एच.के. श्रेष्ठ
विश्वमै अविकल्पहरू मध्यको विकल्प पुष्टि हुँदै आएको निर्वाचन (फागुन २१)सम्पन्न भइसकेको छ । देशभर बजेको घन्टीले पुराना राजनीतिक दलहरुलाई शक्ति र सत्ताबाट आउट र नयाँ रास्वपालाई ‘इन’ गराएको छ । २०८२ भदौ २३÷२४ को चमत्कारी घटना जस्तै अहिले मत परिणाम भएको छ । लगभग एकोहोरिएर अन्धधुन्द रास्वपाको घन्टीमा खनिएका मत परिणामले पुराना राजनीतिक दलका गढहरु भत्काइदिएका छन् । किल्लाहरू उखेल्दिएका छन् । लाल, बाम र कांग्रेस किल्लाहरूको निशाना नै मेटिदिएको छ । विरासतहरू संकटको हिरासत हुन पुगेका छन् । हस्तीहरू अब अस्ति (भूत)को रूपमा छन् । राजनीतिक ठेकेदारहरूको टेन्डरमा प्रतिबन्ध लागेको छ । अति भएपछि खति भएको छ । ‘अति गर्नु अतिसार नगर्नु’ को चोटिलो सन्देश पुराना दलहरूलाई दिलाएका छन् । मतदाताहरूले चरम बदला लिएका छन् । ती दलहरूको स्वर्गको राज्यलाई ध्वस्त पारिदिएका छन् ।
मत विश्लेषण :
यो चुनावी मत परिणाम नचिताएको छ । मतदाताहरूले ऐतिहासिक घटना दर्ज गरे । राजनीतिक दलहरूमा अपरिवर्तनीय दलीय संविधानका कार्यकर्ताहरू बाहेक अरुको भोट परेन । यो चुनावमा आवेग, आक्रोश, रिस, घृणा, बदला र झुकाइदिने कला प्रदान देखियो । पुराना दलहरूलाई कुनैलाई न्याय गर्ने पक्षमा सोचेको देखिएन । विचार, विमर्श, छलफल र विवेक पुराना दलहरूको हकमा निषेध जस्तो देखियो । रास्वपा पार्टी प्रति चिनजान साइनो विज्ञता बिना पनि खन्याइदिए मत । रास्वपाको उम्मेदवार नै नभएको ठाउँमा पनि घन्टीमै दिए मत । रास्वपाको उम्मेदवारलाई केलाउने, गहिराइमा अध्ययन गर्ने, अनुसन्धान गर्ने र यथार्थ बुल्ने तिरै लागेनन् । उम्मेदवारको योग्यता, क्षमता, कार्यकुशलता, आदिप्रति बिना मतलब भोट हाले । बदला प्रदान देखियो । यो चुनावमा कुनै घोषणापत्रको मतलब गरेर, अध्ययन गरेर, स्वीकार, अस्वीकार र लेखाजोखा गरेर मत दिएको होइन । एकोहोरो घन्टी मात्र बजाइएको देखियो । कुनै दलका कुरा, आश्वासन, प्रतिज्ञापत्र, घोषणापत्र आदिको सुनवाइ नै गरिएन । कुनै दलका पुस्ता वा नेतृत्व परिवर्तनको मतलब नै राखेको देखिएन । उनीप्रति कुनै विश्वास नै नभएको यो चुनावी मत परिणामले पुष्टि ग¥यो ।
एकलौटी रास्वपा केन्द्रित नतीजाले पुरानो दलहरूमा बज्रपात भएको छ । नेतृत्वहरूमा प्रश्नको पहाड खडा गरिदिएको छ ।
नेतृत्वहरू आफूले आफैँलाई त्याग्ने बनाइदिएको छ । झन् आन्तरिक द्वन्द्वको मुस्लो सल्काइदिएको छ । एकआपसि दोषारोपण दन्काइदिएको छ । पूर्व स्थापित दलीय मूल्य, मान्यता, संस्कार, सभ्यता आदिलाई चकनाचुर गरिदियो । कुनै बाद, दर्शन, विचारधारा आदिप्रति ठूलै अवज्ञा देखियो । यो चुनावले पुराना दलले उठाएका जातीय, क्षेत्रीय, लिङ्गीय, भाषीय, दलित, मुस्लिम, आदिवासी जनजाति, मधेस इत्यादि सुत्रिय मान्यताहरु समेतलाई लत्याएको देखियो । माक्र्स, लेनिन, माओवादहरू, विचारधाराहरू, प्रजातान्त्रिक धारा, समाजवाद, बहुदलीय जनवाद आदि केही मान्यता र सम्झना समेत राखेको देखिएन । तसर्थ रास्वपालाई चेतन÷ अचेतन ढङ्गले जबरजस्ती मन पराइएको अवस्था हो ।
घन्टीमा अत्याधिक परेको मतले जनताले राजनीति गरेका होइनन् । घन्टीमा अत्यधिक मत परेको भन्दैमा पुराना दलहरूमा राम्रा पक्ष, राम्रा मान्छे , क्षमतावान र राम्रा नियतका कोही छैनन् भन्ने होइन । यसरी हेर्दा यो चुनाव परिणाम सबै सुझबुझ, विचार, विवेक, परिपक्क ज्ञान, ध्यान पूर्वकको नतिजा भन्न मिल्दैन । भाग्यलेसाथ दियो भन्दैमा कर्म सफल भएको ठान्न मिल्दैन । यो त बल्ल कर्मको परीक्षण मात्र हो । यो एक ढङ्गले दक्षिणपन्थीको दिशामा लागेको छ । ? रास्वपा छनौट के राजनीतिक छनौट हो ? के यो बाहिर भनिए जस्तै सुजबुजकै मत र छनौट हो ? के साँच्चै रास्वपाले जितेकै हो ? रास्वपा पार्टीलाई अत्यधिक मत विभिन्न कारणले परेको मात्र हो । रास्वपाको जित र हारको कसी त बाँकी नै छ । रास्वपा पार्टी परिपक्कता प्रमाणित हुनु पर्ने छ । यो पार्टी बन्न धेरै चुनौतीहरु र सर्तहरु पूरा गर्न बाँकी नै छ ।
पार्टी बन्ने सर्तको प्रश्न :
रास्वपा, घन्टी र बालेन–रवि त्यो पार्टीको पर्यायवाची जस्तो बनेको देखिन्छ । हावामा कुदिरहेको विश्व समाजको प्रभाव र प्रकृति नेपाली समाजमा पनि छ । पार्टी मान्छेको थुप्रोले बन्ने होइन । अल्गोरिदमको प्रभावले र डिजिटल माध्यमले बन्ने होइन । पार्टी फेसबुक र युट्युबको भिडियो, फोटो र फेक सामग्रीमा निकै ठूलो संख्याको लाइक, कमेन्ट र भ्युजले बन्ने होइन । जति धेरै यो शैलीले पार्टीको नाममा पार्टी बन्छ । उति धेरै खोक्रो भयो भनेर बुझे हुन्छ । यद्यपि मान्छेको भीडभाड हुनसक्छ ।
पार्टी वा राजनीतिक दल त सिद्धान्तले बन्छ । दर्शन र विचारको कडीले बन्छ । बौद्धिक, वैचारिकको कार्यनीति तथा रणनीतिले बन्छ । सही, परिपक्क विवेकका र क्रिटिकल ढंगले अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण गर्ने नेताहरुले वा नेतृत्वले बन्छ । पार्टी त्यही तहका कार्यकर्ताले बन्छ पार्टी । पार्टी बन्नलाई निकै ठूलो त्याग, तपस्या, लगानी र कठिन संघर्ष, खटाई र सिद्धान्त र दर्शनप्रतिको निरन्तर लक्ष्य चाहिन्छ । रास्वपा नामको पार्टीमा यो सर्तहरु पूरा गर्नु जरुरी छ । जनता, भूगोल, बस्ती, क्षेत्र, लिङ्ग, भाषा, समुदाय, संस्कृति, हावापानी, रहनसहन आदिसँग कहिल्यै कुनै अन्तरक्रिया नभएको मान्छेको सतही थुप्रोले पार्टी बन्दैन । ती पक्षहरूसँग परिचित नभएको, अनुभवले नखारिएको, सम्पर्क नभएको, देखाभेट नभएको संगठनले पार्टी बनिसकेको हुँदैन । यो कुनै अज्ञान ढंगले जम्मा भएको केही उद्देश्य प्राप्तको मनोविज्ञान बोकेको एउटा संगठन हुन सक्छ । अन्य पार्टीहरुका कमजोरीले, असन्तुष्टीले र विभिन्न कारणले अहिले ठूलै जमात यसमा देखिएको हुनु सधैँको नहुन सक्छ ।
राजनीतिक समालोचकहरुका अनुसार कुनै मूल्य मान्यता, नीति र दर्शनहरुको साझा सेटमा एकताबद्ध सदस्यहरु पार्टी निर्माणको सर्त हो । यो मान्यता नबोकेको रास्वपा केवल चुनावी संगठन भन्न मिल्दछ । एक पटक नयाँलाई हेरम, यो पटक पुरानो छोडम भनेको भरमा थुप्रिएका मान्छेका थुप्रो संख्याको बहुमत मात्र हो, समाधान नै हो भन्न सकिंदैन । देशको माटो, गाउँबस्ती वा भूगोलमा गएर समर्थक, शुभचिन्तक, कार्यकर्ता, नेता बनाउनको लागि खासै प्रक्रिया नै नचालेको दुःखै नगरेको, राजनीतिक अभ्यास नै नगरेको नामको पार्टीमा प्रश्न छ । प्राकृतिक प्रक्रियाबाट भएको जन्म र अप्राकृतिक वा आधुनिक मेसिनरी प्रक्रियाबाट र वा बतासे जन्म आकाश जमिन फरक हुन्छ । प्राकृतिक जन्ममा वंशाणु गुण हुन्छ । परम्पराको सुगन्ध हुन्छ । संस्कार हुन्छ ।
व्यवहार हुन्छ । धर्म, अनुशासन र सहिष्णुता हुन्छ । भावना, प्रेम, सम्मान हुन्छ । तर अप्राकृतिक जन्ममा केही मिल्दैन । यो क्षणिक आवेग, आक्रोश, बदलाभाव, आत्म भ्रम र अधैर्यता मात्र हुनसक्छ । रास्वपामा यही देख्छौं । कुनै आधारभूत राजनीतिक दुःख, अभ्यास, त्याग, प्रक्रिया र जनतासँगको लामो क्रियाकलापबिना स्रीप डिजिटल, मिडिया, एप्स र अल्गोरिदमको भरमा सुखै सुखको प्रक्रियाले मान्छेको थुप्रो लागेको छ । दुःखले आर्जेको धेरै टिक्छ । विवेक, बुद्धि, कठिन लगानी दीर्घकालीन हुन्छ । तर सजिलो र हावाको भरमा देखा परेको केही पनि टिक्दैन ।
मनोवैज्ञानिक प्रश्नः
सिग्मण्ड फ्राइडको मनोविश्लेषणात्मक थेअउरी अनुसार यो अचेतन र अर्धचेतन तहको थुप्रो र भीड हो । चेतन तहको अभाव देखिन्छ । कुनै ठोस आधारको किटानी निर्णयभन्दा पनि हचुवा अनुमान र अनुसारको भरमा देश, विदेशबाट समर्थन वर्षेको देखिन्छ । राजनीतिकभन्दा गैर राजनीतिकहरूको संगठन र एकता छ, यसमा ।
पार्टी सदस्य नै नभएकाहरुको पार्टी बनिरहेको छ, रास्वपा । पत्रकारिता गरेको, फिल्म खेलेको, प्राविधिकको रूपमा पेशा गरेको, कलाकार भएको, वैदेशिक रोजगारी गरेको, सामाजिक कारबाही भोगेका, अन्य दलहरुबाट कारबाही भएका, विभिन्न अवसरका अवसरवादीहरु आदिआदिले पार्टीको रूपमा रास्वपा संगठित र सञ्चालित छ । राष्ट्रिय राजनीतिक नेता र नेतृत्वमा खारिएको नेतृत्वको अभाव छ । हुन त पुराना भनिएका पार्टीहरूले पनि विचार सिद्धान्तबाट पलायन भएर पार्टी र पोलिटिक्स दुवै नभएको अवस्था हो ।
मनोवैज्ञानिक पक्षमा रास्वपाले यो प्रवृत्तिको मतलाई चित्त बुझाउन सक्नुपर्दछ । खास फ्राइडियन मनोविश्लेषण अनुसार अचेतन र अर्धचेतन तहले आवेग, आक्रोस र उत्तेजना बढी ग्रहण गर्दछ । छिटो नतिजा खोज्छ । तुरुन्तै माग पूराको चाहना राख्छ । विवेक कमजोर हुन्छ । अमेरिकन मनोविश्लेषक विलियम जेम्सको स्ट्रीम अफ कन्स्सस्नेस (चेतनाको प्रवाह) मनन्डले आधुनिक समाज ग्रसित छ । रास्वपाप्रतिको अत्याधिक मत यसैको परिणाम पनि हो । यो विशेषतामा बहुविकल्प, बहुस्रोत र बहुविचार र सोंचको भिडभाड मान्छेको दिमागलाई हुँइक्याइरहेको हुन्छ । अन्तरिम मनोवादले दिमागलाई आराम दिँदैन र अस्थिरतातिर लखेट्नि खोज्दछ । जसले तुरुन्तै नतिजाकै माग गर्दछ । तुरुन्तै विकल्प खोज्दछ । यो विशेषता र चरित्रको किचघान जमातले आँखा चिम्लेर सबै भरोसा रास्वपालाई सुम्पेको छ । तसर्थ यो जमात थेगिराख्न कठिन छ । त्यो विशेषतालाई सम्बोधन ढिलाइ गरे वा पूरा गर्न नसके आफैँलाई घातक र प्रत्युपादक निश्चित हुन्छ । भौतिक द्वन्द्वभन्दा आत्मगत, मानसिक र मनोवैज्ञानिक द्वन्द्व झन जटिल र खतरनाक हुनसक्छ ।
गुदी कुरा र सावधानी !
एउटा सामाजिक धारणात्मक मान्यता छ कि कुनै पनि व्यक्ति ह्वात्तै धनी भएको शुभ संकेत होइन । कोही ह्वात्तै उदाएको शुभ संकेत होइन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको आश्चर्यचकित ‘मत–विजय’ त्यस्तो नहोस् ! अहिले भन्न के मात्र सकिन्छ भने पुराना राजनीतिक दलहरूप्रति मतदान कर्ताहरूले आक्रोश घोप्टाएका हुन् । रिसिइबी साधेका हुन् । अत्याचारको बदला लिएका हुन् । सखाप पारेर पुराना दलहरूलाई हराएका हुन् । घण्टीलाई जिताएका कुरा दोस्रो हो । रास्वपाको चुनाव चिन्ह घन्टीमा अत्याधिक मत परेको हो । रास्वपा पार्टीलाई सबै मतदाताले चिनेकै छैनन् । रास्वपाको जित अहिले होइन, सरकार र सत्ताको यात्रापश्चात् थाहा हुनेछ । जब यो सत्तामा जान्छ, सरकार बनाउँछ । काम गर्न शुरु गर्छ । अनि थाहा लाग्छ जित र हार । देशलाई सही ढंगले हाँकेमा हुनेछ । मुलुकलाई काँचुली फेरेमा हुनेछ । जनताको दैनिक र उपभोग्य वस्तुहरूको सर्वसुलभ र सहज डेलिभरी दिएमा हुनेछ । सुशासनसहितको राजकाज सञ्चालनमा हुनेछ । नेपाली जनताको चाहानाअनुसार कुशल ढंगले सफल भयो भने बल्ल हुन्छ, यो दलको जित ।
यसर्थ अबको रास्वपा एकमना सरकार हिजोको कांग्रेसको एकमना, माओवादीको एकमना र वामपन्थीबिचको दुई तिहाई र कांग्रेस एमालेबिचको दुई तिहाई सरकार जस्तो नहोस् । घन्टी चिन्हको जित संख्याको मात्र जित नहोस् । निरर्थक भीडको जित नहोस् । श्रीप पुराना दलहरूप्रतिको क्षणिक आक्रोशको डस्टबिन रास्वपा नबनोस् । रास्वपा पुराना दलहरूलाई एकछिनको खुचिङ मात्र नबनोस् । यो चुनाव झन थपिने द्वन्द्व र समस्याको नयाँ अनुमोदन नहोस् । यो चुनाव पनि भ्रष्टाचारको गेट पास मात्र नहोस् । लोकतन्त्र केवल एलिट (उच्च विशिष्ट ,कुलिन वर्ग)को प्रतिस्पर्धात्मक सङ्घर्ष मात्रै नहोस् !
यो देशमा यसअघि पनि नजितेको पार्टी कुन छ त ? सबैले जितेकै हुन् । तसर्थ रास्वपा पनि अहिले जित्ने ठूलो कुरा होइन । टिक्ने ठूलो र महत्वपूर्ण कुरा हो । भोटको ठूलो थुप्रो बनाउनु महत्वपूर्ण कुरा होइन । त्यो कति टिक्छ , कति सफल हुन्छ र कति सार्थक र अस्तित्वमा रहिरहन्छ भन्ने प्रश्न महत्वपूर्ण हो । यसमा पार्टीको स्वरुपदेखि अन्य कमजोरीहरु र अभावहरु अवश्य छन् । तथापि सरकारमा परीक्षण हुँदैछ ।




