पाल्पा
लुम्बिनी प्रदेश सरकारको गौरवको सडक, प्रदेशको पहाडी जिल्ला जोड्ने सडक रामपुर कपुरकोटअन्तर्गत पाल्पाको हार्थाेक – बतासे खण्डमा सडक स्तरोन्नतिको काम सुरु भएको छ । प्रदेशकै गौरवको सडकअन्तरगत पाल्पाको हार्थाेक – छहरा क्षेत्रमा लामो समयदेखि स्तरउन्नति नहुँदा, धुलो र हिलोको समस्याले हैरान परेका स्थानीय बासिन्दाहरुमा काम सुरु भएपछि सहज यातायातको आशा पलाएको छ ।
चौतर्फी दबाब थेग्न नसकेपछि लुम्बिनी प्रदेश सरकारले ५ किलोमिटर सडक स्तरउन्नति गर्न बजेट विनियोजन गरी काम सुरु गरेको छ । काम सुरु भएको ३ महिनाको अवधिमा राम्रो काम भएपछि स्थानीयवासीमा सडक चाडो स्तरउन्नति हुनेमा आशा जागेको छ । लामो समयको पर्खाइपछि आएको बजेटलाई कार्य प्रगतीमा रुपान्तरण गर्न स्थानीयवासीहरु सक्रिय भएर लागेका छन् । सडक निर्माणको क्रममा आइपरेका समस्याहरु समेत स्थानीयस्तरबाटै समाधानले काममा सहयोग भएको छ । सडक स्तरउन्नतिको काम गर्दा स्थानीयवासी, पालिकाका जनप्रतिनिधिहरु समन्वय सहकार्य गरेर, काम भइरहेको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।
हार्थाेक– बतासे – छहरा खण्डमा अहिले सडक चौडा गर्ने, ठाउँ–ठाउँमा रिटेनिङ पर्खाल लगाउने र जग निर्माण गर्ने, बाटोको लेवर मिलाउने र नाली निर्माणको कामहरु भइरहेका छन् । सडकको मापदण्डमा पर्ने दायाँ–बायाँमा रहेको घर टहरा हटाएपछि कामले अझै गती लिने छ । सडक निर्माणको क्रममा आएका समस्याहरुलाई आपसी छलफल समन्वय र सहकार्यबाट समाधान गर्दै निधारित मितिमै काम सक्ने गरी कार्यालय लागिपरेको लुम्बिनी प्रदेश सडक यातायात पूर्वाधार निर्देशनालय बुटवलका वरिष्ट इन्जिनिय सूचना अधिकारी अरुण गुप्ताले बताए ।
हार्थाेक –बतासे खण्डको सडक स्तरउन्नतिको लागि यातायात पूर्वाधार निर्देशनालय बुटवलले २०८४ असोज २६ भित्र सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरेको छ । सडक स्तरोन्नतिका लागि १६ करोड ३१ लाख १- हजार रुपैयाँमा एमएस राजेश्वरी–रमानिया–आर एण्ड आर जेभीले काम गर्दै आएको छ । सडकमा गर्ने सबै काम द्रुत गतीमा भएका छन् । निर्माण कार्य सम्पन्न गर्ने मितिभन्दा ६ महिनाअघि नै काम सक्ने लक्ष्यका साथ सडक निर्माणको काम भइरहेको निर्माण कम्पनीका साइज इञ्चार्ज अरुण ज्ञवालीले बताए ।
लुम्बिनी प्रदेश सरकारले २०७४ सालमै कर्णाली प्रदेशको सिमानादेखि गण्डकी प्रदेशको सिमाना जोड्ने गरी पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्मको ३१० किलोमिटर दुरी निर्धारण गरी, प्रदेशको गौरवको आयोजना घोषणा थियो । गौरवको सडक आयोजना घोषणा गरे पनि प्रदेशमा स्थिर सरकार नहुदा गौरवको आयोजना रामपुर कपुरकोट सडकअन्तरगत पाल्पाको हार्थाेक –छहरा खण्डमा ८ वर्ष हुँदासम्म कुनै बजेट परेको थिएन । चालु आर्थिक वर्षमा बजेट विनियोजन भइ सुरु भएको सडक स्तरउन्नतिलाई प्रभावकारी बनाउन प्रदेश सरकार, यातायात पूर्वाधार निर्देशनालय, जनप्रतिनिधि निर्माण व्यवसायी र स्थानीयबिच समन्वय सहकार्यबाट काम भइरहेको छ । यो सडक पश्चिम पाल्पाको लाइफ लाइन भएकोले सडक निर्माण कार्य पूरा भएपछि जनजीवनमा परिवर्तनहरु देखिने लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बताए ।
पश्चिम पाल्पाको जनजीवनसँग प्रत्यक्ष जोडिएको यो सडक खण्डमा स्तरोन्नतिको काम सुरु भएसँगै स्थानीयमा उत्साह देखिएको छ । विगतमा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण यात्रा अत्यन्त कष्टकर बन्दै आएकोमा सडक स्तरउन्नतिको काम अघि बढेपछि स्थानीयवासीहरु सहज, सुरक्षित र दिगो यातायातको अपेक्षा छिट्टै पूरा हुने आशा गरेका छन् । रामपुर कपुरकोट सडकअन्तरगत पाल्पाको हुमिनदेखि ताहुँसम्म ५ किलोमिटर र हार्थाेक कुसुमखोला खण्डको ५ किलोमिटर क्षेत्रमा काम भइरहेको हो ।




