श्रीकृष्ण सिग्देल
स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकामा शिक्षक सरुवा र बढुवा गर्दा पैसाको चलखेल हुने गरेको रहस्य खुलेको छ । स्याङ्जाकै एक माध्यमिकस्तरका स्थायी शिक्षक अमृत खनालले सामाजिक सञ्जालमा शिक्षक सरुवा र बढुवामा वालिङ नगरपालिकामा पैसाको चलखेल हुने गरेको गम्भीर आरोप लगाएका छन् । खनालले सामाजिक सञ्जालमा यो आरोप लगाएपछि स्याङ्जामा हंगामा नै मच्चिएको छ । खनालले पोष्ट गरेको सामाजिक सञ्जालमा झण्डै २० लाखभन्दा माथि आर्थिक चलखेल भएको उल्लेख गरेका छन् ।
मुलुकमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढीरहेका बेला शिक्षक खनालले आगामी सरकारलाई १० कार्यक्रम भन्दै पैसाको चलखेल गरेको घुमाउँरो पारामा उल्लेख गरेका छन् ।
उनले उल्लेख गरेको पोष्टलाई कसरी प्रमाणित गर्ने छन् भन्ने विषयले पनि तरङ्गित बनाएको छ । दरबन्दी फेरबदल, शिक्षक सरुवा र बढुवामा शिक्षकले रकम खर्च गर्नुपरेको बताएका छन् । कुन विद्यालयबाट कहाँ शिक्षक पठाउँदा कति रकम खर्च गर्नुपरेको समेत उल्लेख गरेका छन् ।
हिमाली माविमा गणित विषयको दरबन्दी हटाएर विज्ञान विषयको दरबन्दी बनाइ शिक्षक सरुवा गर्दा ३ लाख, निमावि शिक्षक टापुभञ्याङ्मा सिफारीस गरिएको, तर रणवीरमा सिफारी गर्न लगाउँदा १ लाख, चक्रदेवी विद्यालयलाई समायोजन गरी पाइपर्ने ठाउँमा सरुवा गर्दा १ लाखलगायतका थुप्रै प्रश्न खनालले सामाजिक सञ्जालमा उठाएका छन् । शिक्षकको सरुवा गर्दा होटल खर्चदेखि बढुवामा १ लाखका दरले १० जना शिक्षकको १० लाखसम्म खर्च गरेको खनालले उठाएका छन् ।
सामाजिक सञ्जालमा उठाएको विषय साँचो हो भन्ने विषयमा राजधानीकर्मीले खनालसँग टेलिफोनमा कुरागर्दा प्रमाण नै नभए पनि शिक्षकहरुले भनेका आधारमा आफूले सामाजिक सञ्जालमा लेखेको बताएका छन् । खनालले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी यो घटनामा संलग्न नभए पनि बिचौलीयाले ल्याएको काममा मतियारको काम भने नगरपालिकाले गरेको आरोप उनले लगाए । उनले टेलिफोनमा गरेको कुराकानीका आधारमा नगरपालिकामा बिचौलीया शिक्षकहरुको हाबी भएको विषय उठाएका छन् । तर बिचौलीयाको नाम भने खनालले उल्लेख गर्न चाहेनन् । बेला–बेलामा शिक्षक सरुवाको विषयमा वालिङ नगरपालिका विवादित बन्दै आएको छ । कतिपय सरुवाका लागि शिक्षक, अभिभावक नै अदालतसम्म पुग्ने गरेका घट्नाहरु पनि छन् ।
कानुनविपरीत र अन्यायका विषयमा शिक्षक, अभिभावक अदालतसम्म पुग्नु, नगर शिक्षा ऐन संशोधन गरी वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने कानुन बनाउनुलगायतका घट्नाले विवादित बनेको नगरपालिकामा पुनः खनालले प्रश्न उठाएका विषयहरुले शिक्षक सरुवा र बढुवालगायतमा पैसाको चलखेल भएको हुनसक्ने शंका उब्जाएको छ ।
यता वालिङ नगरपालिकाले सामाजिक सञ्जालमा आएको विषयलाई छानबिन गर्ने जनाएको छ । शिक्षा शाखाका प्रमुख ख्यानारायण काफ्लेले सामाजिक सञ्जालमा लेख्ने शिक्षकलाई पत्र काटेर प्रमाण पेश गर्न निर्देशन दिएको बताए ।




