एच.के. श्रेष्ठ
लेखक, साहित्यकार, स्रष्टा या सर्जक, समालोचक अर्थात् विचारकहरू अपमानित गरिछन्, पिटिन्छन् , चुटिन्छन्, लखेटिन्छन्, खेदिन्छन् र यातनामय बनाइन्छन् र मारिन्छन् पनि । स्वयं महान् वैज्ञानिक ग्यलिलियोलाई आफ्नै विश्वविद्यालयबाट खेदियो । उनको हेलियो सेन्ट्रीक सत्य सिद्धान्तविरुद्ध जेलमा कोचेर माफि मगाइयो । सरकारको आलोचना गरेको आरोपमा बंगलादेशी फोटो पत्रकार तथा सामाजिक अभियन्ता डा. साहिदुल आलमलाई बंगलादेशी सरकारले जेलमा कोच्यो । टर्कीका लोकप्रीय उपन्यासकार ओर्हान पामुकलाई निकै परिसान पारिएको थियो ।कार्ल माक्र्सलाई कहिं टिक्न दिएका होइनन् । जेसस क्राइष्टलाई सूली चढाएर मारियो । सोक्रेटस जस्ता महान सत्यवादी दार्शनिकलाई युनानी शासकले ह्याम्लक विष खुवाएर मारेका अपराधिक हर्कतहरू संसार सामू छलङ्गै छन् । जनयुद्धमय नेपालमै जनपक्षीय कवि पूर्ण बिरामलाई निर्मम यातना दिएर राज्यको आततायी (अ)सुरक्षाकर्मीले मारे । लेखक तथा जनवादी बुद्धिजीवि कैयौंलाई अनेक दुःख र यातना दिने काम गरे ।
यस्तो हर्कत उनीहरूलाई बुझेका र नबुझेकाबाट हुने गर्दछ । अर्थात् क्रान्ति र द्वन्द्वको मारमा पारिन्छ । नबुझेकाहरू मतियारको रुपमा प्रयोग हुने गर्दछन् भने सरकार वा राज्य वा शक्तिधारीहरूले बुझी बुझीकन शक्ति र हतियार दमनार्थ प्रयोग गर्दछन् । त्यस्तै हर्कतको बज्रपातले जन्मिए लष्ट जेनेरेसन र वीट लेखकहरू । लस्ट जेनरेसन र ‘वीट जेनरेसन’ शब्द समूहहरू अंग्रेजी शब्दहरू हुन जुन अंग्रेजी साहित्यिक आन्दोलबाटै कोइनेज भएका हुन् ।
लस्ट जेनरेसन प्रथम विश्वयुद्धपश्चात् तत्काल सिर्जना गरिएको साहित्यिक टर्म थियो भने ‘वीट जेनरेसन’ दोस्रो विश्व युद्धपश्चात् जन्माइएको साहित्यिक शब्द समुह हुन् । यिनीहरूको छुट्टाछुट्टै साङ्केतिक अनि सान्दर्भिक तर गम्भीर अर्थहरू छन् । निश्चित रुपमा साहित्यले समाजको अर्थात् मानव जीवनको समग्र पक्षहरूलाई दर्पणित गर्ने हुँदा साहित्यको राजनीतिसँग पनि सम्बन्ध रहन्छ । यसर्थ राजनीतिमा प्रभाव पर्दा वा उथल पुथल आउँदा साहित्य निस्प्रभावित रहन नसक्दो रहेछ । त्यसोत साहित्यसँग लेखकहरू जोडिएको हुँदा लेखकहरूमा पनि त्यसको असर पर्दछ । त्यस्तै भएको थियो प्रथम विश्व युद्ध, दोस्रो विश्व युद्ध र नेपालको जनयुद्ध अवधिमा ।
केहि यूरोपियन राष्ट्रहरूको राजनीतिक उन्माद विस्तारवादी तथा साम्राज्यवादी नीतिको पराकाष्ठताका कारण प्रथम विश्वयुद्ध र केही यूरोपियन र अमेरिकी राष्ट्रका हतियारी अहंमपना, हैकमवादी तथा विस्तारवादी र साम्राज्यवादी दादा गिरीको कारण दोस्रो विश्व युद्ध भएको जगजाहेर छ । यी दुवै कहाली लाग्दो युद्धका कारण यूरोप र अमेरीका हुँदै तेस्रो विश्वका राष्ट्रहरूलाई समेत आक्रान्त पारेको थियो जसबाट लगभग विश्वका समुदाय प्रभावित भयो । उक्त आँधिले दर्शन, राजनितिक, साँस्कृतिक क्षेत्रमा मात्रै नभएर आर्थिक र साहित्यिक क्षेत्रमा समेत ठुलो असर पा¥यो र उथल पुथल ल्यायो । ती विश्व युद्धहरू यतिसम्म प्रतिउत्पादक भयो जहाँ लाखौं लाख मान्छे मरे, अरबौं डलर बराबर क्षति भयो र लाखौं भवनहरू जलेर नष्ट भए । यस क्षति भित्रको अर्को रुपमा साहित्य सौखिन तथा पारखी र सृजनशील वर्गलाई लिन सकिन्छ । प्रथम विश्व युद्धपश्चात् नै ‘लस्ट जेनरेसन’ जन्मियो । यो अग्रेजी वाक्यांशका प्रतिपादक अमेरीकन लेखक तथा साहित्यकार गेट्रिउड स्टीन हुन् । यसले खासगरी प्रथम विश्व युद्धकालमा प्रभावित भएका साहित्यकर्मीहरू लेखक, समालोचक तथा बुद्धिजीविहरूलाई समेट्ने छाता शब्दावली (अम्बे्रला टर्म)को अर्थ राख्दछ । लस्टकोअर्थ युद्धकाकारण युद्ध अवधिमा हराउनु, बिलाउनु, अनेकन सास्ति खेप्न परेको तथा लखेट्नु परेको र मारिएका समेतको प्रतिनिधिमुलक शब्द हो भने ‘जेनेरेसन’ ले तत्कालिन पुस्ताको मान्यता राख्दछ ।
प्रथम विश्व युद्धभन्दा अगाडि जति पनि कवि, निबन्धकार, उपन्यासकार, नाटककार, स्रष्टा र सामाजिक–राजनितिक तथा साँस्कृतिक समीक्षक÷समालोचकहरू थिए, ती सबै युद्धको शिकारमा परे जुन बेला सारा साहित्य तथा लेखन कार्यहरू ठप्प भयो । प्रथम विश्वयुद्ध १९१८ मा समाप्त भए पछि उनीहरू सबै पेरिस शहरमा पुनः जम्मा भए । यसरी फेरी १९२० को दशकमा हराएका पुस्ताको अनुभूति सहित अमेरिकामा सम्मेलन गरेर पुन प्रथम युद्धका परिणामका समीक्षा–आलोचनात्मक लेखन र सृजनशील कार्यमा अघि बढ्न जमर्को गरे । यस्ता साहित्य सिर्जनाहरूमा शासकहरूको भत्र्सना समेत गरिएको थियो । यस्तो ‘लस्ट जेनरेसन’का मुख्य उन्नायकहरूमा स्कट फिजराल्ड, इ.इ. कमिङ, जोन ड्रसप्यास, अर्नेस्ट ह्यामिङवय, विलियम फक्नर र हार्टक्रेन पर्दछन् ।
उता दोस्रो विश्वयुद्ध (१९३९–१९४५) पश्चात् पनि अमेरिकामा यूरोप र अमेरीकन साहित्यिककर्मीहरू भेला भएका थिए । यो भेलापश्चात् १९५० मा उनीहरू ‘सानफ्रान्सिस्को स्कूल ग्रुप’ नाममा पनि आफूहरूलाई चिनाउन चाहन्थे । तर खास गरी यो ग्रुपलाई ‘बीट जेनरेसन’ वा बीट लेखक भनेर नै चिनियो । यस ग्रुपमा पनि विभिन्न विधामा कलम चलाउने नभएर नयाँ नयाँ म्युजिकको परीक्षण र राजनितिक, सामाजिक आलोचकहरू समेत पर्दथे । उनीहरूले आफूहरू दोस्रो विश्वयुद्धका चुटाइमा परेका भन्ने महसुस गर्दथे र सोहि अर्थपूर्ण नाम बीट राखे । दोस्रो विश्वयुद्धले तितर वितर बनाएका र पछि संगठित भएका यी महान स्रष्टा, सृजनाकार एवम लेखकहरू पछि तीव्र गतिमा आफ्नो सृजना कार्यमा लागेका थिए । उनीहरूका लेखन विषयवस्तु भने राजनिति विरोधी, समाज विरोधी, सस्कृति विरोधी र बौद्धिकता विरोधी शासक र शक्तिको आक््रmमक व्यवहार प्रति नै केन्द्रित भएर गयो । यसरी उनीहरूले आफूहरूलाई फेरि नयाँ ढँगले प्रस्तुत गरे र नयाँ चेतनाको क्रान्ति (रिभोलुसन अभ न्यु कन्सस्नेस) भन्ने नाम दिएर अगाडि बढे । जहाँबाट लष्ट जेनरेसन र बीट लेखक स्थापित यात्रा संसार डुल्ने गरी हुँईकियो ।
आखिर रुप या संगठनमा जे–जे भए पनि सारमा प्रथम र दोस्रो विश्वयुद्धले दबाएका सिर्जनशील आत्माहरू र प्रगतिशिल आस्थाहरू जो हतियारले आक््रmान्त पारिएको थियो । तहसनहस पारिएको थियो । दबाइएको र पिल्स्याइएको थियो । ती सबै आस्था र आत्माहरू नढलिकन फेरि फेरि पनि जुर्मुराएर लागेका थिए । उनीहरूले आस्था सिर्जनशिलता र प्रगतिशिल बौद्धिकतालाई मारेर कदापि मर्दैन भन्ने पुष्ट्याइका साथ अगाडि बढेका थिए । ती सृजना, रचना, समालोचना र उपलब्धीहरू संसारको साहित्यिक भण्डारमा आजसम्म ताजै छन् । यहि सिलसिलामा हामी नेपालमा मुक्तिकामी शोषित, पीडित, दमित नेपाली जनताले गरेको जनयुद्ध अवधिमा तत्कालीन नेपाली शासकले साहित्यक सर्जक या लेखकहरूमाथि लादेका बर्बर दमनलाई जोड्न सक्छौं । जसरि ‘लस्ट र वीट जेनरेसन’का लेखकहरूले शासक शक्तिका वितण्डालाई आफ्नो कवितामार्फत् व्यक्त गर्दथे र जनताका मर्म वेदनाहरू उपन्यास, कथामार्फत् प्रस्तुत गर्दथे, त्यसैगरी नेपाली क्रान्तिकारी प्रगतिशिल लेखकहरू पुरानो पद्दतीहरूलाई उजागर गरेर जनता सामु लगिदिन्थे, आफ्नो कलममार्फत् ।
उनीहरूले शासकहरूको अन्धधुन्ध उन्मादलाई प्रतिकार गर्दथे लेख रचना मार्फत । क्रान्तिकारी पत्रिकाहरू, क्रान्तिकारी साहित्यकारहरू राजनितिक अग्रगमनका दिशामा कलम चलाउथे, लेख लेख्थे, कविता, गीत, गजल, उपन्यास तयार पार्थे । जनताका मुक्तिलाई नै पेशा ठानेर माक्र्सवादी विचारले चलाएका कलमहरू, पत्रपत्रिकाहरू तथा तर्कहरू चुर्लुम्म डुबेका थिए, त्यसलाई शासकले पाच्य नगरेर परिणाम स्वरुप सारा प्रगतिशिल र क्रान्तिकारी पत्रकार तथा लेखकहरूलाई, माक्र्सवादी बुद्धिजीविहरूलाई तहसनहस बनाइएको थियो ।
राज्यको हतियारसहितको तान्डव नृत्यले बसिखानु नगरेपछि प्रगतिशील, क्रान्तिकारी लेखक तथा पत्रकारहरू जीवन रक्षाको लागि तहस नहस त भए, तै पनि विभिन्न ढंगले आफ्नो कठीन कलम यात्रा जारी नै राखे । फेरि देशभर लेखक, पत्रकार, साहित्यकार तथा समालोचक राष्ट्रिय रुपमा भेला भएर नेपाली लष्ट र बीट साहित्यिक तथा लेखकीय जेनेरेसनहरूको रुपमा गणतन्त्रात्मक लोकतन्त्रसँगै लेखन कार्य सहज रुपमा अघि बढेका छन् । बुट, लाठी, गोली जेल, नेल, निर्मम र पाशविक ढंगले यातना, हत्या आदि इत्यादिको न्याय र अन्यायसंगत परिणम, हर हिसाब, लेखाजोखा आदि आफ्ना लेख, रचना, सिर्जनाहरूमार्फत् खोजिंदै आएकोछ ।




