लुम्बिनी प्रादेशिक अस्पतालले संस्थागत क्षमता विस्तार र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन निरन्तर पहलकदमी लिएको छ । कुनै बेला लुम्बिनी प्रादेशिक अस्पताल भन्ने बित्तिकै एक शैयामा तीन जना राखेर उपचार गरिन्छ भन्ने चर्चा हुन्थ्यो, अहिले सरकारी अस्पताल हुनु त यस्तो पो भन्ने चर्चा हुने गरेको छ । सरकारले योजनाबद्ध पहलकदमी लिए सुधार गर्न मात्रै होइन्, गुणात्मक फड्को मार्न सकिन्छ भन्ने एउटा उदाहरण हो ।
अहिले लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शैया क्षमताको अत्याधुनिक अस्पताल भवन बन्दैछ । यो भवन बनेपछि अस्पतालको उपचार सेवा विस्तारले गुणात्मक फड्को मार्नेछ । यद्यपी पूर्वाधार संरचना निर्माणसँगै मानव संशाधन, जिम्मेवारीबोध र सेवाभावले समेत अस्पतालको सेवा प्रवाहमा प्रभाव पार्छ । केही वर्षअघिसम्म आकस्मिक कक्षमा एउटा शैयामा तीन जना बिरामी राखेर उपचार गरिन्थ्यो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ । शल्यक्रिया कक्षमा एकैपल्ट धेरै जना बिरामीको शल्यक्रिया गर्न सकिन्छ । जेष्ठ नागरिकको उपचारको लागि सहुलियतको सुविधा, विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह, अस्पतालको फार्मेसी हुँदा बाहिर औषधि किन्न जानुनपर्ने, अस्पतालको चमेनागृहमा गुणात्मक सुधार जस्ता कामले अस्पताले सकारात्मक छवि निर्माण गरेको छ । आइसीयु सेवा विस्तार भएको छ । ६ शैयाको आइसीयु अहिले विस्तार भएर ४० शैयामा पुगेको छ । सिटिस्क्यान मेशिन जडान भएसँगै बिरामीले ठूलो राहत पाए, अहिले एमआरआइ सेवा सुरु भएको छ ।
रात्रिकालीन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन रात्रिकालीन उपचारमा सहजीकरण गर्ने छुट्टै कर्मचारी व्यवस्थापन गरिएको छ । रात्रिकालीन सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन समन्वयका लागि छुट्टै अधिकृत तोकेर अस्पताल प्रशासनले अहिले भइरहेको समन्वयको अभावलाई हटाएर चुस्त बनाउन खोजेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको सुधार एउटा आशालाग्दो प्रयास हो । लुम्बिनी प्रदेश सरकारले प्राथमिकता दिएर अस्पतालको पूर्वाधार विकास र सेवा प्रवाह सुधार अघि बढाएको छ । संघीय शासन प्रणालीप्रति समाजमा सकारात्मक छवि निर्माण यस्तै कामले गर्ने हो । अस्पतालको नेतृत्वको इमान्दारीपूर्वक मिहिनेतले सरकारको लगानीको प्रतिफल देखिन थालेको छ ।
अस्पताल १२ सय शैयामाविस्तार हुँदा यो राजधानी बाहिरको ठूलो विशेषज्ञ सेवासहितको अस्पताल बन्दैछ । अस्पतालको पूर्वाधार जति राम्रो बन्दैछ, गुणस्तरीय उपचारका लागि मानव संशाधनको प्रयोगमा अहिलेदेखि नै समन्वय आवश्यक छ । अस्पतालको सेवा थपिंदै जाँदा गुणस्तरीय सेवा प्रवाहको अपेक्षा पनि उत्तिकै हुन्छ । गुणस्तरीय सेवा प्रवाहका लागि लुम्बिनी प्रादेशिक अस्पताल अग्रणी बन्दा अरुका लागि पनि अनुकरणीय हुनेछ ।




