चुनावको मिति नजिकिंदै जाँदा दलहरूबिच द्वन्द्वको संकेत देखिएका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकहरूले गरेका अलोकतान्त्रिक गतिविधिले समाजमा आक्रोश र घृणा बढाएको छ । उनीहरूका यस्ता हर्कत सभ्य समाजका लागि निन्दनीय छन् ।
दाङको तुलसीपुरमा फागुन ७ गते एमालेको निर्वाचन चिन्ह सूर्य अंकित झण्डा जलाएर रास्वपाका कार्यकर्ताले जुन गलत काम गरे, त्यस्ता कामप्रति क्षमा माग्नु र कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउनुको साटो पार्टी नेतृत्व गैरजिम्मेवार ढंगले प्रस्तुत भएर अशोभनीय काम गरेको छ । चुनावी अभियानमा प्रतिस्पर्धी अर्को पार्टीको झण्डा जलाउनु र नेतृत्वविरुद्ध नाराबाजी गरेर गैरजिम्मेवारी देखाएको रास्वपा यत्तिकै अडिने लक्षण छैन् । चुनाव नजिकिंदै जाँदा उसका अराजक क्रियाकलाप अझै बढ्छन् भन्ने संकेत देखिइसकेको छ । सुनसरीको भोक्राहामा कांग्रेसको कार्यक्रम बिथोल्ने हल्ला चलाएर चुनावी अभियानमा हिंडेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको समूहमाथि हातपात भएको छ । सर्लाहीमै कांग्रेसको झण्डा च्यातेर बालबालिकालाई पिसाब फेर्न लगाएर बालेन सरकार जिन्दावादको नारा लगाउनेहरू को हुन थाहा भएन्, तर यस्ता क्रियाकलापले चुनावमा अरूको अस्तित्व स्विकार नगर्दा लोकतन्त्रको प्राण मर्दछ ।
चुनाव लोकतन्त्रको अनिवार्य शर्त हो । चुनावले नै लोकतन्त्रको प्राण जोगाउँछ । चुनाव नहुने हो भने तानशाहको जन्म हुन्छ । स्वच्छाचारिता बढ्छ । चुनाव हुन जति आवश्यक छ, चुनवा स्वच्छ, मर्यादित र भयरहित हुनुपर्छ । सरकारले निश्पक्ष चुनावको ग्यारेण्टी कुरामा होइन्, व्यवहारमा गरेर देखाउन सक्नुपर्छ । हरेक दलले चुनावलाई भयरहित बनाउन गर्ने क्रियाकलापलाई बढाउन जति आवश्यक छ, समाजलाई भयबाट मुक्त पार्न उत्तिकै आवश्यक छ । एउटा दलले अर्को दलका गतिविधिलाई रोक्ने, अपमान गर्ने क्रियाकलाप चुनाव विरोधी गतिविधि हुन् । चुनाव हुने मात्रै प्रधान विषय होइन्, चुनाव भयरहित भयो कि भएन् महत्वपूर्ण विषय हो । दाङमा झण्डा जलाउनेमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । ती व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सक्दा मात्रै यस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रण हुनसक्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी एउटा राजनैतिक दल हो भने उसले असभ्य र अमर्यादित क्रियाकलाप तत्काल रोक्नुपर्छ । दल नभएर भीड हो र यो भीडको आधारमा अघि बढिरहेको छ भने यो भीडले अन्ततः रास्वपालाई नै सखाप पार्छ । अन्ततः यसले मुलुकमा अराजकतालाई बल पु¥याउँछ । यसले लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने हो ।




