बुटवल । क्यू एफ एक्स सिनेमा हल बुटवलमा फिल्म हेर्ने दर्शकले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन् ।
केबलकारले आफ्नो बजार प्रवद्र्धनका लागि विभिन्न व्यवसायिक प्रतिष्ठान, शैक्षिक र सामाजिक संघसंस्थाहरुसंग निरन्तर छुट सम्झौता गर्दै आइरहेको छ ।
सोही क्रममा बुटवलको भाटभटेनी सुपर मार्केटको माथिल्लो तलामा सञ्चालित क्यू एफ एक्स सिनेमा हलसंग बुधबार सम्झौता गरेको हो । सम्झौता अनुसार क्यू एफ एक्समा फिल्म हेर्न टिकट काट्दा प्रत्येक दर्शकले एउटा छुट कुपन प्राप्त गर्नेछन् ।
उक्त कुपन लिएर आएमा दर्शकहरुले लुम्बिनी केबलकारको रु. ७५० दरको टिकटमा २० प्रतिशत छुट पाउने छन् । सम्झौतापत्रमा केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजू तथा क्यू एफ एक्सका तर्फबाट बुटवल शाखा प्रबन्धक महेश्वर गिरीले हस्ताक्षर गरेका केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए ।
सम्झौता अनुसार क्यू एफ एक्समा पाइने उक्त कुपन २ महिनाभित्र लिएर आउने ग्राहकले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।
यस्तै क्यू एफ एक्सका सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुले पनि केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।
क्यू एफ एक्सका बुटवल शाखा प्रबन्धक महेश्वर गिरीले लुम्बिनी केबलकारमा छुट पाउने सम्झौताले सिनेमा हेर्न आउने दर्शक लाभान्वित हुने बताए ।
केवलकारको माथिल्लो स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा मन्दिर,जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ, बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हललगायत धार्मिक र पर्यटकीय संरचना बनेकाले पर्यटकलाई दिनभर घुम्ने र रमाउने वातावरण बनेको छ ।
विश्वकै लोकप्रिय, अत्याधुनिक र सुरक्षित प्रविधियुक्त लुम्बिनी केबलकार प्रदेशको पहिलो र नेपालको दोस्रो लामो केबलकार हो । केवलकारले जन्मदिनमा निःशुल्क यात्रा, हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघसंस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्धन गरिरहेको छ ।




