अर्जुन ज्ञवाली
ऐतिहासिक झापा घोषणा
सुसूचित हुने अधिकारसहित अभिव्यक्ति स्वतन्त्रतालाई व्यापक सुदृढ र विर्वाधाउपभेगको प्रत्याभूतिका लागि नेपालका प्रबुद्ध पत्रकारहरु क्रियाशील हुनु स्वाभाविक हो । वास्तवमा पूर्ण प्रजातान्त्रिक मूल्य , मान्यता र भिन्न विचारहरुप्रतिको सम्मानको वातावरणमा मात्र स्वस्थ र स्वतन्त्र पत्रकारिता फस्टाउन सक्नेछ । विश्वव्यापीरुपमा देखापरेको प्रजातन्त्र, मानवअधिकार तथा जनजागरणको लहरप्रति नेपाली समाजलाई पनि प्रबुद्ध पार्ने गहन दायित्वप्रति हामी नेपाली पत्रकारहरु सचेत एवं सतत प्रयत्नशील रहने छौँ ।
( तत्कालीन सभापति श्री गोविन्द वियोगी को अध्यक्षतामा २०४६ पुस ८ र ९ गते सम्पन्न नेपाल पत्रकार महासंघको झापा बैठकबाट पारित)
यो ऐतिहासिक घोषणा जसबाट पनि गोविन्द वियोगीलाई प्रेस जगतले कहिल्यै बिर्सन सक्दैन ।
नाम थर गोविन्द वैद्य हो, वियोगी उपनाम हो । जनजिब्रोमा वैद्यभन्दा उपनामको वियोगी प्रचलित भयो । हितैषीहरु गोविन्द दाइ, वियोगी दाइ भनेर पुकार्थे । औपचारिकतामा गोविन्द वियोगी तथा गोविन्द वैद्य । सालका हिसाबले उहाँले इहलोक छोडेको १९ वर्ष भएछ । १९ वर्ष हुँदा पनि उहाँलाई बिर्सन सकिएको छैन । यसको कारण हो, उहाँले स्थापना गरेको पत्रकार आर्दश । जो माथिको घोषणामा पनि अन्तर्निहित छ ।
गोविन्द वियोगी जन्मदै कलम लिएर जन्मनुभएको रहेछ । उहाँले बाला उमेरमै हातैले लेखेर पत्रिका निकाल्ने काम गर्नुभयो । आठ सालमा भाइ बासु शशीसित मिलेर बागिश्वरी मासिक पत्रिका निकाल्नुभयो । प्रेसको राम्रो बन्दोबस्त नभैसकेको अवस्थामा हातैले लेखेर भए पनि पत्रिका निकाल्ने हिम्मत उहाँले गर्नुभएको छ । समय क्रममा सिसाका अक्षर, हाते कम्पोज, लेटर प्रेस हुँदै अफसेट प्रेसमा छलाङ् मार्नुभयो ।
मातृ भूमि साप्तहिक गोविन्दा वियोगीको मुख्य परिचय हो । यो पत्रिका उहाँको सम्पादनमा ३४ वर्ष अनवरत चलेको छ । रातो रङ्गको पृष्ठभूमिमा सेतो अक्षरको लोगो भएको मातृभूमि जीवन पर्यन्त शान्ति, समता र प्रजातन्त्रको पक्षधर रह्यो । पत्रिकाको यो निष्ठा जोगाउन गोविन्द दाइलाई कम्ती गाह्रो भएको होइन । तर उहाँ कत्ती ढुलमुलिनु भएन । सतिसाल भैmँ ठाडो भएर उभिनु भयो । मातृभूमिका साथमा दैनिक जनदूतलगायत अरु प्रकाशन पनि थिए ।
राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर नै मातृभूमिले पत्रकारिता ग¥यो । व्यक्तिविशेषको चरित्रहत्या उसले कहिल्यै गरेन । एउटै वाक्यमा भन्नुपर्दा गोविन्द वियोगीको मातृभूमिमा छापिने सम्पूर्ण अक्षर, शब्द र वाक्यले समाजमा विद्यमान सामाजिक, राजनैतिक विकृति विसंगतिकाविरुद्ध शान्ति, सुशासन, प्रगतिका विगुल फुकेका हुन् ।
पञ्चायती निरंकुश कालमा मातृभूमिलाई जोगाउन बहुतै गाह्रो भयो, बिचमा एउटा यस्तो समय आयो जुन समयमा आधा दर्जन लब्धप्रतिष्ठ अखबार प्रेस विरोधी निरंकुश कानुनका शिकार भए । यस्तो कायरतापूर्ण काम धेरै दिन टिक्न सक्ने कुरै थिएन । थोरै दिनमै स्वतन्त्र प्रेसका स्तम्धकारहरु र तिनका जबर्जस्त सर्मथकहरुको आन्दोलनमा सरकारले नझुकी सुखै पाएन । अखबारहरु खुले । यस आन्दोलनमा गोविन्द वियोगी जबर्जस्त भूमिकामा रहनुभयो ।
गोविन्द वियोगीको नाम नेपालमा अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको एजेण्डामा प्रवल हस्तीको रुपमा आउँछ । प्रेस स्वतन्त्रताको सवालमा उहाँले मातृभूमि साप्ताहिक र त्यसका सम्पूर्ण प्रकाशनहरुबाट निरन्तर संघर्ष गर्नुभयो । गाविन्द वियोगीले विशिष्ट पत्रकारिता गर्नुभएको हो । उहाँको पत्रकारितामा प्रयुक्त शब्द, वाक्य तथा अनुच्छेदमा राष्ट्र बोल्थ्यो । राष्ट्रिय प्रगतिशील धार उहाँको अभीष्ट हो । उहाँले कहिल्यै दलीय हठ लिनु भएन । राजनैतिक आग्रह पूर्वाग्रहमा रुमलिनु भएन । अनि फेरि आफ्नो विशिष्ट ओजलाई भजाएर सत्ताको मान सम्मान ग्रहण गर्नुभएन । फगत स्वतन्त्र प्रेसको आर्दशमा रमाउनु भयो । फलस्वरुप गोविन्द वियोगी राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा स्वतन्त्र प्रेसको पहरेदार पत्रकारको रुपमा दर्ज हुनुभयो ।
३ मई २००१ तद्अनुसार २०५८ बैशाख २० गतेको कुरा हो– त्यो दिन विश्व प्रेस स्वतन्त्रता दिवस थियो । त्यस दिन नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिल नेपालका तर्फबाट काठमाडौंमा प्रेस स्वतन्त्रता सेनानी सम्मान एवं प्रेस काउन्सिल – गोपाल दास पत्रकारिता पुरस्कार प्रदान समारोहको आयोजना थियो । समारोहमा गोविन्द दाइलाई प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कारले सम्मानित गरियो । त्यसै समारोहमा गोविन्द दाइसँगै मैले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्राप्त गरेँ । तेस्रो दिनको कुरा हो – त्यस दिन बिहान हामी दुवै दाजुभाइ सगरमाथा रेडियोको निम्तामा प¥यौँ । सगरमाथा रेडियोका कार्यक्रम सञ्चालक घमराजले हामीलाई बोलाउनु भएको थियो । त्यहाँ रेडियोको प्रत्यक्ष प्रसारणमा घमराजसमेत हामी तीनै भाइ भएर नेपाली पत्रकारिताको विगत र वर्तमानका सम्बन्धमा जमेर चर्चा परिचर्चा ग¥योँै । गोविन्द दाइ जानुभयो । अहिले हुनुहुन्न । म भने अझैँ त्यो कुरा बिर्सन सकिरहेको छैन ।
– गोविन्द वियोगी स्मृति ग्रन्थ २०६२
गोविन्द वियोगी पत्रकार हो । औषत पत्रकार नभएर विशिष्ट पत्रकार । यसका लागि उहाँले सम्पादन गरेको मुद्रित सामग्री सबूद प्रमाणको रुपमा छ ।अहिले पनि छोरा किरण वैद्यबाट ती सामग्री प्राप्त गर्न सकिन्छ । गोविन्द वियोगी र नेपालको राष्ट्रिय स्वतन्त्र प्रेस सम्बन्धमा पि.एच.डी. गर्न चाहने विद्यार्थीहरुका लागि ती सामग्री सहयोगी हुन सक्छन् ।
गोविन्द वियोगी विशिष्ट कलमको विशिष्ट पत्रकार हुनुका साथै प्रेस संयोजक पनि हो । उहाँले पत्रकार हकहित र एकताका लागि अत्यत राम्रो समन्वयकारी भूमिका विर्वाह गर्नुभएको छ । पत्रकारहरुको माया र ममतामा नेपाल पत्रकार संघ र पछि महासंघको पनि सभापति हुनुभयो । पत्रकार महासंघको निर्माणमा पटक–पटक देशभरि घुम्नु भयो । यसमा उहाँका आधादर्जन जुत्ता फाटे होलान् । अन्ततः सफल पनि हुनुभयो । पत्रकारहरुको राष्ट्रिय सभापति भएर वियोगीले कुनै अप्रिय काम गर्नु भएन र व्यक्तिगत लाभ लिने काम पनि गर्नु भएन । पत्रकारहरुको सभापति भएपछि सुरुदेखि आफूले उठाएको अभिव्यक्ति तथा स्वतन्त्र प्रेसको झन्डालाई झनै अग्लो बनाएर फहराउनु भयो । प्रेस स्वतन्त्रताको पक्षमा लडाइ लड्ने शीर्ष पत्रकारहरुमा उहाँको नाम लिइरहँदा सहयोद्धा गोपाल दास, मणीराज र मदनमणिदीक्षितको नाम सँगसँगै आउँछ ।
गोविन्द वियोगीले पत्रकारितामार्फत् राष्ट्रको उत्कृष्ट सेवा गर्नुभएको छ । यसका लागि उहाँ धन्य हुनुहुन्छ । उहाँले आफ्ना सम्पूर्ण प्रकाशनमा राष्ट्रका सम्पूर्ण गरिविधिलाई उचित स्थान दिई विभिन्न वर्ग, वर्ण, लिङ्ग, जातजाति तथा सम्पूर्ण नेपालीको वास्तविक सेवा गर्नुभएको छ । यस कार्यमा उहाँ नेपाल राष्ट्रको एउटा जिम्मेवार पत्रकार हो । उहाँको गुरुकुल विद्यालयमा अलिकति पढ्ने र लेख्ने मौका मैले पनि पाएको हुँ । यसमा आफूलाई धन्य सम्झन्छु ।
व्यक्तिगत जीवन शैलीको चर्चा गर्दा आँखामा राखे पनि नबिझाउने व्यक्तिको नाम गोविन्द वियोगी हो ।
उहाँ कसैको पनि कुभलो गर्दै नगर्ने सकेसम्म भलो मात्र गर्ने भद्र पुरुष हो ।
उहाँलाई अतिथि देवो भव भन्दा हुन्छ । उहाँकहाँ पाहुना नहुने सायदै कुनै दिन हुन्थ्यो । पाहुनामा राजनीतिज्ञ पनि हुन्थे । कुटनीतिज्ञ पनि हुन्थे । समाजसेवी, सन्त महन्त सबै हुन्थे । भाउजु कृष्णवदन साँच्चिकै गृहलक्ष्मी हुनुहुन्थ्यो । त्यो घर अतिथिदेवो भव हुनुमा उहाँको लच्छिन पनि एउटा कारण हुनुपर्छ ।
पत्रनिष्ठामा अब्बल वियोगी धर्मनिष्ठामा पनि अब्बल हुनुहुन्थ्यो । आँखाको अगाडि परेका जुनसुकै ढुङ्गा उहाँका लागि देउता हुन्थे । मठमन्दिर देख्ने बित्तिकै नतमस्तक । म काठमाडौंमा भएको बखत जहिल्यै सँगै घुम्न जान्थेँ, कहीँ कतै मूर्ति आकारको जस्तो ढुङ्गो देख्यो कि ढोगी हाल्नुहुन्थ्यो । मेरो मन भित्रभित्रै भन्थ्यो – यत्रो बुझ्की मान्छे पनि किन यस्तो गर्नुहुन्छ होला । तर, यस सम्बन्धमा उहाँसँग तर्क गर्ने आँट ममा हुँदैनथ्यो । मन न हो बदलिरहने ।
शान्त भावमा आएपछि फेरि भन्थ्यो –
– ईश्वर ः सर्वभूतेषु हृद्देशेकर्जुुन तिष्ठति ।
– ईशावास्यमिदं सर्वम् ।
– सर्वं खलु इदं ब्रम्ह ।
होत, ईश्वर सर्वव्यापी छ भने दाइले ढुङ्गालाई ढोग गर्नुभयो, एउटा निष्ठाको कुरा हो । निष्ठा धर्म हो । दाइले जीवनपर्यन्त इमान र जमानको पत्रकारिता गर्नुभयो । इमान जमान उहाँको निष्ठा थियो । गोविन्द दाइले ढुङ्गालाई ढोगेर पनि धर्म गर्नुभयो । निष्ठाको पत्रकारिता गरेर पनि धर्म गर्नुभयो । धर्मशास्त्र भन्छ– धर्म गरेपछि पुण्य प्राप्त हुन्छ । पुण्यात्माहरु मृत्युपछि परमगति प्राप्त गर्छन् । यसको अर्थ गोविन्द दाइको इहलोक पनि सफल परलोक पनि सफल ।
नियतिले गोविन्द दाइको ललाटमा ‘पत्रकार‘ लेखेको रहेछ । यसै भएर उहाँले बाला उमेरमै हस्तलिखित हाते पत्रिका निकाल्नुभयो । त्यसपछि नेपाल संवाद समिति भन्ने समाचार समिति बनाउनुभयो । समाचार समिति बनाएपछि पनि सुरुमा हातैले समाचार लेखेर समाचार बुलेटिन बाँड्नु भयो । यत्तिले पुगेन अनि भाइ बासुशशिसित मिलेर हस्तलिखित बागीश्वरी नामको मासिक पत्रिका लिकाल्नुभयो । हातको अक्षरबाट सिसाका अक्षर, सिसाका अक्षरबाट छपाइ गर्ने छापाखाना त्यसपछि अफसेट प्रेसमा पुग्नुभयो । यसरी ‘चरै वेति चरै वेति’ भनेझैँ गरेर उच्च कोटिको पत्रकारिता गर्नुभयो । यसरी गोविन्द दाइले मरेर पनि अमरत्व प्राप्त गर्नुभएको छ ।
उहाँको मुख्य पहिचान मातृभूमि साप्ताहिक ३४ वर्ष चलेर बन्द भएको छ । त्यसपछि उहाँ विश्राम लिन सक्नुहुन्थ्यो, तर उहाँको आत्माले त्यसो गर्न मानेन । अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसको अडान छोड्न सक्नुभएन । चरै वेति चरै वेति गर्न थाल्नुभयो । सम्पदाकहरुको एउटा समाज गठन गर्नुभयो र त्यसको अध्यक्ष भएर आफ्नो अभियानलाई जारी राख्नुभयो ।
उहाँ अहिले हाम्रो सामु हुनुहुन्न । उहाँको मरण भएको छ । यो मरण सम्पादक समाजको बैठकमा प्रेसलाई निरन्तर रुपमा स्वतन्त्र राखिराख्न कसरी सकिन्छ भन्ने विषयमै छलफल गरिरहेको बखत भएको छ । नियतिको तारतम्य हुनुपर्छ, एउटा कर्मयोगीको अवसान सम्बद्ध योग साधना गरिरहेको सक्रिय अवस्थामा भएको छ । तसर्थ यो मरण विशिष्ट छ । यो शहादत हो । स्वतन्त्र प्रेसको लागि शहादत हो । अर्को शब्दमा युद्धमा एउटा वीर योद्धाको वीरगति हो । श्रद्धाञ्जली छ, वीर शहीदलाई ।
तपाईँको पदचिन्हमा हिडिरहन सकूँ ।
अस्तु ।




