ईन्द्रप्रसाद भुसाल
नेपालको वैदेशिक रोजगारीको इतिहास केवल खाडी मुलुक वा आधुनिक श्रम बजारसँग मात्र सीमित छैन । नेपाली युवाहरूले विदेशी भूमिमा अनुशासन, साहस र इमानदारीका आधारमा आफ्नो पहिचान बनाएको सबैभन्दा पुरानो र प्रतिष्ठित क्षेत्र भनेको विदेशी सेना तथा सुरक्षा सेवा हो । विशेषगरी भारतीय सेना, ब्रिटिस सेना र सिङ्गापुर पुलिसमा नेपालीहरूको सहभागिता केवल रोजगारीको विषय मात्र नभई कूटनीतिक सम्बन्ध, ऐतिहासिक सम्झौता र अन्तर्राष्ट्रिय श्रम मान्यतासँग गाँसिएको विषय पनि हो ।
नेपाली युवाहरू विदेशी सेनामा भर्ना हुने इतिहास खोज्दै जाँदा उन्नाइसौँ शताब्दीको प्रारम्भसम्म पुग्न सकिन्छ । सन् १८१४–१६ को अङ्ग्रेज–नेपाल युद्धपछि भएको सुगौली सन्धि (१८१४) ले यस प्रक्रियालाई औपचारिक रूप दिएको मानिन्छ । युद्धमा नेपाली गोरखाली सैनिकको अद्भूत साहस, अनुशासन र युद्धकौशलबाट प्रभावित भएर ब्रिटिस ईस्ट इण्डिया कम्पनीले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गर्न सुरू ग¥यो । यहीँबाट “गोरखा सैनिक” को अन्तर्राष्ट्रिय पहिचान निर्माण भएको थियो ।
सन् १८१५ पछि औपचारिक रूपमा British Army भित्र “ब्रिगेड अफ गोरखाज” स्थापना गरियो । त्यसयता नेपाली गोरखाहरूले दुवै विश्वयुद्ध, मलाया, फकल्याण्ड, अफगानिस्तान लगायतका युद्ध तथा शान्ति मिसनहरूमा सहभागिता जनाउँदै आए। ब्रिटिस सेनामा सेवा गर्नु केवल रोजगारी मात्र नभई सामाजिक प्रतिष्ठा, दीर्घकालीन पेन्सन, अनुशासित जीवनशैली तथा अन्तर्राष्ट्रिय सम्मानको प्रतीकका रूपमा नेपाली समाजमा स्थापित हुँदै गयो ।
सन् १८५७–५८ मा भारतमा ब्रिटिस शासनको विरुद्धमा ठूलो सशस्त्र विद्रोह भयो । यो विद्रोहको सुरुवात मुख्यतः व्रिटिश इष्ट इन्डिया कम्पनिको सेवामा काम गर्ने भारतीय सिपाहीद्वारा गरिएको थियो । ब्रिटिस इन्डिया कम्पनीले तत्कालिन समयमा प्रयोग गरिएका राइफलमा प्रयोग गरिएका कारतुसमा गाई र सुगुरको बोसो प्रयोग भएको हल्लाले हिन्दु र मुस्लिमको धार्मिक भावनामा गम्भिर चोट पु¥याएपछि सैनिक विद्रोह सुरु भएको थियो । यो विद्रोह दबाउने क्रममा तत्कालिन शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणाले ब्रिटिस इन्डिया कम्पनी तथा ब्रिटिस सरकारलाई हजारौँ गोरखा सैनिकहरूलाई भारत पठाएर सैनिक विद्रोह दवाउन ठूलो सहयोग गरेका थिए । ब्रिटिससँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै नेपाललाई उपनिवेश बन्ने जोखिमबाट जोगाउँदै आन्तरिक र वाह्य हस्तक्षेप रोक्दै आफ्नो सत्तालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने उद्देश्यले तत्कालिन समयमा जंगबहादुर राणाले गरेको कुटनीतिक निर्णयलाई नेपालको सार्वभौम सत्ता जोगाउन ठूलो उपलब्धि मानिन्छ । इतिहासकारका अनुसार यो राजनैतिक, सैनिक सहकार्यले राणा शासनलाई दीर्घकालिन रूपमा सुदृढ बनाउँदै नेपाललाई दक्षिण एसियाको उपनिवेशिक पुनर्संरचनाबाट बाहिर राख्न महत्वपूर्ण भूमिका खेल्यो । ब्रिटिस इष्ट इन्डिया तथा ब्रिटिस सरकारलाई जंगबहादुर राणाले गरेको कुटनीतिक सहयोगलाई उच्च मूल्याङ्कन गर्दै सन् १८६० मा व्रिटिश सरकारले सुगौली सन्धिपछि गुमेका बाँके, बर्दिया, कैलाली र कञ्चनपूर समेटिएको नयाँ मुलुक नेपाललाई फिर्ता ग¥यो ।
सन् १९४७ मा ब्रिटिस उपनिवेशको समाप्त तथा भारत स्वतन्त्र भएपछि गोरखा रेजिमेन्टको भविष्यबारे गम्भीर छलफल भयो । त्यसै क्रममा नेपाल, भारत र बेलायत सरकारबीच त्रिपक्षीय सम्झौता Tripartite Agreement, १९४७) सम्पन्न भयो । यस सम्झौताअनुसार १० गोरखा रेजिमेन्टमध्ये ४ ब्रिटिस सेनामा र ६ भारतीय सेनामा समायोजित गरिए । यो सम्झौताले नेपाली नागरिकलाई दुवै सेनामा सेवा गर्ने कानुनी र नैतिक आधार प्रदान ग¥यो । त्यसपछि Indian Army अन्तर्गतका गोरखा रेजिमेन्टहरू (1st, 3rd, 4th, 5th, 8th/9th Gorkha Rifles) मा हजारौँ नेपाली युवाहरूले सेवा गर्दै आए । भारतीय सेनामा गोरखा भर्ती नेपालको ग्रामीण क्षेत्रका युवाका लागि स्थिर आम्दानी, सामाजिक सुरक्षा र सम्मानजनक जीवनको मुख्य माध्यम बन्यो । भारतसँगको खुला सीमा, ऐतिहासिक सम्बन्ध र साझा सांस्कृतिक आधारले पनि भारतीय सेनामा गोर्खा भर्ती थप सहज बन्दै गयो । गोर्खालीहरूको बहादुरी, इमान्दारिता, लगनशीलता र जिम्मेवारीवहन परम्पराको निरन्तरता स्वरूप दक्षिण–पूर्व एसियामा पनि नेपालीहरूको भूमिका विस्तार भयो । सन् १९४९ मा Singapore Police Force अन्तर्गत "Gurkha Contingent" स्थापना गरियो। मलायामा कम्युनिस्ट विद्रोह र क्षेत्रीय सुरक्षा चुनौतीका कारण सिङ्गापुरले राजनीतिक रूपमा तटस्थ, अनुशासित र भरपर्दो बलको खोजी गर्दा नेपाली गोरखाहरू उपयुक्त ठहरिएको कारणले त्यसयता सिङ्गापुर पुलिसमा कार्यरत गोरखा प्रहरीहरू उच्च सुरक्षा क्षेत्र, संवेदनशील कूटनीतिक स्थान र विशेष जिम्मेवारीमा खटिँदै आएका छन् ।
सिङ्गापुरको गोरखा कन्टिजेन्टमा नेपाली युवाको भर्ती आज पनि अत्यन्त कडा र प्रतिस्पर्धात्मक मानिन्छ । सिङ्गापुर पुलिस छनौट प्रक्रियामा शारीरिक क्षमता, मानसिक सन्तुलन, अनुशासन र पारिवारिक पृष्ठभूमिसम्म गहिरो मूल्याङ्कन हुन्छ । यसले नेपाली श्रमिकको अन्तर्राष्ट्रिय छवि अझ बलियो बनाएको छ ।
यी तीनवटै क्षेत्रमा नेपालीहरूको सहभागिता सामान्य श्रम आप्रवासनभन्दा भिन्न छ । यहाँ व्यक्तिगत सम्झौताभन्दा पनि राज्य–राज्यबिचको ऐतिहासिक समझदारी, विश्वास र दीर्घकालीन सम्बन्ध आधार बनेका छन् । यस अर्थमा भारतीय सेना, ब्रिटिस सेना र सिङ्गापुर पुलिसमा नेपालीको सेवा नेपालको वैदेशिक रोजगारीको सबैभन्दा सुरक्षित, सम्मानित र संस्थागत स्वरूप मानिन्छ । तर पछिल्लो समय यस क्षेत्रमा पनि चुनौतीहरू देखिन थालेका छन् । विशेष गरी भारतले सन् २०२२ मा लागू गरेको “अग्निपथ योजना” ले नेपाली गोरखा भर्तीको परम्परागत ढाँचामा अवरोध सिर्जना गरेको छ । सीमित सेवा अवधि, पेन्सन नहुने व्यवस्था र सम्झौताविपरीतका प्रावधानप्रति नेपाल सरकारले असन्तुष्टि जनाएपनि हाल भारतीय सेनामा नेपाली भर्ती प्रक्रिया स्थगित अवस्थामा छ । यसले तयारीमा रहेका हजारौँ नेपाली युवालाई अन्योलमा पारेको छ । यो योजना लागु हुनुभन्दा पहिला औसत वार्षिक १४०० नेपाली युवाहरू भारतीय गोर्खा सेनामा भर्ना हुने गर्दथे । अग्निपथ योजनासँगै ४ वर्से सेवा अनुबन्ध र नयाँ नियम लागु भएपछि नेपाली युवाहरूको परम्परागत लामो समयको भर्ती प्रक्रिया बारे दुई पक्षीय असमझदारी र बहस बढेको छ । भारतले सन् २०२२ मा लागू गरेको “अग्निपथ योजना” केवल सैन्य सुधारको आन्तरिक नीति मात्र होइन, यसले ऐतिहासिक रूपमा स्थापित नेपाली गोरखा भर्ती प्रणालीमा प्रत्यक्ष असर पारेको निर्णय थियो । सीमित सेवा अवधि, पेन्सनको व्यवस्था नहुनु र अस्थायी सैनिक अवधारणाले गोरखा सैनिकको परम्परागत पेसागत सुरक्षामाथि प्रश्न उठेको छ । यस सन्दर्भमा क्ष्लमष्बल ब्चmथ ले त्रिपक्षीय सम्झौताको भावना आत्मसात् नगरेको आरोप पूर्णतः निराधार भन्न सकिँदैन ।
तर, यो समस्या केवल भारतीय सरकार वा सेनाको कमजोरी मात्र हो भन्नु पनि अपूरो विश्लेषण हुन्छ । अझ गम्भीर प्रश्न नेपाल सरकारको भूमिका के रह्यो ? भन्ने हो । ऐतिहासिक रूपमा गोरखा भर्ती नेपाल–भारत–बेलायतबिचको कूटनीतिक समझदारीमा आधारित विषय हो । यति संवेदनशील विषयमा नेपाल सरकारले समयमै स्पष्ट कूटनीतिक पहल, औपचारिक वार्ता र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न सकेन । नेपालभित्र गरिएका खोक्रा भाषण र विरोधले स्पष्ट नीति, रणनीति, परिणाममा रूपान्तरण हुन सकेन । हजारौँ नेपाली युवाहरू वर्षौँदेखि भारतीय सेनामा भर्ती हुने आशामा शारीरिक, मानसिक र शैक्षिक तयारीमा लागिरहेका थिए, तर ‘अग्निपथ’ योजनापछि उनीहरू न रोजगारी पाए, न कुनै वैकल्पिक मार्ग देखाइयो । यस्तो अवस्थामा नेपाल सरकारले ती युवाका लागि वैकल्पिक सुरक्षा सेवा, राष्ट्रिय सुरक्षाबलमा समायोजन वा अन्तर्राष्ट्रिय सुरक्षा मिसनसँग जोड्ने स्पष्ट नीति ल्याउन कुनै कुटनीतिक प्रयास गरेको देखिँदैन ।
गोर्खा भर्ती केवल रोजगारीको माध्यममात्र नभई, नेपालको इतिहास, पहिचान र कूटनीतिक पुँजी हो । त्यसलाई जोगाउन नेपाल सरकारले दीर्घकालीन कूटनीतिक रणनीति, स्पष्ट अडान र निरन्तर संवाद गर्नुपर्ने थियो । अस्थिर सरकार, कमजोर कुटनीतिक नियोग, अपरिपक्क राजनीतिक संयन्त्र तथा गैर जिम्मेवार शासन प्रणालीका कारण वर्तमान अन्योलको जिम्मेवारी भारतको नीतिगत निर्णय मात्र नभै नेपाल सरकारको कूटनीतिक निष्क्रियता उत्तिकै जिम्मेवार छ । यस ऐतिहासिक वैदेशिक रोजगारीको सामाजिक प्रभाव निकै गहिरो रहेको छ । एकातिर यसले ग्रामीण गरिबी घटायो, शिक्षा र स्वास्थ्यमा पहुँच बढायो र नेपाली युवालाई आत्मसम्मानसहितको जीवन दियो भने अर्कोतर्फ, दीर्घकालीन रूपमा युवाशक्ति विदेशमै सीमित हुँदा देशभित्र नेतृत्व, सीप र उत्पादन क्षमतामा असर पर्न थालेको छ ।
निष्कर्षमा भन्नुपर्दा, भारतीय सेना, ब्रिटिस सेना र सिङ्गापुर पुलिसमा नेपालीहरूको भर्ती केवल रोजगारीको विषय होइन, नेपालको इतिहास, कूटनीति र अन्तर्राष्ट्रिय श्रम पहिचानको अभिन्न अंश हो । यस परम्परालाई सम्मान गर्दै बदलिँदो विश्व परिस्थितिअनुसार कूटनीतिक संवाद, नीतिगत स्पष्टता र युवाको भविष्य सुरक्षित गर्ने रणनीति आजको आवश्यकता बनेको छ । अब बन्ने सरकारले विश्वपरिस्थितिलाई ध्यानमा राख्दै कूटनौतिक संवादलाई सक्रिय, सन्तुलित र राष्ट्रिय हितमुखी बनाउनु पर्ने जरूरी छ । नीतिगत स्पष्टता विना आर्थिक तथा सामाजिक विकास सम्भव नहुने भएकाले आर्थिक, वैदेशिक श्रम, स्वास्थ्य र शिक्षा नीतिमा दीर्घकालीन योजना बनाउनु पर्ने कुरामा ठोस निर्णय लिनुपर्ने आजको जल्दो बल्दो आवश्यकता हो । सुरक्षित भविष्यका लागि सुशासन, विधिको शासन, सामाजिक सुरक्षा, प्रविधिमैत्री, अर्थतन्त्र, जलवायु चुनौतीप्रति सचेत रहँदै बेरोजगार युवाहरूका लागि स्वदेशमै रोजगार सिर्जना, सिपमूलक शिक्षा, उद्यमशीलता प्रवर्धन र निजी क्षेत्रसँग सहकार्य जस्ता विषयवस्तुलाई अङ्गिकार गर्न सकेवर्तमान समयमा आम नागरिकमा देखिएको राजनीतिक वितृष्णा र असन्तुष्टी क्रमशः सुधार हुने अपक्षे गर्न सकिन्छ ।




