अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ७ ले गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गर्दै पौष्टिक आहार वितरण गरेको छ। सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा कुखुराको भालेसहित पोषण सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष चुरा बहादुर केसीले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै पोषण सामग्री वितरण गरिएको बताए। उनले स्थानीय सरकारले नागरिकप्रति अपनत्व देखाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै गर्भवती तथा सुत्केरी महिलाको पोषण र स्वास्थ्य सुनिश्चित गर्नु स्थानीय तहको जिम्मेवारी भएको बताए।
पोषण सामग्री लिन पुगेकी सेवाग्राही सरिता घिमिरेले वितरण गरिएको सामग्री पर्याप्त नभए पनि स्थानीय सरकारबाट सहयोग पाउँदा खुसी लागेको बताइन्।
खाँचीकोट स्वास्थ्य चौकीका प्रमुख प्रेमचन्द विकका अनुसार स्वास्थ्य चौकीमार्फत गर्भवती तथा सुत्केरी महिलालाई पोषण आहारसँगै खोप सेवा तथा आधारभूत स्वास्थ्य सेवा, भिडियो एक्सरे लगायतका सुविधा प्रदान गरिँदै आएको छ। उनले मातृ तथा शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच वृद्धि र कुपोषण न्यूनीकरणका लागि यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे।
वडाको वार्षिक कार्यक्रम अनुसार करिब ३७ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको वडा सचिव सीता बिसी पराजुलीले जानकारी दिइन्।
कार्यक्रममा वडा सदस्य डुकलाल पोखरेल, पुष्पा नेपाली, महिला स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मी अनिल नेपाली लगायतको सहभागिता रहेको थियो। कार्यक्रम वडा अध्यक्ष केसीको अध्यक्षता, सचिव पराजुलीको सञ्चालन तथा स्वास्थ्य चौकी प्रमुख विकको विषय प्रस्तुतीकरणमा सम्पन्न भएको थियो।




