परासी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का नवलपरासी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ खरेल यतिबेला घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्।
सुनवलको बडेरामा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्। देशको निकास र राष्ट्रियताको प्रवर्द्धनका लागि एमाले बलियो राष्ट्रिय शक्ति बन्नुपर्ने उनको भनाइ छ।
खरेलले देशको सीमा रक्षा र समृद्ध नेपाल निर्माण एमालेको प्रमुख संकल्प रहेको उल्लेख गर्दै यही उद्देश्यसहित पार्टी अघि बढेको दाबी गरे। “एमालेको मूल एजेन्डा सुशासन र विकास हो, त्यसैले सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दछु,” उनले भने।
घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएको उनको दाबी छ। स्थानीय तहमा देखिएका समस्याहरू समाधान गर्न स्पष्ट नीति तथा कार्यक्रम ल्याइने उनले बताए।
उनका अनुसार सहकारीमार्फत स्थानीय रोजगारी वृद्धि, युवालाई उद्यमशीलतामूलक स्वरोजगारका लागि सीप, पूँजी र व्यवसायिक तालिम उपलब्ध गराउने योजना अघि सारिएको छ। साथै प्रारम्भिक व्यवसाय सञ्चालनका लागि बीउपूँजी सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइने व्यवस्था मिलाइने उनले जानकारी दिए।
पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको खरेलले बताए। रामग्राम, पण्डितपुर, जावा, कोलवृक्ष, कररपत्त नगर, पाल्हीस्थित नन्दन ताल, देवदह ताल, तरगौली लगायत बुद्धसँग जोडिएका तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रको संरक्षण, प्रवर्द्धन र आवश्यक पूर्वाधार विकासमा जोड दिइने उनको प्रतिबद्धता छ।




