सधैं चर्को भाषण, विपक्षप्रति तिखो कटाक्ष र गाली गलौज गर्दै राजनैतिक मैदानमा सशक्त उपस्थिति जनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वर अहिले बदलिनु सकारात्मक छ । प्रतिनिधिसभाको चुनावमा झण्डै दुई तिहाई नतिजा ल्याएपछि उनले विपक्षलाई तिखो कटाक्ष होइन्, संयमित र सन्तुलित अभिव्यक्ति दिएर जिम्मेवार बनेका छन् । निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले अराजक, अशिष्ट नबनी मर्यादित बन्न र जनताका समस्याप्रति गम्भीर बन्न सचेत गराएका छन् ।
चुनावअघि उनी आक्रामक सुनिए । चुनावी अभियानका क्रममा उनको आक्रोश झनै चुलियो । चुनावमा नतिजा आफ्नो पक्षमा आएपछि उनी विनम्र सुनिए । चुनावमा बहुमत प्राप्त गरेको दलको सभापति विनम्र सुनिनुको अर्थ हो, उनलाई जिम्मेवारीले थिचेको छ । लामिछानेले राजनैतिक दल खोलेर राजनीतिमा आएको तीन वर्ष पुग्यो । त्यसअघि उनी सञ्चारकर्ममा थिए । सञ्चारकर्ममा हुँदा उनको काम प्रश्न गर्ने थियो । राज्यसंयन्त्रमा भएका विकृति र विसंगतिप्रति निरन्तर प्रश्न गरे । त्यसपछि पार्टी खोलेर राजनीतिमा आएको छोटो समयमा चुनावमा उम्मेदवारी दिए, चुनाव जिते, उनी आफू मात्रै जितेनन्, उनको पार्टीले २० सीट जित्न सफल भयो । यही सीटको आधारमा उनी पटक–पटक सरकारमा सामेल भए । जेनजी विद्रोहपछि बदलिएको परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई नजिकको नतिजा ल्याएपछि अब उनले गरेका प्रश्नको उत्तर दिने ठाउँमा आइपुगेका छन् । अब अरु कसैप्रति गरेका प्रश्नको उत्तर उनी आफैँले दिनुपर्नेछ । अब उनी समस्याको उठान होइन्, समाधानको विकल्प दिनुपर्नेछ, तसर्थ उनी विनम्र बन्नु, अरुका कुरा सुन्नु र सकारात्मक बन्नु स्वभाविक छ । राज्य सञ्चालनको पार्टीको प्रमुख विनम्र बन्दा मुलुकमा राम्रो राजनैतिक संस्कारको विकास हुन्छ । आक्रोश, कुण्ठा र निराशाले व्याप्त समाजलाई सही लयमा लैजान मुलुकमा सकारात्मक सोंचाइ विकास गर्दै असल राजनैतिक संस्कारको विकास गर्न आवश्यक छ ।
विजयको उन्मादले समस्या समाधान गर्दैन, बरु उन्मादले विनाश मात्रै निम्त्याउँछ । उन्मादले निम्त्याउने विनाशप्रति सचेत हुँदै नम्र बन्न, अरु दलका नेताको योगदान र त्यागको सम्मान गर्न, नागरिकको घरदैलोमा निरन्तर पुग्न र आफ्नो निवार्चन क्षेत्रमा बजेट लैजान अनावश्यक दौडधुप नगर्न, सांसद भएपछि यही विषयसँग सम्बन्धित विषयहरू अध्ययन गर्न, सकेसम्म सरकारी अस्पतालमा उपचार गर्न, गुटबन्दी नगर्न, मिडिया ट्रायल नगर्न सांसदहरुलाई सचेत गराएर उनले प्रशंसनीय काम गरेका छन् ।
उनको यो प्रयासले समाजमा आशा जगाउने काम त गरेको छ, तर जागेको आशालाई व्यवहारमा कार्यान्वयन गर्दै नतिजा दिन धेरै काम गर्न बाँकी छ, त्यसका लागि दिनहुँ र हरेक पल उनको परीक्षण हुनेछ । रास्वपाको अभिमुखीकरणमा रविले सकारात्मक सन्देश दिइरहँदा भावी प्रधानमन्त्री बालेन्द्र साहको अनुपस्थितिले केही प्रश्न जन्मिएका छन् । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने हो, संसदीय दलको नेता सांसदहरुको अभिमुखीकरणमा अनुपस्थित भएर पार्टी सभापतिले दिशानिर्देश गर्नुको जवाफ दिनुपर्छ । हरेक विषयप्रति जवाफदेही बन्न सक्दा नै जनताबाट विश्वास कायम हुनसक्छ ।




