बुटवल। सूचना प्रविधि क्षेत्रमा विद्यार्थीहरूको रुचि र सीप विकास गर्ने उद्देश्यले बुटवलमा “प्रदेश स्तरीय कोडिङ, गेम डेभलपमेन्ट तथा एनिमेसन प्रतियोगिता–३.०” सम्पन्न भएको छ।
पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा बुटवलको देवीनगरस्थित गर्गी एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिता डिजी स्कुल लुम्बिनी, स्मार्ट आईटी सोलुसन लगायतका संस्थाहरूको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रममा एनिमेसन, पाइथन कोडिङ तथा गेम डेभलपमेन्ट गरी तीन विधामा प्रदेशभरका विभिन्न विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिताअन्तर्गत एनिमेसन मेकिङतर्फ सम्राट डुम्रे (बुद्ध पब्लिक मोन्टेसरी, देवदह) प्रथम, सोनिश अधिकारी (सिद्धार्थ मोडर्न स्कुल, फर्साटीकर) द्वितीय तथा अनमोल श्रेष्ठ (न्यू होराइजन इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल) तृतीय भए। त्यस्तै, एप्लिकेशन डेभलपमेन्ट (पाइथन) तर्फ प्रवेश खनाल (न्यू होराइजन इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल) प्रथम, प्रणव न्यौपाने (सुनगाभा पब्लिक स्कुल, मुर्गिया) द्वितीय तथा बाबुराम कँडेल (चैतन्य पाठशाला, राप्ती उपत्यका, दाङ) तृतीय स्थान हासिल गर्न सफल भए।
यसैगरी गेम डेभलपमेन्टतर्फ शिवानी बिष्ट (सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल, पाल्पा) प्रथम, अविनव ज्ञवाली (न्यू होराइजन इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल) द्वितीय तथा दिव्यम सुवेदी (सिद्धार्थ मोडर्न स्कुल, फर्साटीकर) तृतीय भएका छन्।
प्रतियोगिताका प्रत्येक विधाका विजेताहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा डिजी स्कुल लुम्बिनीका एकेडेमिक हेड बद्री पोखरेलले विद्यार्थीले सिकेका ज्ञानलाई व्यवहारिक सीपमा रूपान्तरण गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। उनले भविष्यमा विद्यार्थीको मूल्यांकन व्यवहारिक ज्ञान र सीपका आधारमा हुने भएकाले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
साथै डिजी स्कुलले युकेमा विकसित पाठ्यक्रमलाई स्थानीय सन्दर्भमा व्यवस्थापन गर्दै व्यवहारिक सिकाइमा आधारित प्रणाली विकास गरिरहेको जानकारी दिए।
उक्त अवसरमा पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष गोमा भट्टराई, निवर्तमान अध्यक्ष सन्तोष बञ्जाडे, सचिव रुद्र प्रसाद खनाल, उपाध्यक्ष गौरव खनाल लगायतले प्रविधिमैत्री शिक्षाको आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।




