यो गएको हप्ता दुईवटा राजनीतिक घटना भएका छन् । पहिलो हाम्रो देश नेपालमा विघटित संसदीय निर्वाचन सम्पन्न भएको छ भने अर्काे अमेरिका– इजराइल र इरानबिच भीषण युद्ध भइरहेको छ । यी दुवै घटनाले नेपलमा अहिले प्रत्यक्ष बहुआयमिक त्यो आर्थिक, राजनीतिक र अन्य विभिन्न खाले प्रभाव देखिन थालेको छ । त्यसको प्रभाव सकारात्मक वा नकरात्मक के हुने हो ? त्यसको विश्लेषण हुन थालेको छ । पहिलो देशकै अर्थात् सम्पन्न प्रतिनिधिसभाको निर्वाचन यसबाट बन्ने नयाँ सरकार र त्यसले लिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति कार्यक्रमको हो ।
सर्वप्रथम यो निर्वाचन पनि त्यस्तै परम्परागत र यथास्थितिकै निरन्तरतामा सम्पन्न भएको छ । अझ भनौ आगामी २०८४ सालमा हुुनु पर्ने निर्वाचन अहिले २०८२ मा नै भएको छ । कारण गत भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनको हो । तर यो यही चालु संविधान अनुरुप नै सम्पन्न भएको छ । यस अर्थमा पनि यसमा कुनै नौलोपना छैन । त्यसकारण पनि यसको परिणाम त्यही पुरानो परम्परा र यथास्थिति नै रहिरहनु स्वाभाविक छ । खासमा त्यो जेनजी आन्दोलनको मूल मर्म पनि यो होइन । तर केही जेनजी आन्दोलनका कथित अगुवाहरुले यसलाई अर्थात त्यही पुरानो राज्य व्यवस्था र त्यसको स्वरुपलाई स्वीकारेपछि यो सम्पन्न भएको हो । सबैलाई थाहै छ यो राज्य सत्ताको स्वरुप त्यही पुरानो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा नै छ । यो निर्वाचनले यसको कुनै हेरफेर होइन यही सामन्ती, दलाल, नोकरशाही, पुँजीवाद वा बुर्जुवा राज्य सत्ता र व्यवस्थाकै संरक्षण, पालनपोषण नै गर्ने निश्चित छ । खाली रक्सी उही बोत्तल मात्र फरक छ । हिजो राजा पञ्चेका ठाउँमा कांग्रेस, एमाले पछि यसको ठाउँमा कांग्रेस, एमाले, माओवादी अनि अब रास्वपा घण्टी हुने भएको मात्र हो ।
आज देश–विदेशका धेरै जसो मान्छेहरुले अचम्म भएर भन्ने गरेका छन्– यो कसरी भयो ? अर्थात् रास्वपाको यो चुनावी विजय । बहुमत मात्रै होइन अझ दुई तिहाई बहुमत । यसमा कुनै अचम्मित हुनुपर्ने कारण नै छैन । भनिन्छ जसको हातमा डाढु, पनियो छ त्यसैले पहिले खान्छ र बल्ल अरुलाई खुवाउँछ । भाद्र २३ र २४ को त्यो जेनजी आन्दोलनको उत्पात । नेपाल पुलिस, प्रशासनमाथिको हमला प्रायः सबै दल नेता, कार्यकर्ता सबैको भागाभाग । तोडफोड व्यापक आगजनी र लुटपाट । तर नेपाली सेना रमिते । त्यसपछि बनेको यो सरकार र त्यसैको नेतृत्व र सक्रियतामा गराइएको यो निर्वाचन । अनि त हुन्छ अरु कसको विजय ? नेपालको यो संसदीय निर्वाचनको इतिहासमा पहिलो पटक प्रत्यक्ष सेना परिचालित गरी सेनाकै कमाण्डमा मतपत्रका बाकस ढुवानी गराउने काम भयो । जबकी त्यो जेनजी आन्दोलन र त्यसले देशव्यापी गराएको तोडफोड, आगजनी र लुटपाटमा देखिएको सेनाको भूमिका अनि त्यसैको कमाण्डमा गरिएको चुनावी रेखदेख र मतपत्र बाकसको ढुवानी यो सबैको साथमा रास्वपा त्यसमा पनि अझ बालेन शाह नेतृत्वमा भएको यो निर्वाचन नै विजयको मूल परिणाम हो । स्वयं नेपाली सेनाले भाद्र २३ र २४ पछि बालेन शाहलाई प्रधानमन्त्री बनिदिन त्यतिबेला भनेकै थियो । त्यसैले रास्वपाको यो चुनावी विजयका पछाडिको कारण बुझ्दा यो कुनै अनौठो र अस्वाभाविक हुँदै होइन । यसमा अझ पश्चिमा साम्राज्यवादी प्रभावको ठूलै भूमिका रहेको छ ।
अहिले धेरैले रास्वपाको यो चुनावी विजयलाई नेपालको इतिहासमा एउटा अस्वाभाविक घटनाको रुपमा लिने गरेका छन् । यसमा पनि दुई फरकफरक दृष्टिकोणबाट हुने गरेको छ । पहिलो परम्परावादी दल कांग्रेस–एमाले, माओवादी र मधेसवादीहरुका विरुद्धको जनआक्रोश अनि अब देशमा केही हुन्छ नै भन्ने आशामा भने अर्काे कतै अब नेपाल पनि सिक्किम, युक्रेन र हालै भएको इरान, इजराइल र अझ अरब मुलुकहरुमा भइरहेको आपसी भीषण युद्धको जस्तै भूमरीमा पर्ने खतराको रुपमा । यसमा जस्तो एउटा उदाहरण सिक्किमको छ । जहाँ यस्तै, निर्वाचनबाट बहुमत अझ दुई तिहाईभन्दा बढी मतका आधारमा त्यहाँको तत्कालीन नेता लेन्डुपे दोर्जेले विजय हासिल गरेका थिए । त्यसपछि उनले भारतको उक्साहाटमा सिक्किम एउटा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकलाई भारतमा विलय गराइदिए । त्यस्तै अर्काे उदाहरण युक्रेन जहाँ अहिले रुस, युक्रेनबिच युद्ध चलिरहेको छ । त्यहाँ पनि यस्तै चुनावबाट एउटा हास्यकलाकार जेनेस्कीले अत्यधिक विजय हासिल गरे ।
त्यसपछि उनले पनि अमेरिकी र युरोपियन मुलुकको उक्साहाटमा नेटो सदस्य राष्ट्र बन्न खोज्दा त्यसमा रुसको आपत्ति पछि अहिले गत तीन वर्षदेखि त्यहाँ पनि रुस, युक्रेनबिच भीषण युद्ध चलिरहेको छ । हजारौं मारिएका छन् । लाखौं घरबाहिरविहीन भई शरणार्थी भई बसेका छन् । अर्काे हालै चलिरहेको इरान, इजरायल अनि अरब मुलुकबिचको यो युद्धमा अमेरिकी साम्राज्यवादले इराकविरुद्ध गरेको भीषण आक्रमण र यसबाट उत्पन्न यो विश्व राजनीतिको मोडबारे सबैलाई छलङ्गै थाहा भइसकेको छ । कतै अति लोकप्रयता अनि यसैको आधारमा भएका यस्ता निर्वाचन र त्यसको परिणामले हाम्रो देशमा पनि हामी नेपाली सबैको भविष्य यस्तै मोडिदै त छैैन ? यो गम्भीर चिन्ताको विषय होइन र ? यस अर्थमा पनि यो रास्वपाका नेता बालेन, रविको लोकप्रियता र यो उनीहरुको चुनावी विजय र यसको परिणामलाई लिन पनि सकिन्छ । अब आगामी दिनहरुले अझ बढी यो बताउँदै जानेछन् ।
स्वयं नेपालमा नै पनि यस्ता चुनावी परिणाम नभएका होइन । २०१५ सालमा नेपाली कांग्रैेसले यस्तै दुई तिहाई बहुमत लिई सरकार बनाएकै हो । तर त्यो धेरै टिकेन । २०१७ सालमा राजा महेन्द्रको फौजी कुबाट अपदस्त भयो । त्यस्तै २०४५-०४६ सालको जनआन्दोलनको सफलता पछि ने.का.ले यस्तै बहुमतको सरकार बनायो । आ–आफ्नो दलीय किचलोले गर्दा त्यो पनि धेरै टिकेन । त्यस्तै २०६२÷०६३ सालको माओवादी जनयुद्धपछि यस्तै निर्वाचनबाट माओवादी ठूलो पार्टी बन्यो, तर यो पनि धेरै टिकेन । पछि दिनप्रतिदिन यो पनि खिइदै अब खाली नेकपाको नाममा विसर्जनको डिलमै पुगिसकेको छ । पछि एमाले र माओवादीबिचको एकतापछि बनेको पार्टीको चुनावी संख्या पनि यस्तै दुई तिहाईकै हाराहारीमा रहेको थियो । तर यो पनि टिकेन । त्यस्तै अब पनि यो रास्वपाको यो बहुमत पनि कति टिकाउ होला ? शंका गर्ने ठाउँ प्रशस्तै देखिन्छ । तै पनि छिट्टै रास्वपाको यो नयाँ सरकार बनोस्, हाम्रो शुभकामना नै छ ।
यसका साथै हाम्रा केही प्रश्न र सुझाव उनीहरुप्रति छ । पहिलो सुझाव जेनजी आन्दोलनले उठाएका सब मागहरुलाई तत्काल सम्बोधन गरियोस् । दोस्रो जेनजी आन्दोलनको क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी सबै घटनाहरुको छानबिन आयोगद्वारा प्रस्तुत प्रतिवेदनको तत्काल पुनः निष्पक्ष छानबिन गरी कार्यान्वयन गरियोस् । अब प्रश्न अमेरिकी परियोजना एमसीसी र एसपीपीबारे अब के हुन्छ ? बीआरआइप्रतिको धारणा के हो ? कालापानी, लिपुलेक र लिम्पियाधुरा आदि अब अगाडि कसरी बढ्छ ? यी सबल सबै देशको राष्ट्रियता र स्वाभिमानसँग सम्बन्धित छन् । बेला मौकामा रास्वपाका केही नेताहरुले भन्न गरे जस्तै अर्थात् हालै मात्र बाहिरिएको रवि, बालेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई पठाइएको एक गोप्य पत्र अनि तत्काल यो निर्वाचनकै मुखमा अमेरिकी राजदूतले रास्वपाका नेताहरुलाई दिएको शुभकामनाअन्तर्गत आपसी दुई पक्षीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चासोमा सामान दृष्टिकोण रहने भन्ने आसय व्यक्त भएको छ । यसबाट कतै बाख्रो हराएको बाघ कराएको भन्ने उखान टुक्का जस्तै सामन्जस्यता हुने त होइन ?
जे होस् यस पटक नेपाली मतदाता जनताले अझ नेपालका पुराना र परम्परावादी दलहरुलाई तिस्कार गर्दै रास्वपालाई नै रोजे । यसमा हामीलाई धेरै भन्नु छैन । जनताको चुनावी स्वतन्त्रताको कुरा हो । तर तातो ताप्केको माछो बाँच्न फडकेर फेरि भुंग्रामा भने जस्तो यो फेरि हुने हो कि ? हाम्रो चिन्ता यो हो । कुनै बेला नेपाली जनताले कांग्रेस, एमालेको विकल्पमा माओवादीलाई रोजे । त्यतिबेला पनि हामीले त्यही भन्यौ । १८ वर्षपछि बल्ल जनताले माओवादीलाई पनि बुझे । फेरि अहिले यी सबैको विकल्पमा जनताले रास्वपालाई रोजेका छन् । कतै फेरि पनि यस्तै धोका जनताले यो दलबाट पनि हुने त होइन ? निश्चित छ फेरि पनि धोका । किनभने पहिलो कुरा त यो राज्य व्यवस्था नै कहिले पनि देश र जनताको पक्षमा छैन । सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य व्यवस्था हो । जस्तो राज्य व्यवस्था त्यस्तै शासन सत्ता अनि दल नेता । सुरुसुरुमा कांग्रेस, एमाले, माओवादी सबै यस्तै लोकप्रिय थिए । सुरुमा केही राम्रा काम गरे जस्तो पनि गरे । तर विस्तारै यी सबै बदलिंदै राष्ट्रघाती, जनघाती र गद्दार बने । अहिले बल्ल जनताले बुझे । ठीक यो अब फेरि यी नयाँ भनिने दलहरु पनि विस्तार यस्तै देखिंदै जानेछ । चरित्र र स्वरुप बदलिंदैमा यो सत्ताको मूल चरित्र कुनै पनि हालतमा बदलिंदैन । मूल चरित्र र स्वरुप नै आमूल परिवर्तन बदलिनुपर्छ ।
त्यसैले अन्त्यमा मूल कुरा यो पुराना, सडेगलेको राज्य सत्ता र व्यवस्थाको आमूल परिवर्तन नगरी बन्ने दल चाहे ती जो सुकै कुनै कम्युनिष्ट, लोकतन्त्र र प्रजातन्त्रवादी यतिसम्मकि माओवादी नै किन नहुन् सबैबाट हिजो ठूलो राष्ट्रघात, जनघात र गद्दारी भयो अब पनि त्यस्तै अझ ठूलठूला राष्ट्रघात, जनघात र गद्दारी हुने निश्चित छ । यो बेलैमा सबैले बुझौं र सचेत भई यसको विरुद्ध पुनः संघर्षको लागि एकजुट हौं ।




