२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जीव विज्ञान नारी जातिको नियति होइन—१

जीव विज्ञान नारी जातिको नियति होइन—१

जीव विज्ञान नारी जातिको नियति होइन—१

जीव विज्ञान नारी जातिको नियति होइन—१

आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • विमर्श 
    एभलिन रीड
    (प्रायः मानिसहरु महिला शारीरिक रूपमा पुरुषभन्दा कमजोर हुन्छन् भन्ने सोच्छन् । तर, यो सोंच गलत छ । महिला र पुरुषमा शारीरिक फरकपन छ, तर त्यसको अर्थ महिलाभन्दा पुरुष श्रेष्ठ छ भन्ने होइन । शारीरिक रूपमा महिला पुरुषभन्दा कमजोर छैनन् । महिला कमजोर छन् भन्ने चिन्तन मानवनिर्मित हो । जैविक हिसाबले महिला पुरुषभन्दा कमजोर होइनन् भन्ने तथ्य प्रसिद्ध अमेरिक मानवशास्त्री एभलिन रीडले यस लेखमा पुष्टि गरिदिनुभएको छ । रीडको यो प्रसिद्ध लेख ‘इज बायोलोजी वुमिन्स् डेस्टिनी ? शीर्षकको अंग्रेजी लेखबाट नेपालीमा अनुवाद मुरारी अर्यालले गर्नुभएको थियो । जसको प्रकाशन पारिजातले वि.सं. २०४२मा गर्नुभएको थियो । हाल बजारमा अप्राप्य रहेको यस लेखको पुनःप्रकाशन गरिएको छ । मुरारी अर्यालले गर्नुभएको अनुवादमा सामान्यक भाषिक सम्पादनमात्र गरिएको छ । अनुवादको क्रममा अर्यालले एप्स बाँदर शब्द प्रयोग गर्नुभएको छ । बुझाई सरल होस् भन्ने उद्देश्यले त्यसो गरिएको होला । तर यसको अर्थ आजको बाँदर होइन नरमानवको अर्थमा हो । यो निबन्ध दुई भागमा प्रकाशन गरिनेछ । यो पहिलो भाग हो ।)


    खासगरी एंगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’को अध्ययन गरेका मुक्ति आन्दोलनसँग सम्बद्ध महिलाहरुले नारीजातिको उत्पीडन तथा हिनताको निम्ति जिम्मेवार तत्वहरू वर्गसमाजमा अवस्थित हुन्छन् भन्ने बुझेका छन् । त्यसैले नारीजातिको विरुद्ध जीवनको हर क्षेत्रमा पक्षपात गरिने वर्गसमाजको अन्तिम चरण, पुँजीवादी चरणलाई उनीहरुबाट ‘लिंगवादी’ भन्ने संज्ञा दिइएको छ र त्यो एकदमै ठीक छ ।


    आफूलाई ‘हीन वर्ग’ वा ‘दोस्रो लिंग’को स्थितिमा पुर्याई त्यो स्थिति कायम राख्नमा जीवविज्ञान (शरीर)को भूमिकाबारे नारीजाति आजसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन । इतिहास लेखन तथा सम्पूर्ण विज्ञानलाई नै समेत यथास्थितिवादका अगुवाहरुले आफ्नो मुठ्ठीमा पारेको पुरुषआधिपत्य भएको समाजमा यस्तो अनिश्चय सामान्य हो । जीवविज्ञान र मानवशास्त्र जस्ता दुई विज्ञानहरु नारीजाति र उनीहरुको इतिहाससम्बन्धी ज्ञानको लागि सर्वाधिक महत्वका तत्त्व हुन् । यी दुवै विज्ञान कति हदसम्म पुरुषजातिका पक्षपाती रहेका छन् भने यिनबाट नारीजातिबारे सही तथ्य  प्रकट हुने होइन बरु लुकाइन्छ ।


    नारीजातिको हीनताबारे पेश गरिएका तर्कहरुमध्ये संभवतः सबभन्दा विनाशकारी तथा छद्म वैज्ञानिक प्रचार जीवविज्ञानको नाउँमा प्रस्तुत गरिन्छ । यस क्षेत्रका मिथ्या कल्पानाकारहरुको भनाइ अनुसार मातृत्व र मातृत्वसँग सम्बन्धित क्रियाकलापहरुले नारीजातिलाई शारीरिक रूपमा अशक्त तुल्याएको छ । पशु विश्वदेखि नै व्याप्त रहेको यस अवरोधले नारी जातिलाई असहाय र आफ्नो बालबच्चाको भरणपोषणको निम्ति आफूभन्दा श्रेष्ठ पुरुषजातिमाथि आश्रित तुल्याएको छ । नारीजातिलाइ यस्तो अनन्त हीनतामा पु¥याउनको निम्ति प्रकृतिलाई नै जिम्मेवार ठह¥याइएको छ ।


    स्त्रीजातिमा मात्र विद्यमान मातृत्वअंग र मातृत्वसँग सम्बन्धित क्रियाकलापले स्त्री जातिलाई शारीरिक रूपमा पुरुषदेखि भिन्न तुल्याएको तथ्यमा कुनै शंका छैन । तर, महिला उत्पीडनको निम्ति प्रकृति जिम्मेवार छ भन्ने चाहिं सही होइन । यस्तो पतनको लागि वर्ग विभाजित पितृसत्तात्मक समाजका मानवनिर्मित संस्था तथा नियम कानुनहरु मात्र पूर्णरूपले जिम्मेवार छन् । आदिम वर्गविहीन समाजमा यसको उपस्थिति थिएन र पशु विश्वमा यसको अस्तित्व रहेको छैन ।


    प्राकृतिक तथा सामाजिक इतिहासको यस्तो गलत व्याख्यात्मक प्रचार लिंगवादी समाजको विकासका निम्ति गरिंदैछ । महिलाको शारीरिक बनौटले गर्दा उनीहरुमाथिको उत्पीडन न्यायसंगत ठह¥याउनाको कारण एकदमै प्रष्ट छ । आफ्ना सम्पूर्ण समस्याको सुरुवात लिंगको बनौटबाट भएको अवस्थामा नारी जातिले आफ्नो उत्पीडनको विरुद्ध मुक्ति किन खोज्ने ? आफ्नो शारीरिक बनौट फेर्न नसकेपछि महिलाहरुले समाजलाई बदलेर के पो पाउँछन् र ? झोलुंगो लगायत उपलब्ध सम्पूर्ण माध्यमहरुबाट आजसम्म हाम्रो दिमागमा यो निष्कर्ष लादिएको छ । वैज्ञानिकको रूपमा देखा पर्ने पुरुषप्रधानतावादीको कुरा विश्वास गर्ने हो भने शारीरिक बनौट नै महिलाहरुको पूर्वनिर्धारित भाग्य हो र यसलाई स्वीकार गरेर आत्मसमर्पण गर्नु नै राम्रो हुन्छ ।


    वास्तविकता के हो भने, ‘जीवविज्ञान पुरुषहरुको भाग्य हो’ भन्नु जति गलत हुन्छ, ‘जीवविज्ञान नारी जातिको भाग्य हो’ भन्नु पनि त्यत्तिकै गलत हुन्छ । यसले मानिसलाई जनावरको स्तरमा खसाउँदछ । महिलाहरु मात्र प्रजननकर्ता हुन् भने पुरुषहरु पनि गर्भाधानको निम्ति राखिएका भाले मात्र हुन् । यस्तो पतनले मानिस र पशुबीचको निर्णायक भिन्नतालाई त्यागिदिन्छ । आफ्नो पशुउत्पत्ति र जीवनको पशुवत् स्थितिबाट धेरै अघिदेखि अलग्गिएको मानिसजाति सबै सामाजिक प्राणीभन्दा माथिल्लो ठहरिएको छ । यस्तो लिंग भेदभावको स्थितिलाई सबै सामाजिक प्राणीभन्दा माथिल्लो ठहरिएको छ । यस्तो लिंग भेदभावको स्थितिलाई बुझ्नुभन्दा पहिले मानिसलाई अद्वितीय तथा पूर्णतः नयाँ जाति सावित गराउनमा सहायक भएका पशुहरुसँग यसको भिन्नताको कारणहरुबारे लेखाजोखा गरौंः


    मानवजातिः अद्वितीय जाति
    मानवताको उदय उच्चस्तरका पुच्छरविहीन बाँदरहरुको (यहाँ भन्न खोजिएको नरवानर, अंग्रेजीमा एप्स् हो– सं.) शाखाबाट भएको डार्बिनले प्रमाणित गरेपछि मानिस र पशुहरुबिचको समानता देखाउन कैयन् अध्ययन गरिएका छन् । तर, यसभन्दा पनि महत्त्वपूर्ण तत्वलाई औंल्याउने बारेमा भने निकै कम मात्र अध्ययन भएका छन् । सम्पूर्ण प्राणीजगतको विभिन्न स्वरूपमा विभाजित जातिहरुमध्ये मानिसलाई अद्वितीय सावित गराउने अरु प्राणीहरुसँगको भिन्नता नै यो महत्त्वपूर्ण तत्त्व हो ।


    माक्र्स यस अद्वितीयको उद्गमकेन्द्रलाई औंल्याएका छन् । श्रमसँग सम्बद्ध क्रियाकलाप तथा जीवनका आवश्यकताहरुको उत्पादन गर्ने प्रक्रियामा संलग्न हुने सामथ्र्य नै त्यो उद्गमको स्रोत हो । कुनै पनि पशुजातिले श्रम गर्न सक्दैन । मानव उद्भवको यस ‘श्रमसिद्धान्त’को सर्वप्रथम उल्लेख एंगेल्सले ‘बाँदरबाट (एप्स–सं.०) मानिसको उद्विकासमा श्रमले खेलेको भूमिका’ भन्ने निबन्धमा गर्नुभएको हो ।
    शेरबुड वासबर्न, विलियम होवेल्स, केनेथ वेक्ले, वी. गोर्डन चाइल्ड तथा आज भोलिका अग्रणी पुरात्त्व तथा मानवशास्त्रीहरुले मानिसहरुलाई पशुबाट भिन्न ठह¥याउने मुख्य विशेषता ज्यावल (औजार) निर्माण भएको ठह¥याएका छन् । वासबर्न भन्नुहुन्छ–“सामान्य ज्यावलहरुको सफलताले नै मानव विकास प्रक्रियाको शुरुवात र आजको सभ्यताको चरणमा पुर्याएको हो” (साइन्टिफिक अमेरिकन, सेप्टेम्बर १९६०) । ‘प्राग्ऐतिहासिक पुरातत्त्वले श्रमले मानिसलाई मानिस कसरी बनायो भन्ने देखाउँछ’ भन्दै गोडेन चाइल्ड एंगेल्सका मान्यताको पुष्टि गर्नुहुन्छ (इतिहासमा के भयो ?, पेङगुइन बुक्स, पृष्ठ २७) ।


    बाँदरहरु पनि प्राकृतिक वस्तुलाई औजारको रूपमा प्रयोग गर्छन्, त्यसैले श्रमलाई हाम्रो जातिको मानवीकरणको निम्ति जिम्मेवार तत्त्वको रूपमा लिन सकिंदैन भन्ने मान्यता श्रम कार्यलाई तल्लो दर्जा ठह¥याउनेहरुले अघि सारेका छन् । तर, मुख्य तथ्य के हो भने, अन्य स्तनपायी जन्तुहरुले हातको चलाखीपूर्ण प्रयोगको लागि सफल भए पनि, बन्दी अवस्थामा राखेर उनीहरुलाई विभिन्न काम सिकाउन सकिएता पनि, कुनै पनि पशु जातिले औजार बनाउन सक्तैन । स्तनपायी पशुहरुमा भाले, पोथीबिच कुनै श्रम विभाजन हुँदैन र कुनै पनि मानव पूर्व जाति आफ्नो जीवनयापन निमित्त श्रमकार्यमा संलग्न भएको छैन । ‘टिप्नको निम्ति र उपलब्ध खाने कुरा मुखसम्म पुर्याउनको निम्ति पाखुरा नै पर्याप्त छ । हाम्रो मानिस जस्तै इष्टमित्रले (नरवानर– सं.)ले जानेको यत्ति हो ।’– इ. एडम्सन भन्नुहुन्छ ।  (आदिम विश्वमा मानिस, म्याक ग्र हिल बुक्स, पृष्ठ ९२)


    यसको विपरीत, मानिसहरु श्रम कार्यमा यस्तो विध्न पूर्णरूपले आश्रित छन् कि उत्पादक सामथ्र्य नष्ट हुने हो भने हामी पनि अस्तित्वमा रहँदैनौ । त्यसैले श्रम कार्यले एक अद्वितीय मानव जातिको जीवन र विकास प्रक्रियामा नयाँ मोड ल्याएको छ । हामी मानिसहरु मात्र सन्तान उत्पादक किमार्थ होइनौं बरु हामी त जीवनको आवश्यकताहरुको उत्पादक शक्ति पनि हौं ।


    श्रम शक्तिले मानिस र प्रकृतिबीचको सम्बन्धमा ल्याएको विशाल परिवर्तनमा उत्पादनको महत्वलाई देख्न सकिन्छ । पशुहरु मूलभूत रूपमा प्रकृतिका दास हुन्छन्, उनीहरु जीव वैज्ञानिक शक्ति एवं प्रक्रियाबाट निर्देशित हुन्छन् र ती तत्वहरुमा उनीहरको आफ्नो कुनै नियन्त्रण रहन्न । मानिसहरुले भने यस सम्बन्धलाई उल्ट्याई दिएका छन् । मानिसले प्रकृतिलाई श्रम प्रक्रियाबाट अधीनमा पारेको छ । अर्को शब्दमा भन्ने हो भने केवल एउटा जाति अर्थात् मानव जाति जीव विज्ञानको प्रत्यक्ष नियन्त्रणबाट मुक्त भएको मात्र नभएर आफ्नो पुरानो दमनकर्ता प्रकृतिलाई समेत नियन्त्रण गर्न सक्षम भएको छ । कहिंलेकाहिं भनिन्छ पनि–‘जनावरहरुको इतिहास उनीहरुको निम्ति बनाइन्छ, मानिसले आफ्नो इतिहास आफैँ बनाउँछ ।’


    प्रकृतिमाथि आफ्नो आधिपत्य स्थापनाको साथसाथै मानिसले महसुस गर्न थालेको नयाँ–नयाँ आवश्यकता पनि पशु विश्वमा सर्वथा अभाव छ । पशुहरु आजसम्म पनि खानेकुरा र अन्य जन्मजात प्राकृतिक आवश्यकताको सन्तुष्टिमा सीमित छन् भने मानिसले नयाँ आवश्यकताको अन्त्यहीन शृंखलाको विकास गरेको छ र तीमध्ये सबैजसो (कमभन्दा कम जतिलता कै अर्थमा मात्र भए पनि) उच्च सांस्कृतिक आवश्यकताभित्रै पर्दछन् । प्राविधिक पक्षकै केही उदाहरण हेरौंः विना बिंडको हाते बञ्चरोबाट बिंडयुक्त बञ्चरोको आवश्यकता जन्मियो । 


    खन्नमा प्रयोग हुने काठको लठ्ठीबाट हलोको आवश्यकता महसुस भयो र आविष्कार पनि भयो । साधारण तान र चर्खाले जटिल कपडा कारखानाको विकास गर्यो । निर्माणसम्बन्धी आवश्यकता खरले छाएका घरहरुबाट नाघ्दै कारखाना भवन र गगनचुम्बी महलहरुमा पुग्यो । औद्योगिक क्रान्तिपछि पारवहनमा आवश्यक परेको गतिको मागले गोरु गाडालाई पछि धकेल्दै रेल, मोटर, जेटप्लेन र अन्तरिक्षयानमा पु¥यायो ।


    शिक्षा, कला तथा विज्ञान जस्ता सम्पूर्ण सांस्कृतिक आवश्यकताहरुको विकास नयाँ क्रियाकलाप तथा सामाजिक जीवनसँग मानिसको सम्बन्धले गर्दा भएको हो । खानेकुरा तथा यौन जस्ता मूलभूत जीव वैज्ञानिक आवश्यकताहरु समेत मानवजीवन अनुसार बदलिएर नयाँ रूपमा ढालिए । मानिस पशु सरह खाने, समागम गर्ने र सन्तान जन्माउने प्रक्रियामा मात्र होइन आफ्नो बदलिँदो सांस्कृतिक स्तर मुताविकका क्रियाकलापमा समेत संलग्न हुँदै गयो । माक्र्स भन्नुहुन्छ–“भोक भनेको भोक हो, तर काँटा र चक्कु चलाउँदै पकाएको मासु खाई साम्य भएको भोक र हात, दाँत र नंग्राको मद्दतबाट काँचो मासु खाई मेटेको भोक बीच निश्चय पनि भिन्नता रहन्छ ।” (राजनैतिक अर्थशास्त्रको आलोचना, पृष्ठ २७९) ।


    आफ्नो बाह्य प्रकृति अर्थात् वातावरणबाट आएको यस्तो व्यापक परिवर्तनको साथसाथै मानिसले आफ्नो भित्री प्रकृतिमा पनि महत्त्वपूर्ण परिवर्तन ल्याएको छ । आफ्नो भुत्ले छाला र बाँदरको जस्तै अन्य विशेषतालाई परित्याग गरी शारीरिक स्वरूपमा मानिसले ल्याएको परिवर्तनको पनि अक्सर उल्लेख गरिन्छ । 


    तर यो भन्दा उल्लेखनीय विशेषता भने आफ्नो पुरानो पशुवत् प्रतिक्रिया परित्याग गरी त्यसको विस्थापना मानवीयकृत सामाजिक प्रकृतिद्वारा हुनु हो । आजभोलि हामीले प्रारम्भका हाम्रा सम्पूर्ण पशु प्रकृतिलाई परित्याग गरिसकेका छौं र शिक्षित व्यवहारहरुबाट तिनीहरुको विस्थापना भएको छ (हेर्नुहोस् ‘नांगो बाँदर’लाई जवाफ, एभलिन रीड, पाथ फाइण्डर प्रेस) ।


    मानवसमुदाय र अन्य प्राणी जातिबिच विद्यमान भिन्नता बारेको यस छोटो चर्चाले मानिस भनेको थप एक दुई चाल जान्ने पशु मात्र हो भन्ने मान्यताको खण्डन गर्दछ । हामीमा पशुकै जस्ता केही जीव वैज्ञानिक विशेषताहरु विद्यमान भएता पनि हामीले आफूलाई पशुवत सीमित अस्तित्वबाट माथि उठाएका छौं । हामी स्वयं आफ्नो उत्पादक क्रियाकलाप एवं सामाजिक शक्तिबाट निर्मित तथा परिवर्तित भएका छौं र यसले गर्दा हामी आफ्नो जीव वैज्ञानिक बनौटको दास रहेका छैनौं । मिसिगनका मानवशास्त्री मार्शल शाहलिन भन्नुहुन्छ–‘मानव समाजको सबभन्दा ठूलो विकास शक्ति प्रत्यक्ष नियन्त्रणबाट मुक्ति पाउनु नै थियो ।’ (साइन्टीफिक अमेरिकन, सेप्टेम्बर १९६०, पृ. ७७) । ‘शरीर नै स्वास्नीमानिसको पूर्व निर्धारित भाग्य हो’ भन्ने मिथ्या तर्कलाई ध्वस्त पार्ने शुरुवातको बिन्दु यहीं हो । यस प्रचारको प्रारम्भिक मान्यताबाट शुरु गर्दै अब हामी ती पक्षहरुलाई केलाऔं जसलाई मैले स्त्री जातिको हीनतासम्बन्धी ‘गर्भाशय सिद्धान्त’ भनेकी छु ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij