बुटवल । सीप विकास, स्वरोजगार प्रवद्र्धन र रोजगारी सृजनालाई केन्द्रमा राख्दै बुटवल उप–महानगरपालिकाले पछिल्ला वर्षहरूमा सञ्चालन गरेका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । नगरप्रमुख र उप–प्रमुखको नाममा सञ्चालन गरिएका उद्यम तथा स्वरोजगार कार्यक्रमहरूले महिला र युवालाई आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय उपलब्धि हासिल गरेको तथ्यांकले देखाएको छ ।

महिला, बालबालिका तथा समावेशीकरण शाखामार्फत् आव २०८०-०८१ देखि आव २०८२-०८३ को पहिलो ६ महिनासम्म सञ्चालन भएका कार्यक्रमहरूमा सयौँ महिलाले सीपमूलक तालिम प्राप्त गरेका छन् । आव २०८०-०८१ मा २० जना सडक बालबालिकाको उद्धार गरिएको थियो । सोही वर्ष उप–प्रमुख आत्मनिर्भर उद्यम विकास कार्यक्रमअन्तर्गत १५ जनालाई वारिष्टा तालिम प्रदान गरिएको थियो भने ८८ जनालाई जुत्ता–चप्पल बनाउने, २५ जनालाई फेशन डिजाइन, २५ जनालाई बच्चाको दौरा–सुरूवाल तथा ब्लाङ्केट सेट बनाउने तालिम दिइएको थियो । नगरप्रमुख गृहिणी महिला स्वरोजगार तालिम कार्यक्रमअन्तर्गत ३१ जनालाई अचार बनाउने र ८७ जनालाई धुप बनाउने तालिम प्रदान गरिएको थियो ।
आव २०८१-०८२ मा कार्यक्रमको दायरा अझ विस्तार भएको देखिन्छ । यस वर्ष १२ जना सडक बालबालिकाको उद्धार गरिएको छ । उप–प्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रमअन्तर्गत २५ जनालाई मन्टेश्वरी, २५ जनालाई आधारभूत ब्युटिसियन, २५ जनालाई एडभान्स फेशन डिजाइन र ५० जनालाई एडभान्स सिलाइ–कटाइ तालिम प्रदान गरिएको थियो । नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमअन्तर्गत २९७ जनालाई बटुवा धुप, ५५ जनालाई चुरापोते टिका, ९५ जनालाई जुत्ता–मखमली चप्पल, ९३ जनालाई साबुन–सरफ–फिनेल, २५ जनालाई केक बेकरी तथा २६ जनालाई ऊनको स्वीटर बनाउने तालिम प्रदान गरिएको थियो । चालु आव २०८२-०८३ को पहिलो ६ महिनामै ७२ जनालाई धुप बनाउने र २६ जनालाई स्वीटर बनाउने तालिम दिइसकिएको छ भने तीन जना सडक बालबालिकाको उद्धार गरिएको छ ।
यससँगै श्रम तथा रोजगार प्रवद्र्धन शाखाले २०७९ यता युवालाई लक्षित गर्दै सीप विकास र रोजगारी प्रवद्र्धन कार्यक्रमलाई तीव्रता दिएको छ । परम्परागत सीप प्रवद्र्धनअन्तर्गत २२ जनालाई जुत्ता बनाउने तालिम र ११ जनालाई आरन स्तरोन्नतिका लागि उपकरण वितरण गरिएको छ । मेयर युवा उद्यम तथा रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत एडभान्स ब्युटिसियन, बारिस्टा, टायल तथा मार्बल, एसी–फ्रिज मर्मत, अडियो–भिडियो-ड्रोन, कम्प्युटर हार्डवेयर तथा मोबाइल मर्मतलगायतका तालिममार्फत् ३ सय ५५ युवालाई सीप प्रदान गरिएको छ । चालु आर्थिक वर्षमा ८ वटा तालिम कार्यक्रमका लागि करिब ८ सय आवेदन परेकोमा छनोटपछि २ सय १० जनाका लागि तालिम सञ्चालनको प्रक्रिया अगाडि बढेको जनाइएको छ ।
कामका लागि पारिश्रमिकमा आधारित कार्यक्रमअन्तर्गत १९ वटै वडामा २६ योजना सञ्चालन गरी करिब ५ सय ७० जनालाई ३० देखि ५२ दिनसम्म रोजगारी प्रदान गरिएको छ । यसबाट ६ हजार दिनभन्दा बढी रोजगारी सिर्जना भएको तथ्याङ्क छ । तीन वर्षको अवधिमा रोजगार मेला तथा अन्तरसंवाद कार्यक्रममार्फत् २ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । रोजगारी सृजनाका लागि जब पोर्टल विकास गरी बेरोजगार र रोजगारदातालाई अनलाइनमार्फत् जोड्ने प्रक्रिया पनि सुरु गरिएको छ ।
सुरक्षित वैदेशिक रोजगार सचेतना कार्यक्रममार्फत् ३ हजारभन्दा बढी व्यक्तिलाई परामर्श प्रदान गरिएको छ भने आप्रवासी उपस्रोत केन्द्रमार्फत् १८ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि पुनःएकीकरण कार्यक्रमअन्तर्गत १ सय २४ जनालाई व्यवसाय दर्ता, उद्यमशीलता विकास र बजारीकरणसम्बन्धी तालिम प्रदान गरिएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा ठगीमा परेकाहरूलाई करिब २ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरिएको जनाइएको छ ।
सीपमूलक तालिम लिएका ५९ प्रतिशतभन्दा बढी रोजगारीमा
स्थानीय तहद्वारा सञ्चालन गरिएका विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम प्रभावकारी देखिएका छन् । आर्थिक वर्ष २०७९-०८० देखि २०८२-०८३ सम्म सञ्चालन गरिएका ९ वटा तालिम कार्यक्रममा सहभागी १७५ जनामध्ये १०४ जनाले उद्यम सञ्चालन वा रोजगारी प्राप्त गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । रोजगार शाखाका अरबिन्द पाण्डेका अनुसार तालिमपछि करिब ५९ प्रतिशत सहभागी प्रत्यक्ष रूपमा रोजगारी वा स्वरोजगारमा आबद्ध भएका छन्, जुन उल्लेखनीय उपलब्धि हो ।
आर्थिक वर्ष २०७९-०८० मा सञ्चालन गरिएको टायल मार्वल लगाउने तालिममा २० जनामध्ये १३ जना रोजगारीमा संलग्न भएका थिए । त्यसैगरी २०८०-०८१ मा सञ्चालन गरिएका बेसिक कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, बारिस्टा, एसी तथा फ्रिज मर्मत र मोबाइल रिपेयर तालिमबाट पनि उल्लेखनीय संख्यामा सहभागीहरू रोजगारीमा जोडिएका छन् ।
विशेषगरी ४० जना सहभागी रहेको बारिस्टा तालिमबाट २५ जनाले रोजगारी प्राप्त गर्नु कार्यक्रमको महत्वपूर्ण उपलब्धि रहेको पाण्डेले जानकारी दिए । आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालन गरिएको अडियो÷भिडियोग्राफी तथा ड्रोनसम्बन्धी आधारभूत तालिमबाट २५ जनामध्ये ११ जना स्वरोजगार वा रोजगारीमा आबद्ध भएका छन् भने सोही वर्षको एसी तथा फ्रिज मर्मत तालिमबाट ३० जनामध्ये १० जना लाभान्वित भएका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०८२-०८३ मा सञ्चालन गरिएका बारिस्टा र व्यूटिसियन तालिमबाट पनि सहभागीहरू स्वरोजगारतर्फ उन्मूख भएका छन् । रोजगार शाखाका अनुसार यस्ता सीपमूलक तालिम कार्यक्रमले स्थानीयस्तरमै रोजगारी सिर्जना, वैदेशिक रोजगारीमा निर्भरता घटाउने र उद्यमशीलता विकास गर्ने उद्देश्यलाई टेवा पु¥याएको छ । आगामी दिनमा बजारको मागअनुसार थप प्रभावकारी तालिम सञ्चालन गरिने पनि शाखाले जनाएको छ ।
रोजगारी श्रृजना प्राथमिकताः मेयर पाण्डे
नगरप्रमुख खेलराज पाण्डेयले सीप र रोजगारीलाई स्थानीय सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताए । उनले भने–“बुटवललाई अवसरको शहर बनाउने हाम्रो लक्ष्य हो । सीप सिकेर युवाले स्वदेशमै रोजगारी पाउनुपर्छ भन्ने उद्देश्यले मेयर युवा उद्यम तथा रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेका हौँ । अहिले देखिएको सहभागिता र परिणामले कार्यक्रम सही दिशामा रहेको पुष्टि गरेको छ । ”
उप–प्रमुख सावित्रादेवी अर्यालले महिला सशक्तिकरणलाई विकासको आधार भएको बताउँदै बुटवलले रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्–“उप–प्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रमले धेरै महिलालाई घरमै बसेर आयआर्जन गर्ने वातावरण बनाएको छ । तालिमलाई बजारसँग जोड्दै दिगो आम्दानीको आधार तयार पार्ने हाम्रो प्रयास जारी रहनेछ ।”
सुनचाँदी कालिगड उत्पादन गर्दै उप–महानगर
बुटवल । बुटवलका सुनचाँदी व्यवसायीले भारतबाट कालिगड ल्याएरै भए पनि गहना बनाइरहेका थिए । लामो समयदेखि स्वदेशी मुद्रा बाहिरिएको मात्रै थिएन, महँगो खर्चमा जनशक्ति ल्याउनु परेको थियो । तर अब बुटवल उप–महानगरपालिकाको पहलकद्मीमा स्थानीयस्तरमा नै सुनचाँदीको दक्ष कालिगड उत्पादन भएको छ ।
बुटवलका नगरप्रमुख खेलराज पाण्डे भन्छन्–“बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता हटाउन उप–महानगरपालिकाले सुनचाँदी कालिगड उत्पादन गर्नका लागि लगानी गरेको छ ।”
अहिले बुटवल उप–महानगरपालिका क्षेत्रभित्र एक सय ८० को हाराहारीमा सुनचाँदी पसलहरू छन् । यी पसलमा सुनचाँदीका गरगहना बनाउन स्थानीय जनशक्तिलाई संलग्न गराउन उप–महानगरपालिकाले कालिगड तालिमको आयोजना नै गरेको थियो । पहिलो चरणमा तालिमबाट २० जना जनशक्ति उत्पादन गरेको छ ।
बुटवल देवीनगरकी ३१ वर्षीय पिपला स्वर्णकारका दुई सन्तान छन् । उनले पनि सुनचाँदीका गहना बनाउने सीप सीक्न तालिम लिइन् । सीप सिकेर स्वदेशमै आफ्नै परिवारसँगै बसेर केही गर्न सकिन्छ भनेर तालिम लिएको उनले बताइन् । उनले भनिन्–“रुचिको विषय भएर पनि होला, सुनचाँदीका गहना बनाउन सक्ने भएँ ।’ उनको रूची र दक्षता खासगरी सुनचाँदीका सिक्री बनाउनेमा रहेछ ।
उनलाई अझै आधुनिक फेसनअनुसारको गहना बनाउने इच्छा छ । सामान्यतया सिक्री बनाउन चार घण्टा र पोते उन्न दुई घण्टा लाग्ने उनले बताइन् । उनले भनिन्–‘परिवारको खर्च जुटाउन सक्नेछु । यो सीपले घरमा मात्र सीमित हुनु पर्ने छैन ।’
नेपालमा एकातिर बेरोजगारीको समस्या बढ्दो छ भने अर्कोतिर काम गर्ने दक्ष जनशक्तिको चर्को अभाव छ ।
जनशक्तिको अभाव पूर्ति गर्न उपलब्ध जनशक्तिलाई सीपयुक्त बनाउन नगरपालिकाले पहलकदमी लिएको हो ।
बुटवलकै सिवानी बिकको बुझाइअनुसार आँखै अगाडि भएका अनेक सम्भावनालाई आर्थिक उपार्जनको पाटो बनाउन नसकिरहेको अवस्था र सोही कारण दिनहुँ सयौँ नेपाली विदेशिनु परेको छ । तर, सयौं वा हजारौंले देखेर पनि वास्ता नगरेका थुप्रै विषयलाई व्यवसायिक बनाएर धेरैले राम्रो आर्थिक उपार्जन गरिरहेका छन् । यस्तै धेरै मध्येको एक विषय हो, महिलालाई कालिगड तालिम र यसबाट स्वरोजगार बन्ने धेरै युवाहरूको चाहानालाई मध्यनजर गरी तालिमको अवसर प्रदान गरेकोमा बुटवल उप–महानगरपालिका र बुटवल सुनचाँदी व्यवसायी संघलाई धन्यवाद ज्ञापन गरिन् ।
कम समय र थोरै परिश्रममा राम्रो आम्दानी गर्न सकिने पेसा भएकाले महिला र नयाँ पुस्ताका युवाहरुलाई यो पेसा उपयुक्त हुने कालिगडहरू बताउँछन् । सुनचाँदीको गहना बनाउने यो पेशामा बुटवल ११ देवीनगर बस्ने सविता सुनारले आफू यो काम अपनाएर फरक काम गरेकोमा गर्व लागेको बताउँछिन् । ‘दलित समुदायमा पनि पुरुषले मात्र गर्ने काम भएकाले महिलाहरूले हत्तपत्त उक्त पेसा अपनाउन सकिरहेका थिएनन्,’ सविताले भनिन्–‘नेपाली समाजमा गहनाको डिजाइन र तयारी पुरुष कालिगडले गर्छन्, अनि महिलाले बढी मात्रामा प्रयोग गर्छन् । मैले सोंचे महिलाले लगाउने गहना महिलाले बनाउँदा झन् राम्रो होला भनेर यो पेसामा लागेको हो ।’ उनले सुनको गहना बनाउन थालेको १० वर्ष भयो । उनले नै प्रशिक्षक भइ गहना बनाउन सिकाइरहेका छन् ।
उनको यो लगाव मेहनत र सफलतालाई अन्य महिलाहरुले पनि अनुशरण गरिरहेका छन् ।
बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले दक्ष कालिगड बन्नका लागि बुटवल उप–महानगरपालिकाले प्रोत्साहन गरिरहेको बताए ।
बुटवल उप–महानगरपाविका सावित्रादेवी अर्यालले नयाँ पुस्ता र महिलालाई तालिम दिएर हाम्रो मौलिक पेसाका रूपमा रहेको सुनचाँदी व्यवसायको विस्तार गर्न उप–महानगरपालिकाले जनशक्ति उत्पादनमा ध्यान दिएको बताइन् ।
उप–प्रमुख अर्यालले सुनचाँदी व्यवसायमा महिलाहरुलाई सीपयुक्त बनाउन सकेको खण्डमा स्वदेशमा रोजगारको व्यवस्था पनि हुने र आयआर्जनको ग्यारेन्टी पनि हुने बताइन् ।
उनले भनिन्– “सुनचाँदी व्यवसाय मात्र नभएर बुटवलको मौलिक पेसा र पहिचान हो । यसर्थ पनि यसलाई व्यवसायका रूपमा अगाडि लैजान र आर्थिकरुपमा सवल हुनको लागि समयसमयमा प्रशिक्षण एवं तालिम सञ्चालन गर्न आवश्यक छ ।”
बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई समृद्ध बनाउन नगरका हरेक समुदायलाई सीपयुक्त बनाउन जरुरी रहेकोले त्यसमा विशेष ध्यान दिएको बताए । उनले सुनचाँदी व्यवसायमा स्वदेशी कारिगडहरूको अभाव हुँदा ठूलो संख्यामा विदेशी कालिगडहरुमार्फत् पैसा विदेश गएको उल्लेख गर्दै त्यसलाई मनन गरेर स्थानीय सरकारले स्वदेशमै कालिगड उत्पादनमा जोड दिएको बताए ।
पहिला यस्ता तालिम पुरुषको मात्रै हुने गरेकोमा अब महिलाहरूको लागि आयोजना गरिएको उनले जनाए ।
उनकाअनुसार महिलाहरू सीपसँग जोडिने आत्मनिर्भर हुने र बाह्य कालिगडहरू विस्थापित हुने र यहाँका युवाहरु स्वरोजगार हुने भएकोले यस्तो कार्यक्रमको आयोजना भएको हो ।
नगरपालिकाले गत वर्ष २० जनालाई प्रारम्भिक चरणमा तालिम दिएको थियो । बुटवल उप–महानगरपालिकाको आर्थिक सहयोगमा बुटवल सुनचाँदी व्यवसायी संघ, रूपन्देहीको आयोजनामा तालिममा मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतीका माला बुन्न सिकेका छन् । तालिममा बुटवल उप–महानगरपालिकाका १९ वडाबाट १६ महिला र ४ पुरुष गरी २० जना दक्ष कालिगडको रूपमा उत्पादन भएका छन् ।




