अमेरिका-इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा युद्धको संकेत देखिएको छ । शनिबार बिहान इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ । यो आक्रमणपछि इरानले मध्यपूर्वका विभिन्न देशका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ ।
अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमण निन्दनीय छ । यो आक्रमण विश्व शान्ति र मानवता विरोधी आक्रमण हो । विद्यालयलाई निशाना गरेर आक्रमण गर्दा ४० विद्यार्थी मृत्युसहित कयौं घाइते भएका छन् । अमेरिका–इजरायलले यो सँगै इरानको विभिन्न ठाउँमा आक्रमण जारी राखेपछि इरानले पनि मध्यपूर्वका विभिन्न मुलुकमा गरेको आक्रमणले तनाव थपिएको छ ।
जवाफमा इरानले इसराइलमा दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । सञ्चारमाध्यमहरूले इसराइली हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार भएका हतियारहरूलाई नष्ट गरिरहेको भिडिओ पनि प्रसारण गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार इरानले कतारमा रहेको अल उदैद हवाई अड्डा, कुवेतको अल–सालेम हवाई अड्डा, युएईको अल धाफ्रा एयर बेस, बहराइनस्थित नौसेना अड्डालाई निशाना बनाएको छ । यसबाहेक मध्यपूर्वका बहराइनमा रहेको अमेरिकी नौसेनाको अड्डा र उत्तरी इराकमा रहेको अमेरिकी आधार शिविरलाई पनि लक्ष्य बनाएको सञ्चारमाध्यमहरूले जनाएका छन् । कतारले तीन पटकसम्म इरानबाट आएको मिसाइल सफलतापूर्वक नष्ट गरेको र युएईमा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरे पनि मिसाइलको टुक्रा एउटा घरमा खसेको र एक जनाको मृत्यु भएको भनिएको छ । कुवेतका सैनिक प्रमुखले आकाश रक्षा प्रणालीले मिसाइलहरूलाई अवरोध गरेको पुष्टि गरेका छन् । जोर्डनको सैन्य प्रवक्ताले दुई ब्यालेस्टिक मिसाइल सफलतापूर्वक रोकिएको जानकारी दिएका छन् ।
मध्यपूर्व नेपालीको आकर्षक रोजगार गन्तव्य हो । मध्यपूर्वमा लाखौं नेपाली छन् । अब नेपाल सरकारले त्यहाँ कार्यरत नेपालीको सुरक्षामा ध्यान दिनुपर्छ । तनाव बढ्दै गए जोखिम बढ्दै जानेछ, त्यसबेला सुरक्षित घर फिर्तीलाई जोड दिनुपर्छ । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेर सचेत गराउनु सकारात्मक छ । त्यहाँ रहेका नेपालीले यूएई सरकार तथा नेपाली दूतावास÷महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न ध्यान दिनुपर्छ ।
यस्तो बेला मिथ्या सूचनाको प्रकोप बढ्छ । मिथ्या सूचनाले गर्दा त्रास बढाउँछ । नागरिकमा हुने भयले झनै जोखिम बढाउँछ । मिथ्या सूचनाको जोखिमबाट बचेर आधिकारिक निकायको सूचनामा भर पर्नुपर्छ ।
मध्यपूर्वको युद्ध रोक्न अरू मुलुकले पहलकदमी लिनुपर्छ । मध्यपूर्वको अशान्तिले विश्व बजारलाई नै प्रभावित पार्ने छ । त्यसले विश्व शान्ति र अर्थतन्त्रलाई असर गर्ने भएकाले युद्ध होइन्, शान्तिको पहल गरौं । अमेरिकी हमला र प्रतिशोधको शिकार निहत्था नागरिक पर्नु हुन्न ।




