२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दुईपटकको आगलागीले राजुको सपना चकनाचुर

दुईपटकको आगलागीले राजुको सपना चकनाचुर

दुईपटकको आगलागीले राजुको सपना चकनाचुर

दुईपटकको आगलागीले राजुको सपना चकनाचुर

दुईपटकको आगलागीले राजुको सपना चकनाचुर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • बुटवल
    बुटवल–४ संगमपथको व्यस्त बजारमा रहेको न्यू गुल्मेली रेसुङ्गा ट्रेडर्स, शुक्रबार साँझ एकाएक धुवाँले ढाकियो । केही मिनेटमै गोदामतर्फबाट सल्किएको आगोले जुत्ता–चप्पलको थोक पसललाई समातेपछि स्थानीय व्यापारी र बासिन्दा त्रसित भए । साँझ करिब ७ः३० बजे सुरु भएको आगलागीले पसलभित्र राखिएका सयौँ जोडी जुत्ता–चप्पल, गोदामका सामग्री र व्यवसायीको वर्षौँको मेहनतलाई क्षणभरमै चकनाचूर बनायो । 


    बुटवलका राजु श्रेष्ठले सञ्चालन गर्दै आएको उक्त पसलमा लागेको आगो नियन्त्रणमा लिन बुटवल उप–महानगरपालिका र तिलोत्तमा नगरपालिकाका दमकल घटनास्थलमा पुगेका थिए । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो केही समयमै नियन्त्रणमा आए पनि पसल र गोदाममा ठूलो क्षति पुगेको छ । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुन सक्ने बताइएको छ ।


    गोदामबाट सुरु भयो आगो
    आगलागीपछि घटनास्थलमा पुगेका सुरक्षाकर्मीले मुचुल्का उठाएका छन् । प्रारम्भिक जानकारी अनुसार आगो पसलको पछाडितर्फ रहेको गोदामबाट सल्किएको देखिएको छ ।


    श्रेष्ठकी श्रीमती जमुना शर्मा भन्छिन्–“अहिलेलाई करिब एक करोड जति क्षति भएको अनुमान छ । आगो गोदामसम्म पुगेछ । अगाडिको भाग धेरै नजले पनि धुवाँ र पानीले सामान बिग्रेर काम नलाग्ने भएका छन् ।”


    आगलागी नियन्त्रणका क्रममा प्रयोग गरिएको पानीले पनि धेरै जुत्ता–चप्पल बिग्रिएको उनले बताइन् । पसलका धेरै सामान धुवाँ र भिजाइका कारण प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् ।


    प्रहरीको अनुसन्धान जारी
    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आगलागीबाट भएको वास्तविक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । आगलागीको कारणबारे पनि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवस्तवले जानकारी दिए । “अहिलेसम्म अनुमान मात्रै हो,” उनले भने–“डकुमेन्ट आएपछि मात्र वास्तविक क्षति थाहा हुन्छ। मुचुल्कामा प्रहरीले पनि रकम उल्लेख गरेको छैन ।”


    बिमा कम, क्षति ठूलो
    आगलागीले व्यवसायमा ठूलो धक्का दिएको अर्को कारण पर्याप्त बिमा नहुनु पनि हो । श्रेष्ठका अनुसार पसलमा गरिएको बिमा जम्मा ५० लाख रुपैयाँको मात्रै थियो । “बिमा ५० लाखको मात्रै थियो । संरचनाको बिमा गरिएको थिएन ।”– श्रेष्ठले  भने । क्षतिको अनुमान करोड नाघ्ने देखिएकाले बिमाले सबै घाटा पूर्ति गर्न नसक्ने सम्भावना छ ।


     विगतको पीडा फेरि दोहोरियो
    श्रेष्ठको पसलमा लागेको यो आगलागी पहिलो भने होइन । केही वर्ष

    अघि पनि उनको पसलमा आगो लागेको थियो । त्यतिबेला छेउको पसलबाट सर्किट सर्ट भएर आगो सल्किएको थियो । 
    शर्मा सम्झिन्छिन्–“लकडाउनभन्दा केही अगाडि पनि आगलागी भएको थियो । त्यतिबेला अर्को पसलबाट सर्ट भएर सल्किएको थियो । बिचमा प्लाइउडको पार्टिसन मात्रै थियो ।”


    त्यसपछि सुरक्षाका लागि पर्खाल बनाइए पनि अहिलेको आगलागी भने गोदामबाट सुरु भएको देखिएको छ ।


    विदेशबाट फर्किएर व्यवसाय सम्हाल्दै
    ४१ वर्षीय श्रेष्ठको जीवनयात्रा पनि उतारचढावले भरिएको छ । केही समयअघि उनी विदेशमा व्यवसायिक अवसर खोज्दै गएका थिए । पछिल्लो समय भारतमा रहेका उनी त्यसअघि मौरिससमा होटल व्यवसाय सुरु गर्ने प्रयासमा थिए ।


    “म पोहोर साल मौरिससमा होटल खोल्न गएको थिएँ । अहिले एक वर्षपछि फर्किएको हुँ ।”– उनले भने ।
    तर स्वदेश फर्केर व्यवसायलाई व्यवस्थित बनाउने प्रयास गरिरहेका बेला आएको आगलागीले उनको सपना चकनाचूर भएर फेरि चुनौतीको सामुन्ने उभ्याएको छ ।


    श्रेष्ठ दुई सन्तानका पिता हुन् । उनकी छोरी कक्षा १० मा पढ्छिन् भने छोरा भर्खर दुई वर्षको छन् । परिवारको जिम्मेवारीसँगै व्यवसायलाई पुनः उठाउने चुनौती अहिले उनको काँधमा छ ।


    एकातिर पसलको क्षति, अर्कोतिर परिवारको भविष्य—यी दुवैको चिन्ताबिच पनि उनी र उनी पत्नी हार मानेका छैनन् ।
    आगलागीले पसलका सामान मात्र होइन, वर्षौँको मेहनतलाई पनि ठूलो धक्का दिएको छ । तर राजु श्रेष्ठ अझै पनि एउटै आशामा छन्–“सबै गुमे पनि फेरि सुरु गर्न सकिन्छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij