एच.के. श्रेष्ठ
रसियन फर्मालिज्मको नेपाली अर्थमा रसियन रूपवाद हो । यो रुसको केहि साहित्यिक समूहले विश्व साहित्यमा स्थापना गरेको ‘रूपवाद’ हो । रसियन रूपवादीहरूले बीसौं शताब्दीको पूर्वमा साहित्यको क्षेत्रमा एउटा नयाँ आन्दोलन चलाए जसलाई रसियन रूपवादी आन्दोलन रसियन फर्मालिष्ट मुभमेन्ट भनियो । यस आन्दोलनले विश्व साहित्यमा निकै प्रभाव पायो । आन्दोलन खासगरी फ्युचरिज्म (भविष्यवाद), भर्टिसिज्म र दादाइज्मविरुद्ध लक्षित थियो भने साहित्यमा सौन्दर्यवादीप्रति बढी केन्द्रित थियो । रसियन फर्मालिज्मले माक्र्सवादीविरुद्ध पनि विष वमन गर्दछ ।
साहित्यमा ‘सार’ र ‘रूप’ दुर्ई वटा पाटो हन्छ । ‘सार’ भन्दा ‘रूप’ पक्षलाई जोडतोडका साथ स्थापना गर्ने मान्यता यो स्कुलले राखेको छ । यो आन्दोलनले पर्वस्थापित साहित्यका मान्यताहरूमा खैलाबैला मच्चायो । यो अत्यन्त प्रगतिशील तथा क्रान्तिकारी ढंगले साहित्यमा देखाप¥यो कि सबै स्थापित मान्यताहरूलाई भत्काएर अगाडि बढ्यो । इटालियन कवि फिलिप्पो म्यारिनेटीले चलाएको आन्दोलनको धार नै रसियन फर्मालिज्मको धार थियो । रसियन रूपवादी आन्दोलन २०औं शताब्दीको साहित्यको डाइनमिक मेकानिज्मको रूप रहन गयो ।
रसियन रूपवादसँग दुई वटा पद्धति गाँसिएको छ । ती निम्न हुन्ः
क) मस्को भाषा विज्ञान सर्कुलर र
ख) अपोयाज ग्रुप ।
मस्को भाषा विज्ञान सर्कुलर भाषामा रूप पक्षको भूमिकाको अध्ययन केन्द्रित थियोे भने अपोयाज ग्रुपचाहिं कवितात्मक भाषाको अध्ययनको निम्ति गठन भएको समाजसँग सम्बन्धित थियो । यी दुवै स्कुलले नयाँपन (न्यूनेस) र नयाँ सम्भावनाको खोजीसँगै सिर्जनशीलतमा जोड दिन्थ्यो ।
यसरी अगाडि बढ्ने रसियन फर्मालिस्टहरूमा भिक्टर स्होक्लोभस्की, सेन्ट पिटर्सवर्ग, रामन याकोब्सन, जान मुकारोभस्की , वोरिस इखेन्वम्, रेने वएलेकहरू प्रमुख मानिन्छ । उनीहरूको योगदानले विश्व साहित्यलाई एउटा नयाँ आयाम थप्न सफल भएको छ । रुसमा कम्युनिष्ट सरकारको प्रभाव साहित्यामा परिरहँदा नयाँ आन्दोलनको उठान भएको थियो । साहित्यमा संगठित दुई वटा पक्ष ‘सार’ र ‘रूप’मा सारले विषयवस्तुलाई साहित्य निर्माणको मुख्य विषय मान्दछ भने ‘रूप’ भने साहित्यिक सिर्जनामा आउने कला पक्ष पर्दछ । यो (यस्थेटिजम्) सौन्दर्य शास्त्रसँग सम्बन्धित छ । यसले कला, कौशल, तौर तरीका र सीप पक्षलाई प्राथमिकता दिन्छ । शब्द चयन, रूप पक्षहरू, सन्दर्भ, संकेत, बाध्यवादनसँग सम्बन्धित खजनाहरू जस्तै गति,स्वर, ताल, लय, छन्द इत्यादि सबै ‘रूप’ विभागमा पर्दछन् । त्यस्तै साहित्यमा ‘सार’ वा कन्टेन्ट लाई जोड दिन माक्र्सवादी साहित्यकारहरू लागि परेका हुन्छन् । उनीहरूको जोडबल र भनाई के हो भने साहित्य समाजको उपज हो । यसले समाजको दुःख, पीर, मर्का, व्यथा, मर्म र वेदनालाई बोकेको हुनुपर्छ भन्ने मान्यता राख्दछ । ‘रूप’ पक्ष गौण हो ‘सार’ पक्ष प्रधान हो माक्र्सवादीको लागि । ठीक यसको विपरीतमा रसियन रूपवादी वा फर्मालिस्टहरूकालागि विषयवस्तु गौण हो । तर सौन्दर्य शास्त्रको पाटो प्रमुख हुनुपर्छ । साहित्यलाई साहित्यजस्तो बनाउने, मिठास दिन दायित्व नै ‘रूप’ पक्षको हो । जहाँ नयाँपन पाईन्छ, सिर्जनशीलता हावी हुन्छ, मिठास दिन्छ र साहित्यले गति प्रदान गर्दछ भन्ने मान्यता फर्मालिस्ट ग्रुपको छ । साहित्यमा अर्थ भनेको ‘रूप’ सामग्रीहरूले मात्र दिन्छ भन्ने भनाइ उनीहरूको छ ।
साहित्यमा दुई मान्यताको अर्को भिन्न पद्धति पनि छन् । ती हुन्, आर्ट फर,आर्ट सेकअर्थात् कला कलाको लागि र आर्ट फर सोसाइटी सेक अर्थात् कला समाजको लागि । कला समाजको लागि भन्ने स्कुलको लागि कलाकारिता भनेको समाजको लागि हो । यो समाजबाट लिएर समाजकै लागि र्सिजना भएको हुनुपर्छ । जहाँ समाजकै दैनिक जीवन प्रवाह हुनुपर्छ । कुनै स्वच्छन्दतावादी ढंगले वा काल्पनिक सागरबाट उब्जाएर कला र्सिजना गरिनु व्यर्थ हो । समाजविरोधी कार्य हो । समाजबाट टाढा रहनु हो । कला कलाको लागि हो भन्ने स्कुलको लागि कला मनोरञ्जनको साधन हो ।
मानव मस्तिष्कलाई कल्पनाको सागरमा डुबाएर सपनाको सयर आनन्द लिनुपर्छ । रसियन रूपवादी यसैको भावनासँग गाँसिएको छ । यो उन्नाइसौं शताब्दीको युरोपेली कला आन्दोलन हो । जसलाई बेलायती दार्शनिक तथा साहित्यिक वाल्टर पेटरहरूले नेतृत्व गरेका थिए । रसियन रूपवादी आन्दोलन यसैको बाटोमा छ र अझ परिमार्जित ढंगले अगाडि बढेको छ । सुन्दरताको पक्षमा रुमल्लिने यो ‘रूप’ धारका लागि कविता, गीत, कथा, नाटक, उपन्यास तथा कुनै कृतिमा मनोरञ्जन प्रधान र हावी हुनुपर्छ । जीवनलाई छुट्टै आनन्द दिनुपर्छ भन्ने दृढता राख्दछ । रसियन फर्मालिज्मको अर्को मान्यता त्यस्तो नयाँपन हो जहाँ बेग्लै ढंगको प्रस्तुति प्राप्त होस् । यसले केही हदसम्म नयाँ आलोचनात्मक पद्धतिलाई साथ दिएको छ । रसियन फर्मालिज्मको लागि ‘के’ भन्दा पनि ‘कसरी’ भन्ने महत्त्वपूर्ण हुन्छ अर्थात् के प्रस्तुत गर्ने भन्दा पनि कसरी प्रस्तुत गर्ने भन्नेले महत्व राख्दछ । यसले दर्शक वा पाठकको मस्तिष्कमा बेग्लै ढंगको सिर्जनशीलताले र नयाँपनले शासन गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । पुरानो मूल्य, मान्यता वा लेखनशैलीहरूलाई भत्काएर नयाँ ढंगले सिर्जना गरिनु यसको प्राथमिकता हो । खाओ, पिओ, मोजमस्ती करो भन्ने अवधारणालाई अँगाल्छ, यसले । कुनै पनि कविता, गीत, गजल, साहित्यिक रचनाहरूबाट विषयवस्तु जेसुकै भए पनि मनोरञ्जन लिनुपर्दछ । त्यो सन्तुष्टि सौन्दर्यको पाटोबाट लिनु पर्छ भन्ने भावना रसियन फर्मालिज्मको हो । यस स्कुलले उत्तरआधुनिककालका साहित्य क्षेत्रमा आफ्नै हैकम जमाएको छ ।
कतिपय हालको साहित्य, सिर्जना र विविध खालका रचनाहरूमा यि दुवै स्कुलिङको सन्तुलन उत्तिकै पाइन्छ ।




