२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आफूलाई सुधार्दै अघि बढौं

आफूलाई सुधार्दै अघि बढौं

आफूलाई सुधार्दै अघि बढौं

आफूलाई सुधार्दै अघि बढौं

आफूलाई सुधार्दै अघि बढौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • टेकराज पौडेल 

    भर्खर सम्पन्न निर्वाचनले नेपालको राजनीतिक समीकरणलाई एकाएक उल्ट्याइदिएको छ । नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताको केन्द्रतर्फ उन्मुख हुँदा परम्परागत दलहरू—विशेषतः नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र मधेशवादी दलहरू समेत–अप्रत्यासित रूपमा कमजोर बनेका छन् । लोकतन्त्रमा जनादेश नै अन्तिम सत्य हो । त्यसैले यो परिणामलाई भावनात्मक प्रतिक्रिया वा आरोप–प्रत्यारोपको आँखाले होइन, गम्भीर आत्मसमीक्षा र राजनीतिक विश्लेषणको दृष्टिले बुझ्नु आवश्यक छ । नेपाल अहिले जटिल भूराजनीतिक वातावरणको बिचमा उभिएको देश हो । विश्व शक्तिहरूको प्रतिस्पर्धा, कूटनीतिक प्रभाव, आन्तरिक सत्ता संघर्ष, आर्थिक असन्तोष र नयाँ पुस्ताको राजनीतिक अपेक्षा–यी सबै तत्वहरूले अहिलेको राजनीतिक परिणामलाई आकार दिएका छन् । यससँगै डिजिटल युगले राजनीतिमा नयाँ आयाम थपेको छ, जहाँ वास्तविकता भन्दा ‘धारणा निर्माण’ ( Narrative Building)  कहिलेकाहीँ अझ शक्तिशाली बन्न पुगेको छ ।


    एमालेको हार : बाह्य कारण मात्र होइन, आन्तरिक कमजोरी पनि हो :– कुनै पनि राजनीतिक पराजयको जड अन्ततः आफ्नै कमजोरीमा खोज्नुपर्छ । एमालेको हारलाई केवल बाह्य प्रचारयुद्ध, डिजिटल आक्रमण वा षड्यन्त्रको परिणाम मात्र ठान्नु अपूरो विश्लेषण हुनेछ । ती तत्वहरू प्रभावकारी अवश्य थिए, तर पार्टीभित्रका संरचनागत कमजोरीहरू र संस्थागत हुनु पर्ने निर्णय पनि उत्तिकै जिम्मेवार देखिन्छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवाद, स्वाभिमान र राष्ट्रिय हितको प्रश्नमा दृढ अडान लिने नेता हुनुहुन्छ । “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय दृष्टि पनि उहाँकै नेतृत्वमा स्थापित भएको हो । राष्ट्रिय स्वाभिमानका मुद्दामा उहाँले देखाएको साहसिक अडानले एमालेको राजनीतिक पहिचानलाई सुदृढ बनाएको तथ्य अस्वीकार गर्न सकिँदैन । तर यति बलियो इतिहास बोकेको पार्टी पछिल्लो समय किन निरन्तर राजनीतिक धक्काहरू भोगिरहेको छ भन्ने प्रश्नको इमानदार समीक्षा अपरिहार्य छ । पछिल्ला वर्षहरूमा पार्टीभित्र निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत भएको, उम्मेदवार चयनमा संस्थागत छलफलभन्दा नेतृत्वको तजबिज प्रभावशाली भएको आलोचना व्यापक रूपमा उठेको छ । 


    लामो समयदेखि पार्टी निर्माणमा योगदान दिएका कार्यकर्तालाई पाखा लगाएर नवप्रवेशीलाई प्राथमिकता दिने प्रवृत्ति र टिकट नपाएकाहरूलाई अपमानित महसुस हुने वातावरण सिर्जना हुनु संगठनात्मक दृष्टिले स्वस्थ संकेत होइन । कम्युनिस्ट आन्दोलनको मूल आधार सामूहिक नेतृत्व र लोकतान्त्रिक अभ्यास हो । तर व्यवहारमा गुटबन्दी, कृपावाद र व्यक्तिगत निष्ठालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको आरोप कार्यकर्ता पंक्तिमै सुनिन्छ । कतिपय अवस्थामा क्षमता र योगदानभन्दा “आफ्नो मान्छे” निर्माण गर्ने संस्कार बलियो भएको देखिन्छ । महाधिवेशनदेखि संगठन विस्तारसम्म प्यानल राजनीति र गुटीय प्रतिस्पर्धाले पार्टीभित्रको ऊर्जा सकारात्मक दिशातर्फ केन्द्रित हुन सकेको छैन । सामाजिक असन्तोषका संकेत–यस निर्वाचनमा एमालेले बौद्धिक तथा शैक्षिक क्षेत्रबाट अपेक्षित समर्थन प्राप्त गर्न सकेन । लामो समयसम्म चलेको शिक्षक आन्दोलनप्रति सरकारको कठोर भाषा र बेवास्तापूर्ण व्यवहारले शिक्षक तथा बौद्धिक वर्गमा असन्तोष बढाएको थियो । यस्ता वर्गहरू तुरून्त प्रतिक्रिया नदिए पनि समय आउँदा राजनीतिक रूपमा आफ्नो असन्तोष प्रकट गर्छन् । त्यसैगरी गुठी विधेयकको प्रसंग पनि स्मरणीय छ । काठमाडौं उपत्यकाको सांस्कृतिक र धार्मिक संरचनासँग प्रत्यक्ष सम्बन्धित विषयमा पर्याप्त संवादबिना विधेयक ल्याइँदा व्यापक विरोध भयो । सरकार अन्ततः विधेयक फिर्ता गर्न बाध्य भयो, तर त्यसले सिर्जना गरेको अविश्वास पूर्णरूपमा मेटिएको देखिँदैन । 


    डिजिटल राजनीति र डायस्पोराको प्रभावः–आजको राजनीति केवल सभामञ्चमा सीमित छैन । फेसबुक, युट्युब, टिकटकजस्ता डिजिटल प्लेटफर्महरू एल्गोरिदमद्वारा सञ्चालित छन्, जसले विवादास्पद वा भावनात्मक सामग्रीलाई तीव्र गतिमा फैलाउँछन् । परिणामस्वरूप तथ्यभन्दा धारणा निर्माण राजनीतिक प्रतिस्पर्धाको प्रमुख माध्यम बन्दै गएको छ । संगठित डिजिटल अभियान, ट्रोल संस्कृति र लक्षित प्रचारले जनमतलाई छिटो प्रभावित गर्न सक्छ । संगठनात्मक संरचनामा आधारित परम्परागत दलहरूले यो नयाँ डिजिटल युद्धक्षेत्रलाई समयमै आत्मसात गर्न नसक्दा जनमत निर्माणको प्रतिस्पर्धामा पछि परेको देखिन्छ । यससँगै विश्वभर फैलिएको नेपाली डायस्पोरा समुदाय पनि अहिले नेपालको राजनीतिक बहसमा सक्रिय सहभागी बनेको छ । सामाजिक सञ्जालमार्फत् हुने अभियान, विचार निर्माण र राजनीतिक टिप्पणीहरूले देशभित्रको वातावरणलाई प्रभावित पारिरहेका छन् । एनआरएन नागरिकता, विदेशबाट मतदानको अधिकार, वैदेशिक रोजगारीका समस्याहरू जस्ता मुद्दाहरू लामो समयसम्म समाधान हुन नसक्दा डायस्पोराको ठूलो हिस्साले परम्परागत दलहरूप्रति निराशा व्यक्त गरेको देखिन्छ ।


    विचार र व्यवहारबिचको दूरीः–-नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक आधार बलियो छ । जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक अभ्याससँग जोड्दै जनतामाझ स्थापित गरेको थियो । तर पछिल्लो समय विचार र व्यवहारबिच दूरी बढेको आलोचना बढ्दै गएको छ । पार्टीभित्र त्याग र बलिदान गरेका कार्यकर्ताभन्दा नेताका नजिकका व्यक्तिहरूले बारम्बार अवसर पाउने, क्षमतावान कार्यकर्तालाई पाखा लगाइने, र नेतृत्व नै दलाल तथा बिचौलियाहरूको घेराबन्दीमा परेको देखिने जस्ता घटनाहरूले आन्दोलनको नैतिक बल कमजोर बनाएको छ । त्यसमाथि केही नेताहरूको जीवनशैली-महँगा होटल, महँगा गाडी र शक्ति प्रदर्शन—साधारण कार्यकर्ता र जनताको मनोविज्ञानसँग मेल नखाने देखिन्छ । कम्युनिस्ट आन्दोलनको मूल दर्शन सादगी र जनसरोकारमा आधारित हो; तर व्यवहार त्यसको विपरीत देखिँदा जनविश्वास डगमगाउन थाल्छ । सुधारको बाटोयस अवस्थाबाट बाहिर निस्कने एक मात्र बाटो इमानदार आत्मसमीक्षा हो । नेतृत्वले निर्णय प्रक्रियालाई अझ सामूहिक, पारदर्शी र संस्थागत बनाउनुपर्छ । आलोचना र बहसलाई दमन गर्ने होइन, सुधारको साधनका रूपमा स्वीकार गर्ने संस्कार विकास गर्नुपर्छ । 


    त्यसैगरी कार्यकर्ताले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । चुनावका बेला अन्तर्घात गर्ने, संगठनात्मक निर्णय नमान्ने, व्यक्तिगत स्वार्थका लागि गुट निर्माण गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाउँछ । कार्यकर्ता फेरि जनताको बीचमा फर्किनुपर्छ–गाउँ, टोल र समाजको वास्तविक पीडा बुझ्नुपर्छ । राजनीतिमा हार अन्तिम सत्य होइन । हारबाट सिक्ने क्षमता नै भविष्यको विजयको आधार हो । एमालेजस्तो ऐतिहासिक आन्दोलनले आत्मसमीक्षा, संगठनात्मक शुद्धीकरण र वैचारिक पुनर्जागरणको बाटो समातेमा पुनः उभिने सम्भावना अझै समाप्त भएको छैन । प्रश्न एउटै छ–के हामी आफ्ना कमजोरी स्वीकार गरेर फेरि उठ्ने साहस राख्छौँ ?

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij