२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वायु प्रदूषणको असर

वायु प्रदूषणको असर

वायु प्रदूषणको असर

वायु प्रदूषणको असर

वायु प्रदूषणको असर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • सातायता वायु प्रदूषण बढ्दा जनजीवन प्रभावित भएको छ । राम्ररी घाम लागेको छैन, आकाश धुम्म छ । बुटवल, भैरहवासहित तराई र काठमाडौँ उपत्यकामा प्रदूषण बढेको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका अनुसार, काठमाडौँ, पोखरालगायत ठूला शहर र तराईका अधिकांश स्थानका वायुमण्डलमा दूषित हावाका कण वा तरल थोपा (पीएम २.५) को मात्रा बढेको छ ।


     मध्य फागुनदेखि एक महिना वायु प्रदूषणको मात्रा उच्च हुने गरेको छ । पीएम (पार्टिकुलेट म्याटर) सूक्ष्म कण हो । यी कण कपालको चौडाइभन्दा १० गुणा साना हुन्छन् । जुन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । पीएम २.५ माइक्रोस्कोप लगाएर मात्रै देख्न सकिने ज्यादै साना कण हुन् । यी कण सवारीसाधन, उद्योग, कलकारखाना तथा इट्टाभट्टाको धुवाँ, दाउरा, घुर, कोइला, गुइँठा, छ्वालीजस्ता कृषि अवशेष बाल्दा र वन डढेलोबाट निस्कन्छन् । यी कण श्वास फेर्दा फोक्सो र रगतमा सिधँै प्रवेश गर्ने भएकाले मानव स्वास्थ्यमा जोखिम हुन्छ । यसबाट फोक्सोको क्यान्सर, मुटु रोग, मस्तिष्कघातजस्ता गम्भीर स्वास्थ्य समस्या हुन्छ । एक प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४१ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

    अहिले देशभर वन डढेलोका घटना बढ्नुका साथै कागज तथा प्लास्टिकजन्य फोहोरपदार्थ र बालीनालीका अवशेष जलाउने, इट्टाभट्टा, उद्योग कलकारखाना, सवारीसाधनबाट हुने उत्सर्जन, छिमेकी भारतबाट आउने दूषित हावाले गर्दा वायु प्रदूषण बढेको छ ।


    नासाको आगलागीसम्बन्धी सूचना व्यवस्थापन प्रणालीमा अभिलेख भएअनुसार २० फागुनमा देशभरको ७० स्थानमा आगलागी तथा वन डढेलो देखिन्छ । २० फागुनदेखि पछिल्लो एक साताभित्र देशभर २५० भन्दा बढी स्थानमा आगलागी तथा वनमा डढेलो फैलिएको छ । यसैगरी, भारतको उत्तर र उत्तर–पश्चिम भेगमा पनि आगलागी तथा वन डढेलोको दर बढेको छ । दूषित हावाको कण बोकेको हावा पश्चिमबाट पूर्वतर्फ बहेकाले प्रदूषणको मात्रा बढेको छ । 


    वायु प्रदूषणले विशेषगरी जोखिम समूहमा पर्ने दम, खोकीजस्ता श्वासप्रश्वासका दीर्घरोगी, पाँच वर्षमुनिका बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक, अशक्त असहायलाई बढी असर पार्ने भएकाले सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । बिहान र बेलुकी हानिकारक हावाको मात्रा अत्यधिक हुने भएकाले सकेसम्म बाहिर ननिस्कन, निस्कनै परे जिउ ढाक्ने कपडा र नाकमुख छोप्ने मास्क लगाउन मन्त्रालयले अपील गरेको  छ ।


    धुम्म भएको आकाश खुल्न पर्याप्त वर्षा हुनुपर्छ वा वेगमा हावा चल्नुपर्छ । मौसमविदहरुका अनुसार, तत्काल पर्याप्त वर्षा हुने सम्भावना छैन ।

     
    त्यसैले प्रदूषणले धुम्म भएको आकाश केही दिन खुल्न समस्या छ । यो प्रदूषणबाट हुने स्वास्थ्य जोखिमबाट बच्न सावधानी अपनाउनु नै उत्तम विकल्प हो । स्वास्थ्य मन्त्रालयले गरेको अपील नागरिकको स्वास्थ्य सुरक्षाका लागि भएकाले पालना गर्न र गराउन सबै जिम्मेवार बनौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij