२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अलपत्र पशु बधशाला ‘फोर पी’ मोडेलमा चलाउन मासु व्यवसायी तयार

अलपत्र पशु बधशाला ‘फोर पी’ मोडेलमा चलाउन मासु व्यवसायी तयार

जुन विन्दुमा उपमहानगरले गल्ती गरेको थियो, त्यहींबाट सच्चाएर किसान र व्यवसायीको लगानी सुनिश्चित गरेर नयाँ मोडालिटी बनाए मात्र  दीगोरुपमा चल्ने सरोकारवालाको ठम्याइ छ ।

अलपत्र पशु बधशाला ‘फोर पी’ मोडेलमा चलाउन मासु व्यवसायी तयार

अलपत्र पशु बधशाला ‘फोर पी’ मोडेलमा चलाउन मासु व्यवसायी तयार

जुन विन्दुमा उपमहानगरले गल्ती गरेको थियो, त्यहींबाट सच्चाएर किसान र व्यवसायीको लगानी सुनिश्चित गरेर नयाँ मोडालिटी बनाए मात्र  दीगोरुपमा चल्ने सरोकारवालाको ठम्याइ छ ।

अलपत्र पशु बधशाला ‘फोर पी’ मोडेलमा चलाउन मासु व्यवसायी तयार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • बुटवल
    राज्यको करोडौं लगानी भएर पनि बन्द अवस्थामा अलपत्र रहेको बुटवलको आधुनिक पशु बधशालालाई किसान र व्यवसायीको लगानी सुनिश्चित गरी छिट्टै सञ्चालनमा ल्याउन मासु व्यवसायी संघ रुपन्देहीले अग्रसरता लिने भएको छ । 


    शुरुमा सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा (फोर पी मोडेल) बमोजिम बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई सञ्चालन गर्न दिने तयारी भए पनि अन्तिममा बुटवल उप–महानगरपालिकाले टेण्डरमार्फत् निजी कम्पनी मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडलाई दिएको थियो । 


    सयौं मासु व्यवसायी र हजारौं बाख्रा पालक किसान आबद्ध बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिसँगको  पूर्व  सहमति एकाएक रद्द गरेर निजी कम्पनीलाई दिएपछि व्यवसायीहरु बधशाला जान अस्वीकार गरेपछि बधशालाबारे विवाद सुरु भएको थियो । 


    व्यवसायीमाथि निरन्तर अनुगमनको नाममा धरपकड र जरिवाना गरेर बधशाला जान बाध्य बनाउने उपमहानगरपालिकाको प्रयासलाई व्यवसायीले  असफल बनाएपछि मुक्तिनाथ लाइभस्टकले चलाउन नसकेर बन्द गरेको छ । 
     ५ वर्षका लागिसम्झौता भएपनि एक वर्ष नपुग्दै मुक्तिनाथले हात झिक्दै उल्टै उपमहानगरविरुद्ध मुद्दा मामिला गरेपछि बधशाला झण्डै एक वर्षदेखि बन्द छ । 


    व्यवसायी र किसानमाथि धोका र घात भएर बन्द बधशालामा उपमहानगरले किसान र मासु व्यवसायीको लगानी सुनिश्चित गरेमा पुनः  फोर पी मोडलमा सञ्चालन गर्न  आफूहरु तयार रहेको मासु व्यवसायी संघ रुपन्देहीका महासचिव थानिश्वर सुवेदीले बताए । 
    संघको १५औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा समेत संघले शुरुमा जसरी फोर पी मोडलमा सञ्चालन गर्ने सहमति थियो सोहीअनुसार उपमहानगरले मोडालिटी बनाए बधशाला सञ्चालनको जिम्मा लिन आफूहरु तयार रहेको महासचिव सुवेदीले बताए । 


    ‘बधशालामा राज्यले करोडौं लगानी गर्नुको उद्देश्य यहाँका सयौं व्यवसायीले बधशालामा मात्रै बध गर्ने, उपभोक्ताले स्वच्छ मासु उपभोग गर्न पाउने,  हजारौं बाख्रापालक किसानको बजार सुनिश्चित हुने गरी फोर पी मोडलमा सञ्चालन गर्ने भन्ने नै थियो,’ महासचिव सुवेदीले भने–‘तर पछि उपमहानगरले टेण्डरको नाममा निजी कम्पनीलाई दिएकै कारण बधशाला अलपत्र परेको हो, अब जुन विन्दुमा उपमहानगरले गल्ती गरेको थियो, त्यहींबाट सच्चाएर किसान र व्यवसायीको लगानी सुनिश्चित गर्नुपर्छ र मात्र बधशाला दीगोरुपमा चल्छ, त्यो अवस्था बने हामी तयार छौं ।’ 


    शुरुमा आधा दर्जन सहकारी संस्थामार्फत् करिब ५ हजार बाख्रा पालक किसान महिलाले गरेको शेयर लगानी फिर्ता गरी नयाँ विन्दुबाट उनीहरुलाई पुनः बधशाला सञ्चालनको फोर पी मोडेलमा जोड्नुपर्ने महासचिव सुवेदीले बताए । शुरुमा बधशाला स्थापना र संचालनको पहल गरेका बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका सञ्चालक कृष्ण पौडेलले जसले अगुवाइ गरे तिनै व्यवसायी र हजारौं किसानलाई धोका दिएकाले बधशाला अलपत्र परेको तथ्यलाई उपमहानगरले मनन् गरी शुरुकै मोडेलमा चलाउने वातावरण बनाउनुपर्ने सुझाव दिए । 


    मुक्तिनाथ लाइभस्टक बैंक लिका अध्यक्ष उमेश आचार्यले बधशाला सञ्चालन गर्दा गरेको सहमति उप–महानगरपालिकाले कार्यान्वयन नगरेपछि आफूहरु कानुनी उपचारका लागि अदालतमा पुगेको बताए । 


    मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले बुटवल र आसपासका मासु व्यवसायी र बाख्रा पालक किसानको सहभागिता विना बधशाला दीगो सञ्चालनको सम्भावना नभएकाले उप–महानगरपालिकाले किसान र व्यवसायीको लागत सहभागिता सुनिश्चित गरी आफूहरुलाई नै सञ्चालनको जिम्मा दिनुपर्ने बताए । 


    बाख्रापालक महिला उद्यमी होमादेवी पौडेलले फोर पी मोडलमा बधशाला सञ्चालन नगर्दा हजारौं महिला बाख्रापालक दिदी बहिनीहरु निराश बनेको गुनासो गर्दै सुरुको सहमतिअनुसार बधशाला सञ्चालन मोडालिटी बनाउनुपर्ने बताइन् । 
    बुटवल उप–महानगरपालिका १० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा निर्माण भएको बधशालामा आर्थिक वर्ष २०७९ पौषमा २३ करोड ९६ लाख ८३ हजारको लागतमा सम्पन्न भएको थियो ।


    दैनिक एक हजार खसीबोका बध गर्न मिल्नेगरी बधशाला बनाइएको छ भने त्यहाँ बाख्राको चरण, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण छन् । 


    दुईवटा चिस्यान सुविधासहितका ट्रक, पशु स्वास्थ्य, मासु जाँच र गुणस्तर प्रमाणीकरण ल्याबको व्यवस्था समेत बधशालामा गरिएको छ ।


    तर राज्यले करोडौं लगानी गरेर बनाएको पशु बधशाला सञ्चालनमा नआउंदा यसले उपभोक्ता, किसान, व्यवसायी र समग्र अर्थतन्त्रमै गम्भीर प्रभाव पारेको छ । उपभोक्ताहरु अस्वस्थ र असुरक्षित मासु उपभोग गर्न वाध्य छन् भने करोडौं लगानी खर्च भएको संरचना प्रयोगविहीन भएको छ । यसले सार्वजनिक स्रोतको दुरुपयोगजस्तो अवस्था सिर्जना गरेको छ ।  बधशालाबाट उठ्ने आम्दानी र  कर बन्द हुँदा राज्यले राजस्व गुमाएको छ । 


    बुटवल उप–महानगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले स्थानीय सरकारले मासु व्यवसायीका मागलाई आवश्यक सहजीकरण गर्ने बताए । 


    मासु व्यवसायी संघ नेपाल, रुपन्देहीको १५औं साधारणसभाका अवसरमा संघले प्रदेशस्तरीय मासु व्यवसायी महासंघ गठनको पहल गर्ने निर्णय गरेको छ । 


    संघले आफ्नै कार्यालय र सभाहल निर्माणका लागि जग्गा खोजी गर्ने र पशुपंक्षी हाटबजारका लागि बुटवल उप–महानगरपालिकासँग समन्वय गरी उपयुक्त स्थानको पहिचान गर्ने निर्णय गरेको छ । व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने, सामाजिक सुरक्षा र दुर्घटना बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने तथा उत्पादन विभाग गठन गरी मासुजन्य कृषि उत्पादनका कार्यक्रम विस्तार गर्ने विषयलाई पनि संघले प्राथमिकतामा राखेको छ ।


    कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सुलभ खरेलले कृषि र पशुपालनका धेरै अधिकार स्थानीय तहमा रहेको उल्लेख गर्दै व्यवसायीका मागहरूलाई सम्बन्धित निकायमार्फत् समाधान गर्न पहल गर्ने आश्वासन दिए । खरेलले खुला सिमानाबाट हुने अवैध आयातले स्वदेशी उत्पादनलाई असर पारेको स्वीकार गर्दै न्यायोचित कर प्रणाली र सिमानामा कडाइ गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अर्का प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले पनि व्यवसायीका पीरमर्का बुझेर सहकार्य गर्न आफू सदैव तयार रहेको बताइन् ।


    अधिवेशनमा संघका अध्यक्ष विशाल थापाले उत्पादन विभाग गठन गरी मासुजन्य कृषि उत्पादनका कार्यक्रमहरू विस्तार गर्ने, मासुको गुणस्तर कायम गर्न भेला, प्रशिक्षण तथा सचेतना गोष्ठी सञ्चालन गर्ने योजना प्रस्तुत गरे । साथै, व्यवसायीहरूको सामाजिक सुरक्षा र दुर्घटना बिमा कार्यक्रमलाई अघि बढाउने तथा तीनै तहका सरकार र सरोकारवाला पक्षसँग समन्वय गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । व्यवसायीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन मासु व्यवसायी बहुउद्देश्यीय सहकारी संस्थामा थप तीन सय सदस्य आबद्ध गराउने लक्ष्य लिइएको छ ।


    उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले गुणस्तरमा सम्झौता नगर्न र वधस्थलको अवस्था सुधार गर्न सुझाव दिएका थिए । कुखुरापालक किसान संघका ऋषिराम काफ्लेले अवैध आयातको समस्या उठाएका थिए भने रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले सार्वजनिक खरिद ऐन परिमार्जन हुनुपर्नेमा जोड दिए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जीसीले बजार अनुगमनलाई निरन्तरता दिइएको बताउँदै खुला सिमानाबाट आउने अवैध खाद्य वस्तुले चुनौती थपिएको उल्लेख गरे । उनले बधस्थलको अवस्था सुधार गर्न र माछा–मासु अलग–अलग राख्ने मापदण्ड पालना गर्न जोड दिए ।
    बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले व्यवसायीहरूले लगानी अनुसारको प्रतिफल पाउन नसकेको बताए । कार्यक्रममा संघका अध्यक्ष विशाल थापा, उपाध्यक्ष रोशनबहादुर खत्री, महासचिव थानेश्वर सुवेदीलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सचिव र कोषाध्यक्षका प्रतिवेदनहरू पारित गरिनुका साथै उत्कृष्ट कृषक र पूर्व अध्यक्षहरूलाई सम्मान समेत गरिएको थियो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij