बुटवल । मणिमुकुन्द कलेजमा बीबीएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत र चौथो वर्षको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाई गरिएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुको संस्था कम्ब्स्को आयोजनामा महाराजा रिसोर्टमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले मणिमुकन्दले अनुशासन र संस्कार सहितको शिक्षालाई उच्च प्राथमिकता दिएर विद्यार्थीमैत्री आधुनिक शिक्षण सिकाइ र सुविधासम्पन्न भौतिक पूर्वाधारमार्फत् उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
विद्यार्थीको उत्कृष्ट रिजल्ट आउन विद्यार्थी, प्राध्यापक र अभिावक तीनै पक्षको मेहनत आवश्यक पर्ने प्राचार्य क्षेत्रीले स्पष्ट पारे ।
संस्थाका सञ्चालक समिति उपाध्यक्ष उमापति न्यौपानेले मणिमुकुन्दले शैक्षिक गुणस्तर मात्र नभई अतिरिक्त क्रियाकलाप र खेलकुदमा पनि संस्थाले निरन्तर लगानी गरेर विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको बताए ।
कार्यक्रममा उपप्राचार्य दिवाकर खनाल, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीलगायतले आफ्नो मन्तव्य राखेका थिए । बीबीएस संयोजक दिनेश पाण्डेको स्वागत र विद्यार्थी दीपा मल्लको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।




