जेनजी आन्दोलन र विध्वंशपछि उत्पन्न असमान्य परिस्थितिमा भएको चुनावमा मूलधारका राजनैतिक दल कांग्रेस, एमाले र नेकपालगायतका दललाई नराम्रो झड्का लागेको छ । तीन वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देशभर लहर आएको छ, रास्वपाको अनुमानभन्दा पनि बढी सिट जितेर सत्ताको चावी हातमा लिने विन्दुमा पुगेको छ । अहिलेसम्मको गणनामा रास्वपा दुई तिहाईको नजिक पुगेको छ । समानुपातिकको गणना भइरहेको र अहिलेसम्म उसले ४८ प्रतिशत मत पाएको छ, बाँकी गणनामा अहिलेकै ढंगले मत आयो भने दुई तिहाई पुग्ने देखिन्छ ।
यो चुनावले केही सन्देश दिएको छ, पहिलो सन्देश भनेको मतदाता कुनै दलप्रति निरन्तर लगाव राख्छन् भन्ने छैन । सूचना प्रविधिको विस्तार र पहुँचले उनीहरुको इच्छा आकांक्षा र बुझाइ बदलिएका छन् । बदलिँदो परिस्थितिमा दलहरुले आफूलाई चुस्त बनाउन सक्नुपर्छ । समाजमा नागरिकले के खोजीरहेका छन् ? उनीहरुका चाहना पूरा गर्न कहाँ चुक भयो ? भन्ने खोज्न पूराना दललाई राम्ररी सम्झाएको छ । रास्वपाले पाएको मत उसको नीति र विचारका आधारमा नभई नागरिकमा बढेको निराशा र पूराना दलप्रतिको आक्रोश मतमा बदलिएको हो । मतको निर्वाचन क्षेत्रगत विश्लेषण गर्दा धेरै ठाउँमा ती पार्टीका सदस्यले पनि रास्वपाको चुनाव चिन्हमा मतदाना गरेको पाइयो । रूपन्देहीको सेमलार र टिकुलीगढको दुई बुथमा कांग्रेसको शून्य मत प¥यो ।
यसको अर्थ हो, त्यहाँ बुथ प्रतिनिधिले समेत मतदान गरेनन् । कांग्रेसको चुनाव चिन्हमा नदिएर अन्यत्र दिए । पार्टी सदस्य र कार्यकर्ताले समेत अन्यत्र मतदान गर्ने अवस्था किन आयो ? मतदाताको मत बदलिनु जति स्वभाविक हुन्छ, पार्टी सदस्यता कायमै राख्दै मत बदलिनु अस्वभाविक छ, यो बारेमा दलहरुले गम्भीर आत्मसमीक्षा गरून् । राज्य सञ्चालनमा भएको चुककै कारण नागरिक असन्तुष्ट भए । नागरिकको चुलिंदो असन्तुष्टिलाई मत्थर पार्न पहलकदमी पर्याप्त नहुँदा जेनजी सडकमा आउने परिस्थिति बन्यो । यद्यपी यो आन्दोलनलाई सघाउ गर्ने अन्य बाह्य कारण पनि हुनसक्छन्, तर मूल कारण आन्तरिक हो । राजनैतिक दलका नेता जनताका सेवक नभएर शासक हुने र कार्यकर्ता विचौलिया बन्ने प्रवृत्ति मौलाउँदै जाँदा नागरिक र दलको सम्बन्ध टुट्दै जान्छ । अहिले कांग्रेस, एमाले र माओवादीले जे भोगिरहेका छन्, त्यो भोगाई अन्ततः रास्वपामा पनि लागु हुन्छ, उसको कार्यशैली, आचरण र व्यवहारमा सुधार आएन् भने ।
सामाजिक सञ्जालमा सधैँ ‘साइबर अट्याक’ गरेर मात्रै राजनीति चलिरहन्छ भन्ने भ्रम नपालेर समस्याको पहिचान र समाधानको इमान्दार प्रयत्न गर्दा मात्रै मतदाताले गरेको विश्वास कायम रहन सक्छ । अझै अन्तिम परिणाम आएको छैन, अहिलेसम्मको परिणामअनुसार प्रत्यक्षमा रास्वपाले १ सय २५ सीट जितेको छ, कांग्रेसले १८, एमालेले ९ र नेकपाले ७ सीट जितेका छन् । समानुपातिकमा रास्वपाको ४८ प्रतिशत, कांग्रेसको १६ प्रतिशत, एमालेको १३ प्रतिशत, नेकपाको ७ प्रतिशत मत आएको छ ।
श्रमसंस्कृति पार्टी र राप्रपाले ३ प्रतिशत कटाएका छन् । जित्नेहरु हौसिएर सत्ता उन्मादमा रम्ने र हार्नेहरु निराश हुने हो भने लोकतन्त्रले सही लय समात्न सक्तैन् । जित्नेहरु जिम्मेवार बन्दै अघि बढ्ने र हार्नेहरुले गम्भीर आत्मसमीक्षा गरी जनताको घरदैलोमा जाने हो भने लोकतान्त्रिक व्यवस्था जीवन्त रहन्छ । जित्नेहरु उन्माद बढ्ने र हार्नेहरु निराश हुने प्रवृत्तिले लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुन्छ, त्यसबेला अर्को कुनै शक्तिको उदय हुनसक्छ, त्यो नेपाली समाजका लागि झनै कष्टकर बन्नसक्छ ।




