बुटवल
नेपालमा मिर्गौला रोग सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको प्रक्षेपणअनुसार हाल नेपालमा करिब ३० लाख मानिस दीर्घकालीन मिर्गौला रोगबाट प्रभावित छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कूल जनसंख्याको १० प्रतिशतमा मिर्गौला रोगको समस्या देखिने विश्व स्वास्थ्य संगठनको प्रक्षेपणअनुसार नेपालमा करिब ३० लाख जनसंख्यामा मिर्गौलाको समस्या छ । ग्लोबल बर्डेन अफ डिजिज (जीडीबी) ले सन् २०१९ मा निकालेको तथ्यांकअनुसार सन् १९९० मा नेपालमा ७ लाख २६ हजार ८९७ मात्रै थियो ।
करिब तीन दशकमा मिर्गौला रोगी दुई गुणाभन्दा बढी बढेका छन् ।
नेपालमा वयस्क जनसंख्यामा करिब ६ प्रतिशत मानिसमा दीर्घकालीन मिर्गौला रोग पाइन्छ । सरकारी तथ्यांकअनुसार हरेक वर्ष ३ हजार बढी नेपालीको मिर्गौला फेल हुने गरेको छ ।
विशेषज्ञहरूका अनुसार जीवनशैलीमा आएको परिवर्तन, मधुमेह, उच्च रक्तचाप, मोटोपना र ढिलो गरी रोग पहिचान हुनु जस्ता कारणले नेपालमा मिर्गौला रोगीको संख्या तीव्र रूपमा बढिरहेको छ ।
हरेक वर्ष देशभरमा ३ हजार जनाले मिर्गाैला रोगकै कारण मृत्युवरण गर्छन् । मिर्गाैलाको महत्वपूर्ण काम भनेको ज्यादामात्रामा पानी जम्मा भएर हुनसक्ने खराबी नियन्त्रण गर्ने, रक्तचापको सन्तुलन गराउने, रगत (आरबिसी)को उत्पादन हो । जानकारहरुका अनुसार मिर्गौलाले पानीको नियन्त्रण नगर्दा फोक्सोमा धेरै पानी जम्मा भएपछि बिरामीको निधन हुन्छ ।
हरेक वर्ष बढ्दै गम्भीर बिरामी
मिर्गौला रोग विशेषज्ञहरूका अनुसार नेपालमा हरेक वर्ष करिब ४ हजारजति नयाँ मिर्गौलाका बिरामी थपिने अनुमान गरिएको छ ।
मिर्गौला फेल भएपछि बिरामीलाई नियमित डायलाइसिस वा प्रत्यारोपण (ट्रान्सप्लान्ट) आवश्यक पर्छ । तर देशमा यस्तो उपचार सुविधा सीमित भएकाले धेरै बिरामीले समयमै उपचार पाउन सकिरहेका छैनन् ।
नेपालमा हाल ६० हाराहारी डायलाइसिस केन्द्र सञ्चालनमा रहेको विभिन्न अध्ययनले देखाएका छन् । तर अधिकांश सेवा काठमाडौं उपत्यकामा केन्द्रित छन्, जसका कारण दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने अवस्था छ ।
सरकारले केही वर्षदेखि मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले प्रत्यारोपणका लागि प्रति बिरामी करिब ५ लाख ५० हजार रुपैयाँसम्म सहयोग प्रदान गर्ने व्यवस्था गरेको छ ।
तर स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक आवश्यकता र उपलब्ध सेवाबीच अझै ठूलो अन्तर रहेको छ । सरकारले दिने रकम पनि लामो समयसम्म अस्पतालहरुलाई भुक्तानी नदिंदा उपचार सेवा प्रभावित भएको र कतिपय अस्पतालले आर्थिक भार थेग्न नसकेर सेवा नै बन्द गर्न वाध्य हुने स्थिति छ ।
विशेषज्ञ चिकित्सकको अभाव
नेपालमा मिर्गौला रोग उपचार गर्ने विशेषज्ञ चिकित्सक (नेफ्रोलोजिस्ट)को संख्या निकै कम छ । विभिन्न तथ्यांकअनुसार देशभर करिब ५०–६० जना मात्रै विशेषज्ञ चिकित्सक उपलब्ध छन् । देशभर करिब ६० वटा डायलाइसिस केन्द्र र ५७० जति डायलाइसिस मेसिन रहेको अनुमान छ । हालकरिब चार हजार बिरामी मात्रै नियमित डायलाइसिसमा छन् । यो तथ्यांकले देखाउँछ कि उपचार आवश्यक पर्ने मिर्गौला बिरामीको ठूलो हिस्सा सेवा बाहिर छ ।
यसका कारण ग्रामीण तथा दुर्गम क्षेत्रमा मिर्गौला रोगको पहिचान र उपचार झन् कठिन बनेको छ ।
खर्चिलो उपचार, गरिब बिरामीको पीडा
मिर्गौला रोग नेपालमा आर्थिक रूपमा पनि महँगो रोग मानिन्छ । एक बिरामीलाईहप्तामा २–३ पटक डायलाइसिस गर्नुपर्ने, प्रत्येक पटक ४ घण्टासम्म समय खर्चेर डायलासिस गर्नुपर्ने हुन्छ ।
सरकारले निःशुल्क डायलाइसिस कार्यक्रम सुरु गरे पनिमेसिन अभाव, लामो अवधि प्रतीक्षा, औषधि खर्चजस्ता समस्याका कारण धेरै बिरामीले उपचार निरन्तर गर्न नसकेको देखिन्छ ।
सबैभन्दा ठूलो समस्या भनेको नेपालमा मिर्गौला रोगको आधिकारिक राष्ट्रिय तथ्यांक नै नहुनु हो । यकिन तथ्यांक नहुंदा वास्तविक बिरामी संख्या,मृत्यु दर,उपचारको पहुँचबारे स्पष्ट नीति बनाउन कठिन भएको विशेषज्ञ चिकित्सकहरू बताउँछन् ।
विशेषज्ञ चिकित्सक डा. कायस्थका अनुसार यदि तत्कालनियमित स्क्रिनिङ कार्यक्रम,मधुमेह र रक्तचाप नियन्त्रण, ग्रामीण क्षेत्रमा डायलाइसिस सेवा विस्तार, वैदेशिक रोजगारीमा स्वास्थ्य सुरक्षाजस्ता कदम नचालिए नेपालमा मिर्गौला रोग आगामी दशकमा ठूलो जनस्वास्थ्य संकट बन्न सक्छ ।
वैदेशिक रोजगारीमा गएका युवामा पनि जोखिम
अध्ययनहरूले विदेशमा रोजगारीमा गएका कामदारहरूमा समेत मिर्गौला रोगको जोखिम बढिरहेको देखाएका छन् । अत्यधिक गर्मीमा काम, पानीको अभाव र स्वास्थ्य परीक्षणको कमीका कारण डायलाइसिस वा प्रत्यारोपण गर्ने बिरामीमध्ये करिब ३१ प्रतिशत ४० वर्षभन्दा कम उमेरका वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको एक अध्ययनले देखाएको छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका मिर्गौला रोग विशेषज्ञ डा. रजत कायस्थका अनुसार अनुसार मिर्गौला रोगबाट जोगिनका लागिनियमित स्वास्थ्य परीक्षण, मधुमेह र रक्तचाप नियन्त्रण,पर्याप्त पानी सेवन, धूम्रपान र मदिराको सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउन अत्यन्त आवश्यक छ । रोग ढिलो पहिचान हुनु नेपालमा मिर्गौला फेल हुने मुख्य कारणमध्ये एक भएको डा. कायस्थ बताउंछन् ।
लुम्बिनी प्रदेशमा १८८३ बिरामी डायलाइसिसमा
तथ्यांकअनुसार लुम्बिनी प्रदेशभरि हाल करिब १८सय ८३ जना बिरामी नियमित डायलाइसिस सेवा लिइरहेका छन् । तीमध्ये करिब ५५० जना बिरामीले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमै डायलाइसिस गराइरहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत कमल भण्डारीले बताए ।
लुम्बिनी प्रदेशभरि मिर्गौला रोगीहरूको सम्पूर्ण र एकीकृत तथ्यांक भने अझै उपलब्ध छैन । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार प्रदेशमा १८ सय ८३ जना छन् भन्ने मोटामोटी तथ्यांक रहेको छ ।
सबै अस्पतालसँग समन्वय गरेर एकीकृत तथ्यांक तयार गर्ने योजना बनाइएको निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीले पूर्ण तथ्यांक उपलब्ध नभएको स्वीकार गरे ।
यसैबिच रुपन्देहीस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मिर्गौला दिवस २०२६ विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाएको छ । कार्यक्रममा चिकित्सक, उद्योगी, सामाजिक क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रमका लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले मिर्गौला रोगलाई बेवास्ता गर्दा स्वास्थ्यमा थप चुनौती भएको बताए । उनले समयमै रोग पहिचान र उपचारको पहुँच विस्तार गर्न राज्यले थप पहल गर्नुपर्ने उल्लेख गरे ।




