अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्थाले आयातमा कमी हुँदै लक्ष्य पार गर्न नसकेको हो ।
भैरहवा
मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले ३ वर्षदेखि राजस्व लक्ष्य पार गर्न सकेको छैन । २०७८ पुस ५ गतेबाट लागू भएको अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमी हँुदै आएको र हालसम्म पनि कार्यालयले विभागबाट पाएको लक्ष्य पार गर्न नसकेको हो ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८०÷०८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन लक्ष्य दिएकोमा आर्थिक वर्ष २०८०–८१ मा ८० अर्ब ७२ करोड रुपैयाँ अर्थात् ६३ दशमलव २४ प्रतिशत राजस्व मात्रै संकलन गरेको होे । बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा भन्सारले राजस्व संकलन लक्ष्य भेट्टाउन नसकेको हो । भन्सारले गत आर्थिक वर्षमा तोकिएको भन्दा ३७ प्रतिशत कम राजस्व संकलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार २०७७÷७८ पछि लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन । वर्षेनी बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि भन्सारको लक्ष्य पनि बढ्ने गरेको छ । तर लक्ष्य थपिए पनि सो अनुसारको राजस्व संकलन भने हुन पाएको छैन ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन भए पनि त्यसयता यो अनुपात घट्दै गएको छ । आर्थिक वर्ष २०७८-०७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९-८० लक्ष्यको ४९ प्रतिशत र आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसकेको भन्सार प्रमुख गौतमले जनाए । भन्सार विभागले लक्ष्य पार नभए पनि विगतको वर्षभन्दा बढी लक्ष्य कार्यालयलाई दिएको छ । कार्यालयले २०७८ मंसिरसम्म लक्ष्य अनुरूप सफलता हासिल गर्दै गए पनि पुस ५ गतेबाट लागू भएको प्रावधानले आयातमा कमि हुँदै आएको हो । पुष महिनायता हालसम्म लक्ष्य अनुरूपको सफलता हासिल गर्न सकेको छैन ।
मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योग्दान गरेको थियो । विस्तारै अन्य नाका सहज हुँदा सामानहरू पनि डाइभर्ट भएको छ । राजस्वमा मुख्य योगदान दिने बस्तु आयात घट्दा राजस्व लक्ष्य प्रभावित भएको छ, गाडी, मोटरसाइकल, डिजल, पेट्रोल, औद्योगिक कच्चापदार्थहरूको आयातमा पनि कमी आएको छ, यस्तै विभिन्न राजस्व छुट, चोरीतस्करी, भारतीय अवरोध तथा नीतिगत फेरबदल, बुटवल–नारायणगढ सडकको कठिनाइको कारण अन्य नाकाबाट काम गर्न आयातकर्ता बध्य भएको प्रमुख गौतमले जानकारी दिए ।
भैरहवा भन्सार कार्यालयकाअनुसार आर्थिक वर्ष २०७९ –८० मा २४ खर्ब ४६ अर्ब ४० करोडको सामान आयात भएकोमा १ खर्ब ९ अर्ब ६० करोड मुल्य बराबरको निर्यात भएको थियो भने व्यापार घाटा २३ खर्ब ३६ अर्ब ६८ करोड भएकोमा आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्म २२ खर्ब ११ अर्ब ४० करोडको सामान आयत भएकोमा १ खर्ब ३१ अर्ब ७० करोड मूल्य बराबरको निर्यात भएको छ, जसबाट व्यापार घाटा २० खर्ब ७९ अर्ब ७० करोड भएको छ । भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाँबाट न्यून रूपमा निर्यात हुने गरेको छ । गत वर्षभन्दा अहिले निर्यातमा भने वृद्धि भएको भन्सार प्रमुख गौतमले बताए । यहाँबाट निर्यात हुनेमा सेन्थेटिक यार्न, सिमेन्ट, सिमेन्ट किलिन्कर, पिना, रेजीन, चाउचाउ, नुडल्स, पास्ता, प्लाइउड र जडीबुटी रहेको छ ।
कार्यालयका अनुसार यस नाकाबाट भित्रिने बस्तुमध्ये सबैभन्दा बढी राजस्व मोटरसाइकल, जीप, कार र भ्यानबाट राजस्व संकलन भएको छ । यस्तै पेट्रोल, पिकअप तथा डेलिभरि भ्यान, ग्लेज टाइल, इलेक्ट्रिक कार, जीप, भ्यान, मोबाइल फोन, एलपी ग्यास, एम.एस. विलेट र हाइस्पीड डिजेललगायतका १० बस्तुबाट बढी राजस्व उठेको छ । लक्ष्य यहाँसम्म पु¥याउनमा यी बस्तुहरूको मुख्य योगदान छ । लक्ष्य पार गर्नमा मुख्यतया मार्बल र ग्रेनाइटको भूमिका बढी हुन्छ, तर ती बस्तुमा ३ वटा वर्गमा भन्सार हुने गरेकोमा यो नाकाबाट नभइ अन्य नाकाबाट गएको हुन सक्ने अनुमान छ । ग्रेनाइटको हकमा सिंगै ल्याए २३ प्रतिशत, केही काटेर ल्याए ३३ प्रतिशत र तयारी अवस्थामा ल्याए ६० प्रतिशत भन्सार लाग्ने प्रावधान छ । पछिल्लो समय भन्सारले सेवा प्रवाह सरलीकृत गर्दै लगेको छ भने अवैध पैठारी रोक्न सीमा क्षेत्रमा गस्ती तीव्र पारेको छ । जसबाट प्याज, कपडा, चिनी, सूर्तिजन्य बस्तु किरानाका सामानसहित मानिस र सवारीसाधनलगायतबाट लाखौं मूल्यका सामान बरामद भएको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०८१–०८२ मा भने विगतको तुलनामा १८ अर्ब घटाएर भन्सारलाई १ खर्ब ९ अर्ब लक्ष्य तोकेको छ । मुलुकको समग्र भन्सार राजस्व संकलनमा भैरहवा भन्सार कार्यालयको योगदान करिब १२ प्रतिशत छ । तर, पछिल्ला तीन वर्षमा भने राजस्व असुली घट्दा मुलुकको राजस्व लक्ष्य नै प्रभावित परेको छ ।




