पाल्पा
पाल्पामा डेंगी तथा जापानिज इन्सेफलाइटिसका रोगीहरु बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले किटजन्य रोगहरुको परीक्षण कार्य शहरदेखि गाउँ गाउँमा पु¥याएपछि रोगीहरुको संख्यामा वृद्धि भएको हो । विगत ४ वर्षको अवधिमा पाल्पामा १ हजार ३ सय २७ जनामा डेंगी सक्रमण भएको र ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सन २०२१ देखि २२ मा डेंगीका १६ जना बिरामी रहेकोमा सन २०२२ देखि २३ सम्म २३१ जना, २०२३ देखि २४ सम्म ६६६ जना र सन २०२४ देखि २५ मा ४१४ जना बिरामी रहेका थिए । सन २०२३ देखि २४ मा ४ जना पाल्पा र १ जना बाहिरी जिल्ला गरी ५ जनाको डेंगीबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका वरिष्ट ल्याव टेक्निसीयन अधिकृत मधुसुधन भट्टराईले बताए ।
गर्मीयाम सुरु भएसँगै डेंगी तथा जापानिज इन्सेफलाइटिस जस्ता लामखुट्टेबाट सर्ने सरुवा रोगको जोखिम बढ्दै गएकोले समयमै रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य कार्यालय पाल्पााले सरोकारवाला निकायसँग अन्तत्र्रिmया तथा छलफल कार्यक्रम गरेको छ । स्वास्थ्य कार्यालयका वरिष्ट ल्याव टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले डेंगी मुख्यतः एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ, जुन सफा पानी जमेको स्थानमा बढी फैलिने बताए । उनले डेंगी लागिसकेपछि उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुखाइ, शरीर दुख्ने तथा केही अवस्थामा रगत बग्ने जस्ता गम्भीर लक्षण देखिन सक्ने जनाए । घरवरिपरि सफा राख्ने, पानी जम्न नदिने, डेंगीको लक्षण देखिएपछि तुरुन्त स्वास्थ्य संस्थामा जान ल्याव अधिकृत भट्टराईले आग्रह गरे ।
विगत ४ वर्षको अवधिमा पाल्पामा जापानिज इन्सेफलाइटिसबाट १ जनाको मृत्यु भएको छ । सन २०२५ मा ४ जनामा यो रोग देखिएको छ । रैनादेवी छहरा गाउँपालिकामा १ जना, तिनाउ गाउँपालिकामा १ जना, बगनासकाली गाउँपालिकामा १ जना र रामपुर नगरपालिकामा १ जनामा जापानिज इन्सेफलाइटिस रोग देखिएको स्वास्थ्य कार्यालय पाल्पाका क्षय कुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेले बताए । जापानिज इन्सेफलाटिसे रोग पनि लामखुट्टेको टोकाइबाट सर्ने र विशेषगरी धानखेती हुने क्षेत्र तथा खेतिपाती हुने स्थानका मानिसहरू बढी जोखिम रहेको बताए ।
घरपालुवा जनावर सुगुर बंगुर, हाँस, बकुल्लालगायतका जनावरमा हुने जापानिज इन्सेफलाइटी भाइरस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो रोगले मस्तिष्कमा असर गर्ने भएकाले ज्वरोसँगै टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने तथा स्नायु प्रणालीमा समस्या देखिने जस्ता लक्षणहरू देखा पर्न सक्ने र समयमै उपचार नपाएमा अपाङ्गता वा मृत्यु समेत हुन सक्ने भएकाले यसको रोकथाममा विशेष ध्यान दिन आवश्यक रहेको क्षयरोग तथा कुष्ठरोग अधिकृत न्यौपानेले बताए । अहिले नेपालका ६० जिल्ला यो रोग फैलिएको छ । सन २०१६ देखि नेपाल सरकारले यो रोगबाट बच्न जन्मेको एक वर्षमा निःशुल्क खोप सेवा दिँदै आएको छ । सन २०१६ भन्दा पहिले जन्मिएका व्यक्तिहरुमा जापानिज इन्सेफलाईटिस सक्रमणको दर उच्च रहेको छ ।
सरुवा रोग नियन्त्रणका लागि सचेतना, सावधानी र समुदायस्तरमा जागरण अत्यन्त महत्वपूर्ण रहेको, घर वरपर पानी जम्न नदिने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, विस्तरामा झुलको प्रयोग गर्ने तथा सरसफाइमा ध्यान दिने जस्ता उपाय अपनाएर लामखुट्टेको टोकाइबाट लाग्ने रोग नियन्त्रण गर्न सकिने स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए ।
अबका दिनमा जिल्लाको १० वटै पालिका सरकारसँग समन्वय र सहकार्य गरेर , ८१ वटै वडा, विद्यालय, विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रदेखि घर घरमा लामखुट्टको फूल लार्भा खोज र नष्ट गर अभियानसंगै लामखुट्टको टोकाइबाट बच्ने र बचाउने सचेतनाका कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।




