बुटवल । युवा व्यवसायी तथा लेखक सुर्य गहतराजद्वारा लिखित ” जेन्जी, सपना, भ्रम र यथार्थ” नामक पुस्तकको आइतबार बुटवलमा लोकार्पण गरिएको छ ।
उक्त पुस्तक छाङवोन अब्रोड स्टडी प्रा. लि. बुटवल प्रकाशन रहेको छ भने शुलभ बुक्स एन्ड स्टेशनरी बुटवल वितरक रहेका छन् । कार्यक्रममा पुस्तकका लेखक तथा सम्पादक सुर्य गहतराजको अध्यक्षतामा अन्तार्टिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको थियो ।
बिश्वकर्माले देशको वर्तमान अवस्थामा समय सापेक्ष विषयवस्तुलाई समेटेर पुस्तक प्रकाशन गरेकोमा लेखकलाई धन्यवाद दिए । उनले देशको राजनीतिक चपेटामा परेका युवा वर्गले आफ्नो सपना पुरा गर्न नसकेको हुँदा अग्रजहरुले युवाहरूलाई हौसला तथा प्रेरणा प्रदान गरी सफलता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह हुने बताए ।
परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले देश निर्माण र आर्थिक समृद्धिका लागि जेन्जी युवाहरूको महत्त्वपूर्ण योगदान हुने बताउँदै युवाहरु एकजुट भई अघि बढ्न पुस्तकले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।
कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड बुटवलका क्षेत्रीय प्रमुख इन्द्र बिश्वकर्मा, क्यानन कलेजका प्राध्यापक गोविन्द शर्मा, उद्यमी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भरतकुमार रसाइलीलगायतले मन्तव्य राख्दै यो पुस्तकमा समावेश भएका विषयवस्तु अत्यन्तै पठनीय र महत्त्वपूर्ण रहेकाले युवापुस्ता तथा पाठकका लागि फलदायी हुने बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।
लेखक तथा सम्पादक सुर्य गहतराजले युवाहरुले देखेका सपना सजिलै पूरा नहुने भन्दै त्यसका लागि संघर्ष, मेहनत र धैर्यताको आवश्यक पर्ने बताए । उनले बिज्ञान, प्रविधि, शोसल मिडियाहरु मनोरञ्जनका लागि मात्रै नभएर अहिलेको युवाहरूले सोसल मिडिया र प्रविधिलाई सही तरिकाले प्रयोग गर्न सकेमा यसले आयाआर्जनसंगै व्यक्तित्व निर्माणमा टेवा पुग्ने बताए ।
उनले अहिलेको समय भनेको सम्पूर्ण नेपालीहरु आत्मनिर्भर र स्वरोजगार बन्न सक्नुपर्ने बताउँदै त्यसका लागि यो पुस्तक महत्त्वपूर्ण हुने बताए । उक्त पुस्तकभित्र जेन्जी र पारिवारिक सम्बन्ध, आर्थिक समृद्धिमा जेन्जीको भूमिका, जेन्जी भर्सेस राजनीति, भविस्यमा जेन्जीका चुनौतीलगायतका महत्त्वपूर्ण विषयलाई समेटिएको छ ।
उक्त पुस्तक फाइन मिडियाको आवरणमा सन्जय सौगातद्वारा लेआउट गरिएको छ । बोधराज शर्माको स्वागतमा भएको कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कोषाध्यक्ष सन्जय सौगातले गरेका थिए ।




