बुटवल । बुटवलको देवीनगरमा सञ्चालित सांस्कृतिक कार्यक्रम सहितको महामेला हावाहुरी र वर्षाका कारण एक दिन स्थगित भएपनि मंगलबारदेखि पुनः सञ्चालन भएको छ ।
मेला उद्घाटन भएको अर्को दिन सोमबार दिउसो आएको हावाहुरी र वर्षाले महामेलामा क्षति पु¥याएपछि सोमबार दिउसोदेखि मंगलबार दिउसोसम्म मेला रोकिएको थियो ।
तर मंगलबार दिउसोदेखि महामेला पुनः सञ्चालनमा आएको आयोजक फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिका अध्यक्ष गोविन्द भुसालले जानकारी दिए ।
मंगलबार दिउसोदेखि नै स्थानीय कलाकारहरुको प्रस्तुति शुरु भएको र सांझ चर्चित र्यापर माइला लगायतका कलाकारको प्रस्तुति रहेको सास्कृतिक कार्यक्रम संयोजक दिपेन्द्र न्यौपानेले बताए ।
महामेलामा स्थानीय र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति सहितले विविध सांस्कृतिक कार्यक्रमले दर्शकलाई आकर्षित गरेको र सांझको समयमा दर्शकहरुको उत्साहजनक उपस्थिति हुने गरेको आयोजकले जनाएका छन् ।
चैत १ गते शुरु भएको महामेला चैत २४ गतेसम्म सञ्चालन हुने बताउंदै आयोजक संस्थाका अध्यक्ष गोविन्द भुसालले बुटवल बजारलाई चलायमान बनाउने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ महामेला आयोजना गरिएको बताए ।
महामेलामा हरेक दिन राष्ट्रिय र स्थानीय कलाकारको विशेष प्रस्तुति रहने र मुख्य आकर्षणको रुपमा ब्रुज खफिफा, सिंह दरबार, धरहरा, बुद्ध मूर्तिलगायत लुम्बिनीको झल्को दिनेगरी संरचना बनेका अध्यक्ष भुसालले बताए । महामेलामा जलपरी, जोडी डान्ससहित, बाल उद्यान, सर्कस , टिकटक प्रतियोगिता तथा नृत्य प्रतियोगिता आयोजना गरिने उनले बताए ।
मेलामा विभिन्न प्रकारका १२० वटा स्टल रहेका छन् । मेला अवधिभर करिब ५ लाख दर्शक आउने र १ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महामेलाका मुल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले बताए ।
मेलाको संरक्षकमा बुटवल उपमहानगर पालिका रहेको छ ।




