ सम्बन्धित स्थानमा निर्वाचनको लागि खटाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी जनकबहादुर शाहीले बताए ।
निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान प्रक्रियाबारे नमूना अभ्यास समेत गराइएको थियो । रूपन्देहीमा नेपाल प्रहरीतर्फ ४ हजार १९ जना प्रहरी माग गरेकोमा ४ हजार १६ जनालाई भर्ना गरी १० दिनको प्रशिक्षण दिइएको छ भने सशस्त्र प्रहरीतर्फ ४ सय ७८ जना निर्वाचन प्रहरी भर्ना गरी प्रशिक्षण दिइएको हो । जिल्लामा कुल ४ हजार ४ सय ९७ जना निर्वाचन प्रहरी माग गरिएको हो ।
जिल्लामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गरिएको हो । निर्वाचनको सुरक्षा व्यवस्थापन थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन निर्वाचन प्रहरी भर्ना गरिएको हो ।
नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत् ४० दिनको म्यादका लागि निर्वाचन प्रहरी परिचालन गर्छ । ५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा निर्वाचन क्षेत्रमा तैनाथ गर्नेछ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति रूपन्देहीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आहृवान गरेर छनोट गरी छुट्टाछुट्टै प्रशिक्षण गरेको हो । निर्वाचन प्रहरी भर्ना छनोटका लागि सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइएको थियो ।
भर्ना भएका उनीहरू प्रहरीकै चेन अफ कमाण्ड र सशस्त्रअन्तर्गत खटिनेले सशस्त्रले चेन अफ कामाण्डमा रहनु पर्ने छ । उनीहरूलाई एक कार्यक्रमबिच प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायतले शुभकामना दिँदै उच्च मनोबलका साथ अनुशासित भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ, त्यसका लागि व्यवहारिक अभ्यासमार्फत् जनशक्तिलाई दक्ष बनाइएको हो । तालिमबाट प्राप्त सीप र ज्ञानलाई वास्तविक कार्यस्थलमा इमानदारीपूर्वक प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिने बताए ।
निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले गरिएको सो अभ्यासमा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, मतदाता सहजीकरण, आकस्मिक अवस्था व्यवस्थापन तथा कानुनी दायित्वका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । अभ्यासका क्रममा मतदान स्थल वरपरको सुरक्षा घेरा, प्रवेश निर्गमन व्यवस्थापन तथा संवेदनशील परिस्थितिमा अपनाउनुपर्ने कार्यविधिबारे स्पष्ट निर्देशन दिइएको छ ।




