बुटवल
वायु गुणस्तर मापनका आधारमा संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरहरूको सूचीमा दोस्रो स्थानमा पुग्दा लुम्बिनी प्रदेशका मुख्य शहरहरुको अवस्था कस्तो छ भन्ने यकिन छैन । लुम्बिनी प्रदेशका चार स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना भए पनि हाल दाङ देउखुरीको मात्र सञ्चालनमा हुँदा घना जनघनत्व भएका बुटवल, भैरहवा र नेपालगञ्जलगायतका शहरहरुमा वायु प्रदूषणको मात्रा कति छ भन्ने यकिन हुन नसकेको हो । काठमाडौंको हावाको गुणस्तर सूचकांक १९० भन्दा माथि पुगेको छ, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।
बुटवल, भैरहवा र नेपालगञ्जलगायतका औद्योगिक–व्यवसायिक र भारतसँग सीमा जोडिएका शहरहरु भएकाले यी शहरहरुको वायु प्रदूषण मात्रा पनि उच्च हुनसक्ने प्रदेश सरकारका वातावरण निरीक्षकको अनुमान छ । तर प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरु आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् ।
लुम्बिनी प्रदेशका बुद्ध जन्मस्थल लुम्बिनी, नेपालगञ्ज, घोराही र देउखुरी गरी ४ मध्ये देउखुरीको केन्द्रले मात्रै सक्रिय रुपमा वायु गूणस्तर मापन गरिरहेको प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताए ।
उनका अनुसार पछिल्लो देउखुरी आसपासमा मंगलबार दिउँसो पछिल्लो २४ घण्टाको औसत वायुको गुणस्तर एक्यूआई १६५ रहेको छ भने दिउँसोको मात्रा ११४ रहेको छ । एक्यूआईको मात्रा २ सय माथि हुँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने ३ सय माथि पुग्दा अति हानिकारक हुने वातावरण निरीक्षक चौधरीले बताए । ‘दाङ भन्दा रुपन्देहीका बुटवल, भैरहवा र नेपालगञ्ज औद्योगिक शहर र भारतको सीमा नजिक भएकाले ती शहरहरुको वायु प्रदूषण स्वतः बढी हुन्छ, तर वायु गुणस्तर मापन केन्द्रहरु सूचारु रुपले सञ्चालन हुन नसकी बन्द भएकाले कुन स्तरमा प्रदूषण छ भन्ने भन्न सकिने अवस्था छैन ।’
पछिल्लो २४ घण्टामा वायु गुणस्तर मापनको सूचक पि.एम. २.५ को मात्रा ८३.२ माइक्रोग्राम÷घन मिटर रहेको चौधरीले बताए । पछिल्लो २४ घण्टामा देखिएका पि.एम. २.५ को मात्राहरुलाई वायु गुणस्तर सूचाङ्क (एअर क्वालिटी इन्डेक्स अर्थात् ए.क्यू.आइ) गणितीय हिसाबले परिणत गर्दा देउखुरीसहित सबै सक्रिय देशभरका १२ वटा स्टेशनहरुको वायु गुणस्तर अस्वस्थ्यकर तहमा रहेको चौधरीले बताए । ‘अस्वस्थकर तह रहेको वायु गुणस्तरको स्केल १५१–२०० सम्म हो, यस तहमा दम, मुटु र उच्च रक्तचाप समस्या भएका व्यक्तिहरुलाई प्रत्यक्ष असर गर्र्छ र बालक, वृद्धा, अशक्तलगायत अन्य सबै व्यक्तिहरुलाई अप्रत्यक्ष रुपमा असर गरेको हुन्छ,’ वातावरण निरीक्षक चौधरीले भने–‘स्वस्थ्य वायु गुणस्तरको सूचाङ्ङ्क ० देखि ५० सम्मको हुन्छ र २०० भन्दा माथि अत्यन्त अस्वस्थकर मानिन्छ ।’
वायु गुणस्तर सूचाङ्क अर्थात् ए.क्यू.आई. को तह अनुसार नागरिकहरु घर भित्रै बस्ने, बाहिर कतै निस्कने वा कतिसम्म शारीरिक कृयाकलापहरु गर्ने, बालबालिका, वृद्ध एवं स्वास्थ्य जोखिममा रहेकाहरुको कृयाकलाप कतिसम्म सीमित गर्ने वा कस्तो वायु भएको बेला विपद्को रुपमा नै लिने, सो स्थानमा जाने कि नजाने ? जाने भए कति समयभित्र निस्किने ? जाँदा के कस्तो सावधानी लिएर जाने ? आदी जस्ता सुझाव सरकारी निकायले दिनुपर्नेमा मापन केन्द्र सञ्चालनमा नहुँदा नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको चौधरीले औंल्याए ।
वातावरण विभागका वातावरण निरीक्षक प्रकाश केसीले काठमाडौंसहित देशभर ३१ वटा वायु गुणस्तर मापन केन्द्रहरु जडान गरिएका भए पनि जम्मा १२ वटा मात्रै सक्रिय रहेका बताए ।
१२ मध्ये काठमाडौं उपत्यकामा ६ वटा सक्रिय छन् भने भक्तपुर र इलाममा रहेका स्टेशनहरुले सबैभन्दा उच्च पि.एम.२.५ (दुवै स्थानमा १०३ माइक्रोग्राम÷घन मिटर) रेकर्ड गरेको देखिन्छ । केसीका अनुसार बन्द भएका वायु गुणस्तर मापन केन्द्रका मेशिनरी यन्त्रहरुको मर्मत सम्भार भइरहेकाले सञ्चालनमा आउन समय लाग्नेछ ।
वायु गुणस्तरको अवस्था सर्वसाधरणले सूचनाको हकको रुपमा हेर्न पाउने व्यवस्था मिलाउन, वायू गूणस्तर सूचाङ्क बमोजिम प्रदूषणको स्रोत र प्रदूषण नियन्त्रण गर्न अधिकार प्राप्त निकाय गठन गर्न, सम्बन्धित क्षेत्रका जनशक्ति बढाउन र आपत्कालिन घोषणा समेत गर्न सक्ने कानुनी संयन्त्रको विकास गर्न जरुरी रहेको वातावरण निरीक्षक चौधरीको सरकारलाई सुझाव छ । लुम्बनी प्रदेशमा १२ जिल्लाको वातावरण र वायु प्रदूषणको अवस्था हेर्न एकजना मात्र वातावरण निरीक्षक चौधरी हुन् ।
वातावरण विभागमा पनि १०–१२ जना मात्र वातावरण निरीक्षक रहेकाले जनशक्ति अपर्याप्त र तीनै तहका सरकारले न्यून बजेट विनियोजन गर्दा वातावरण संरक्षण तथा वायु प्रदूषण नियन्त्रणका क्षेत्रमा अपेक्षाकृत काम हुन नसकेको विभागका वातावरण निरीक्षक केसीले बताए ।
विश्व बैंकले यसै वर्ष प्रकाशन गरेको वायु प्रदूषणसम्बन्धी एक प्रतिवेदनमा नेपालमा विशेषत काठमाडौं उपत्यका र समग्र तराई क्षेत्रमा वायु प्रदूषण बढ्दै गएको देखाएको छ । प्रतिवेदन बमोजिम नेपालका तराई क्षेत्रको पनि दक्षिणी क्षेत्रहरु परासी, बुटवल, भैरहवा वायु प्रदूषणको चपेटामा परेको देखिन्छ ।
सोही प्रतिवेदनले नेपालमा प्रत्यक्षरुपमा वायु प्रदूषणले गर्दा वर्षेनी २६ हजार मानिस मृत्यु भइरहेको र नेपालीहरुको औषत आयु करिब ३.५ वर्षले घटिरहेको जनाएको छ । वायु प्रदूषणले गर्दा उच्च रक्तचाप, मुटुसम्बन्धी रोगहरु, फोक्सो संक्रमण र क्यान्सर, मधुमेह जस्ता रोगहरु निम्त्याउने वरिष्ठ फिजिसियन डा. नन्दुप्रसाद पाठक बताउँछन् । ‘वायु प्रदूषणमा धुलोका अति साना कणहरू, कार्बन मोनोअक्साइड, ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता हानिकारक रसायनहरू मिसिएका हुन्छन्, यी कण यति मसिना हुन्छन् कि हाम्रो नाक र घाँटीको सुरक्षा प्रणालीलाई समेत पार गरेर सिधैँ फोक्सोको भित्री भागसम्म पुग्छन्,’ डा.पाठक भन्छन्–‘तीनै तहका सरकारले वायु प्रदूषणको असरबाट हुने क्षति रोक्न प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्न जरुरी छ ।’




