एच.के. श्रेष्ठ
यो आउँदै गरेको प्रतिनिधिसभा चुनावको लागि दल तथा उम्मेदवारको घोषणापत्र ढिलो भयो । घोषणापत्र आएन आएन भन्ने हल्ला चल्यो । तर दलहरूको चुनावी घोषणापत्र आउनु र नआउनुमा कुनै भिन्नता छैन । यो सबैलाइ थाहा भएकै हो । ती सबै दलहरूका (अ)घोषणापत्रमा तात्विक पृथकता केहि हुँदैन र छैन । यी सबैको साझा घोषणा हो । यस मानेमाकि हुन्न, सक्दिन, भ्याउँदिन र गर्दिन भन्ने बाँकी केही हुँदैन, छैन । त्यो सबै दलको थेगो हो । घगर्न कम्पिटिसन गर्छाैं । जसरी हुन्छ बेरोजगार निर्वाचन घोषणापत्रमा सबै जाति जनजातिको उत्थान र मुक्ति हुन्छ । किसान, मजुदुर, व्यापारी, कर्मचारी आदि सबैले हर प्रकारको सुविधा पाउँछन् । रोजगारी दिन्छन् । शिक्षा, स्वाास्थ्य निःशुल्क हुन्छ । बाटो, रोड, फास्ट ट्याक, बन्छ । रेल र पानी जहाज चल्छ ।
दुनियाभरको परियोजना तयार हुन्छ । नदि नै नभएको ठाउँमा पनि पुल बन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय एयरपोर्टहरू निर्माण हुन्छन् । विकास हुन देशको कुनै भुगोल बाँकी रहँदैन । प्रति व्यक्ति आए ह्वात्तै बढ्छ । विकास र समृद्धि उचाइमा पुग्छ । देश सिंगापुर बन्छ । हाम्रो मुलुक युरोपीयन, जापान र अस्ट्रेलीयन माप दण्डमा पुग्छ । सबै दलको कुरा यही नै हो । घोषणा यही नै हो । सबैको यस्तै फेक घोषणापत्र हो । घोषणापत्रत गहन वैचारिकी, बौद्धिकी र सर्वपक्षीय चिन्तन र विश्लेषणात्मक हुनु पर्छ । तर भीड रमाउने र सतही भैम पार्ने खालको हुन्छ ।
प्रायः निर्वाचनहरूको दल तथा उम्मेदवार छनौटको कडी घोषणापत्र नै हो । यस मानेमा त्यो हो कि घोषणापत्र राजनीतिमा सिद्धान्त तथा विचारको प्रतिबद्धता पत्र हो । चुनाव घोषणापत्र एक ढंगले राजनीतिक दलीय अनुशासन, नैतिक बन्धन र जिम्मेदारीको मास्टर योजना हो । दलीय विचारको ‘कसम’ हो । यो जनताकै अधिकारको लिखित प्रतिबद्धता हो । वर्षौंसम्मको जन मार्ग हो । कार्लमाक्र्सले लेखेको कम्युनिष्ट घोषणापत्रले विश्वभरका कम्युनिष्टहरूमा प्रतिबद्धता खडा ग¥यो र सधैँभरि यसको मूल्य मान्यता रहेको छ । कतिपय विकसित मुलुकहरूमा निर्वाचन प्रसारप्रचारको आधारभूत काम नै घोषणापत्रले गर्दछ । सबै कार्ययोजना घोषणापत्रले निर्धारण गर्ने र त्यो व्यवहारमा लागु हुने गर्दछ । त्यो दलीय सिद्धान्तको कसिको रूपमा प्रयोग हुन्छ । मतदाताहरू त्यही घोषणापत्रलाई आफ्नो अनुकुलता अनुसार अध्यायन गर्छन् । त्यही घोषणापत्रको विश्लेषण गर्छन् र इच्छित उम्मेदवारलाई भोट दिन्छन् । राजनीति दलहरू पनि प्रचारप्रसारमा आफू भिड्नुभन्दा घोषणा पत्रकै प्रयोग गर्छन् त्यो नै चुनाव प्रचारप्रसारको लागि काफी हुन्छ ।
दुर्भाग्यवश, हाम्रो मुलुकमा त्यस्तो हुँदैन । घोषणापत्र त सबैले तयार पार्छन्, तर त्यो व्यवहारमा पटक्कै लागु हुँदैन । बरू जनताको आँखाकानी छल्ने र झुटको खेती स्वरूप घोषणापत्र तयार गर्ने गरिन्छ । घोषणापत्र र व्यवहारको वीच दुरी कहिल्यै भेट नहुने गरी लम्बिएको हुन्छ । यसर्थ राजनीतिक दलहरूको घोषणापत्रको कुनै मूल्य मान्यता र तौल छैन । यहि विश्वास गुमेको हुँदा ती घोषणापत्रहरूले विकसित मुलुकहरूमा जस्तो चुनाव प्रचारको आधार र साधनको रूपमा मान्यता पाउन सक्दैन । जसले गर्दा दलहरू अनेक तिक्डम र तामझामका साथ चुनाव प्रचारमा लागेका हुन्छन् । सधैँ घोषणापत्रअनुसारको काम निर्वाचनपछि केही पनि नहुने बानी पारिएको नेपाली जनतालाई अब त घोषणा पत्रहरू एउटा फटाहा ढटुवा केटाको कथा (सधँै गाउँलेलाई त्यत्तिकै बाघ आयो बाघ आयो भनेर ढाँट्ने, तर गाउँले जति पटक जम्मा भए पनि बाघ नभेट्ने । एकदिन भने साँच्चैको बाघले त्यो फटाहा केटोलाई आक्रमण गर्दा गाउँलेले नपत्याएर कोही पनि बचाउन नगएको) जस्तो भइसक्यो । यो संविधानसभाको निर्वाचन यस्तो अचम्म भयो कि प्रायः मतदाता कसैले पनि कुनै दलहरूको घोषणा पत्रलाई मतलब नै राखेको देखिएन । “कौन पुछे दलीय घोषणापत्र” भने जस्तो गराए । ती घोषणापत्र लाखौंको खर्चमा निकालिएको भएता पनि खोसेल्टा र चनाचट्पट पेपर बराबर भए । हुन पनि हो केही समयपछि चनाचट्पट प्याक गर्ने उपलब्धिभन्दा केहि हुँदैन ।
जन विश्वास गुमाइसकेको घोषणापत्रमा जिज्ञाषा नहुनुमा जनतालाई थाहा छ पार्टीहरूले नराख्ने कुरा केही बाँकी हुँदैन । सुनको महल बनाइदिनेदेखि खोला नै नभएको ठाउँमा पुल बनाई दिनेसम्म जे पनि सुन्दर सपना बुनिदिएका हुन्छन् । त्यसर्थ कुनै दलको घोषणापत्र नहेरे पनि त्यसै थाहा छ यस्तो छ भनेर । जनता तथा मतदातालाई त्यो पनि थाहा छ कि कार्यान्वयन नहुने घोषणापत्र सबैको रामै्रराम्रा कुराले भरि भराउ हुन्छ । घोषणापत्र भित्र दाखिल गर्ने कुरामा कसले कति राम्रो र आकर्षण राख्न सक्ने पक्षमा दलबिच कडा प्रतिस्पर्धा चलेको अनुभव गर्न सकिन्छ । तर यस्तो प्रतिस्पर्धा कार्यान्वयनमा हुँदैन, बरू कतिसम्म कार्यान्वयन नगर्नेमा प्रतिस्पर्धा चल्छ । कुनैकुनै दलको प्रतिबद्धता पत्रमा त विदेशी शक्तिदाताहरूलाई रिझाउने होड चलेको भेटिन्छ । जो अप्रत्यक्ष रूपमा व्यक्त छ ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन चुनावी गतिविधि र बहिस्कार गतिविधि समानान्तर ढंगले अगाडि बढिरहेको छ । देशैभरि यो अवस्था देखिन्छ । निर्वाचनमुखी राजनीतिक दलहरू जीवन मरणको सवाल चुनावलाई ठानिरहेको पाउँछौं भने नेकपालगायतको बहिस्कार पक्ष ६ दल र राजावादी बहिस्कार सफल पार्न उही रूपमा लागिरहेका छन् । दल, दलका कार्यकर्ताबिच भिडन्त हुने, हानाहान, ठोकाठोक र मारपिट समेत हुने गरेका घट्नाहरू थुप्रै छन् ।
राजनीतिक दलको विगतका गैर जिम्मेवार क्रियाकलापले चुनावी मान्यतालाई काटिसकेको कुरा सबैमा बिद्धितै भइरहँदा पुनः हुनगइरहेको निर्वाचन लक्षित क्रियाकलापको पारा र चालामाला देख्दा यो जनउत्सव होइन कुनै दलीय महोत्सव मात्र हुनेछ फेरि पनि भन्ने कुराकै पुष्टि हुन्छ । यो संसदीय चुनावमा कुनै दलको आफ्नै नेतृत्वमा सरकार बनाएर राज्यमा हालिमुहाली गर्ने हो झैं दलहरूका चुनावी पारा देखिन्छ । संसदीय निर्वाचनको बैगुन नै बैगुन छ ।
आचारसंहिताको उल्लंघनको प्रायः सबै दलमा होडबाजी चल्दै पराकाष्ठामा पुगेको छ । आचारसंहिताको उल्लंघन नै भोलिको सरकार वा राज्य सञ्चालक पक्षका भ्रष्टाचारको अग्रिम पेश्की मान्न सकिन्छ । नत्र भने आचारसंहिता त्यो ढंगले उल्लंघन गर्न पर्ने जरूरी के छ ? त्यही रूपमको निरन्तरता स्वरूप प्रचारप्रसारमा नाटकीय शैली अपनाइएको छ । बालकदेखि बुढा हुँदै निर्दोष सर्वसाधारण जनतालाई विभिन्न तरिकाले प्रचारको क्रममा शोषण गरिएको छ । जो इमान्दार छैनन्, उसले यस्तो माध्यम अपनाउँछ, भन्ने पुष्टि आ–आफँैले गरेका छन् । जसरी पनि चुनाउ जित्ने हेतु र तौरतरीका अपनाइनुले स्वंयम् प्रष्ट पार्दछ कि भोलिको राजनीतिक परिदृष्य कहालिलाग्दो हुँदैछ ।
अब त झन् नेकपा ६ दललगायतका शक्तिलाई सहमत नगराई उनीहरूको विरोध माथि जबरजस्ती राज्य सुरक्षाशक्ति प्रयोग गरी गराइने चुनाउको नतिजाले जनताको सुशासन ल्याउला त भन्ने प्रश्न संगठित असंगठित रूपमा व्यापक छ । त्यसो हो भने मुलुक कुनै खाले राजनीतिक हस्पिटलले पनि उपचार गर्न नसक्ने गरी दुर्घटना ग्रस्त हुँदैछ । हामीले त्यसो नहोस् भन्ने चाहँदा चाहँदै पनि उनै राजनीतिक दलहरूका भनाइले त्यसो हुँदैछ भन्ने चित्रण गर्दछ । प्रायः पूर्व आकारको आधारमा ठूला भन्ने दल एमाओवादी, काँग्रेस, एमालेलगायत नयाँ दलले भनिरहेका छन् – “आ–आफ्नो पार्टीलाई (अत्याधिक) बहुमतले नजिताए देश बन्देन । बनाउने कस्ले हो । कहिले बन्यो । यी अभिव्यक्तिहरू सबै मिडियामा आइसकेका हुन् । अब उनले भने जस्तो होला त ? उनैले घोषणा निर्लज्ज ढंगले गरिसके । हिजोका गल्तिप्रति पश्चाताप र क्षमयाचना होइन झन अनुमोदित भाषा बोल्दैछन् ।
उता बाह्य रूपमा नेता कार्यकर्तालाई चुनाव लागे पनि सर्वसाधारणलाई त्यति चासो र उत्साह भेटिंदैन । उत्साह नजाग्नु राजनीतिप्रति वितृष्णा पैदा गराइनुले नै हो । मुलुक बर्बाद नगर्ने हो भने राजनीतिक दलहरू पूर्व भरिएका सबै कुविचार खाली गरी नयाँ विचार भरेर जनता जगाउने व्यवहार परिर्वतन गर्नुपर्दछ । बहिस्कारवादी दललाई पनि सम्मानपूर्वक सबै दल मिलेर अस्तित्व कायम गरी कुनै उपायबाट सामेल गर्नुपर्छ । तर चुनावपछिको परिणम झन भयाबह हुने निश्चित छ ।




