तिनाउ जलविद्युत् आयोजनाको बाँधक्षेत्रमा वर्षेनी युवाले डुबेर ज्यान गुमाइरहेका छन् । गत वर्ष बाँध क्षेत्रमा डुबेर सात जनाले ज्यान गुमाएका थिए भने अहिले दुई जनाको मृत्यु भइसकेको छ । सिद्धबाबा नजिकै रहेको तिनाउ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पौडी खेल्ने क्रममा युवाहरुले डुबेर ज्यान गुमाउने क्रम बढिरहेको छ ।
गर्मी बढ्दै जाँदा बाँध क्षेत्रमा पौडी खेल्न र नुहाउन जाने क्रम बढेको छ । पौडी खेल्न अहिले भारतको नौतनवा र गोरखपुरबाट समेत आउन थालेका छन् । तराई मधेसमा उखरमाउलो गर्मी बढ्दै गएपछि शितल खोज्दै पहाड उक्लेका युवाले पहाडको खोचमा रहेको नदीमा पौडी खेल्ने क्रममा ज्यान गुमाउने क्रम बढेपछि अब नियन्त्रणको पहलकदमी हुन आवश्यक छ ।
भूतखोलामा डुबेर मृत्यु हुन थालेपछि प्रहरीले पौडी खेल्न रोक लगाएको छ । त्यहाँ केही समय प्रहरीले ड्युटी नै दिएर पौडी खेल्न रोक लगाएको थियो । भूतखोलामा पौडी खेल्दा जोखिम रहेको चेतावनीयुक्त सूचना राखिएको छ । यो सूचनापछि यहाँ पौडी खेल्ने क्रम रोकिएको छ । तिनाउ नदीको बाँध स्थललाई पनि जोखिमयुक्त ठाउँ मान्दै पौडी खेल्न प्रतिबन्ध लगाउनुपर्छ । प्रहरीले बाँधस्थलमा निरन्तर ड्युटी दिनु त्यत्ति सान्दर्भिक नहोला, तर जोखिम रहेको सूचना राख्ने र निरन्तर निगरानी नराख्ने हो भने बाँधस्थलमा मृत्यु हुने नागरिकको संख्या बढ्न सक्छ । मृत्यु हुने मध्ये धेरै भारतीय भएको प्रहरीको भनाइ छ । भारतीय नागरिकले यहाँको भौगोलिक अवस्थाको बारेमा जानकार नहुँदा पनि ज्यान गुमाइरहेका छन् । पहाडको साँधुरो खोचबाट बगेको तिनाउ नदीमा ठूल्ठूला चट्टान छन् । त्यही चट्टानको आसपासको पानीको गहिराई मापन गर्न नसक्दा युवा डुब्दै आएका छन् । डुब्दै चट्टानको खोंचमा पुग्दा माथि निस्कन नसकेर अड्कदै आएका छन् । डुबेर बेपत्ता भएपछि कतिपय अवस्थामा गोताखोर ल्याएर शव निकालेका घटना पनि छन् ।
निरन्तर जसो युवा डुब्दै आएकाले अभिभावकले आफ्ना सन्ततीलाई जोखिम भएकाले पौडी खेल्न नजान सचेत गराउनुपर्छ । सरकारी निकायले पनि तिनाउ जलविद्युत् आयोजनाको बाँध क्षेत्र जोखिमयुक्त भएकोले पौडी नखेल्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सचेतनामूलक सन्देश प्रवाह गर्न सक्छन् । बाँध क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्ड राखेर जोखिमबारे जानकारी दिन सकिन्छ । मान्छेको जीवन सामान्य खेलवाडले जान्छ । एउटा मान्छेको जीवन जाँदा उसको मृत्युसँगै उसका सपनाको अन्त्य हुन्छ नै, एउटा परिवारको भरोसा टुट्छ, समाजले एउटा कर्मशील नागरिक गुमाउँछ । त्यसैले नागरिकको जीवन जोगाउन सबैले जोखिमयुक्त ठाउँमा नुहाउने र पौडी खेल्ने काम बन्द गरौँ ।




