इन्द्र भुसाल
समकालीन नेपालको राजनीतिक परिदृश्य यतिबेला सङ्क्रमणको एक निर्णायक मोडमा उभिएको छ । हालै सम्पन्न निर्वाचनले केवल सरकार गठनको मार्ग प्रशस्त मात्र गरेको छैन, यसले जनमानसमा गहिरो रूपमा जरा गाडेर बसेको परिवर्तनको आकाङ्क्षालाई पनि स्पष्ट रूपमा उजागर गरेको छ । देशका अधिकांश निर्वाचन क्षेत्रका नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरेकाछन् । लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका परम्परागत राजनीतिक शक्तिहरूप्रति बढ्दो निराशा, असन्तोष र वितृष्णाको परिणाम स्वरूप जनताले नयाँ विकल्प रोजेका छन् । यही परिवेशमा बालेनको उदय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारलाई बुझ्नुपर्छ ।
२०८२ भाद्र २३ र २४ मा भएको जेन–जी आन्दोलन, प्रतिनिधिसभाको विघटन तथा निर्वाचनको मिति तोकिएता पनि निर्वाचन हुने या नहुने अवस्थाबिच रवि लामिछानेको त्याग र बालेन्द्र शाहको राष्ट्रिय स्वतन्त्र पार्टीमा भएको प्रवेशलाई देशको आर्थिक तथा सामाजिक विकासको कोसेढुङ्गाका रूपमा विश्व समक्ष प्रस्तुत गर्ने अवसरका रूपमा लिन सकिन्छ । यस ऐतिहासिक घडीमा हामी सबै नेपालीले एकताबद्ध भई साथ, सहयोग र खबरदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता बोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उदय कुनै संयोग मात्र होइन; यो नेपाली जनताको जनचेतनाको परिपक्व अभिव्यक्ति हो । जनताले अब केवल अनुहार परिवर्तन होइन, व्यवहार र राजनीतिक संस्कारकोपरिवर्तन खोजिरहेका छन् । उनीहरू राजनीतिक भाषणभन्दा कार्यसम्पादनमा विश्वास गर्न थालेका छन् । यही कारणले गर्दा बालेनजस्ता स्वतन्त्र छविका नेतृत्व र रास्वपाजस्ता नयाँ राजनीतिक शक्तिहरूले जनताको विश्वास जित्न सफल भएका हुन् ।
नेपालमाबालेनको उदयलाई केवल एक व्यक्तिको लोकप्रियताको रूपमा सीमित गरेर हेर्न मिल्दैन । उनको उदय वास्तवमा पुरानो राजनीतिक संस्कृतिविरुद्धको मौन विद्रोह थियो । दशकौँदेखि नेपाली राजनीतिमा स्थापित हुँदै आएको शक्ति केन्द्रित सोंच, भागबण्डा, नातावाद र भ्रष्टाचारको विरुद्धमा जनताले दिएको एउटा सशक्त सन्देश थियो । यो परिवर्तित अभिमत राजनीति सेवा केन्द्रित हुनुपर्छ, सत्ता केन्द्रित होइन भन्ने ज्वलन्त उदाहरण पनि हो । नेपालका पुराना राजनीतिक दलहरूले लोकतन्त्रलाई व्यवहारमा पूर्णरूपमा कार्यान्वयन गर्न नसकेको आम नागरिकले अनुभूित गरे । लोकतन्त्रको नाममा शासन चलाइए पनि त्यसको आत्मा, पारदर्शिता, उत्तरदायित्व र विधिको शासन कमजोर हुँदै गएको मूल्याङ्कन गरियो । बिगतका निर्वाचनमा नागरिकले दिएका मतलाई केवल चुनावी अङ्क गणितमा मात्र सीमित गरियो । परिणामस्वरूप शासन प्रणालीप्रति जनविश्वास कमजोर बन्दै गयो ।
यही कमजोर विश्वासको खाली ठाउँमा नयाँ आशाको पालुवा पलायो, जसको प्रतिनिधित्व बालेन र रास्वपाले गरेका छन् । यसपटकको निर्वाचनको जनादेशले केवल राजनीतिक परिवर्तनको ढोका मात्र खोलेको छैन; यसले शासनशैलीमा आमूल परिवर्तनको अपेक्षा पनि व्यक्त गरेको छ । वास्तवमा जनताले सुशासन, पारदर्शिता, जवाफदेहिता र आर्थिक रूपान्तरणको स्पष्ट माग गरेका छन् । यसले विशेषगरी युवाहरूले देशमै अवसर खोजिरहेका छन् भन्ने कुरा देखाउँछ । विदेश पलायनको बाध्यता घटाउने, नेपालमै रोजगारी सिर्जना गर्ने र स्वदेशमै सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने अपेक्षा अहिलेको राजनीतिक नेतृत्वसामु रहेको प्रमुख चुनौती रहेको छ ।
यसपटको निर्वाचनको नतिजाले रास्वपाका लागि अद्वितीय अवसरसँगै ठुलो जिम्मेवारीको भारि पनि बोकाइदिएको छ । जनताले दिएको विश्वासलाई नीतिगत सुधार, प्रभावकारी कार्यान्वयन र दिगो विकासमा रूपान्तरण गर्नु अबको रास्वपाको मुख्य जिम्मेवारी हो । चुनावी अभियानका क्रममा गरिएका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्ने कुरा सबैभन्दा ठुलो चुनौती रास्वपालाई आएको छ । भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाहको प्रभावकारिता र कानुनी शासनको सुदृढीकरण अब केवल बिगतका बकवास नारा र भाषणजस्तै नभई कार्यान्वयनको विषय बन्नुपर्छ भन्ने आम नेपाली नागरिकको आशा, उद्देश्य र सङ्कल्प छ । तर यथार्थ के हो भने देशमा व्याप्त सबै समस्या एकै पटक समाधान हुन सक्दैनन् । भ्रष्टाचार, अन्याय र अत्याचारजस्ता गहिरा जरा गाडेका समस्याहरूको समाधान गर्न क्रमिक र दीर्घकालीन प्रक्रियाबाट मात्र सम्भव हुन्छ । त्यसैले रास्वपाले यथार्थवादी योजनालाई प्राथमिकताका आधारमा अघि बढाउनु पर्नेछ । जनअपेक्षालाई व्यवस्थापन गर्दै, देशमा उपलब्ध स्रोतसाधन र क्षमताको उचित प्रयोग गर्नु नै सफलताको आधार बन्न सक्छ । नेपालको आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधि जस्ता क्षेत्रहरूलाई रणनीतिक रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि छ । यी क्षेत्रहरूमा दीर्घकालीन लगानी र नीतिगत स्थिरता सुनिश्चित गर्न सकेमा रोजगारी सिर्जना, आयवृद्धि र आर्थिक विस्तार सम्भव छ भन्ने कुरामा द्विविधा छैन । त्यसैगरी अन्तर्राष्ट्रिय क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो । विकासका विभिन्न योजनाहरू कार्यान्वयन गर्दा राजनीतिक स्थिरता र प्रशासनिक दक्षता अत्यन्त आवश्यक हुन्छ । अहिलेको अवस्थामा देखिएका संरचनागत जटिलता, प्रशासनिक ढिलासुस्ती र पुराना अभ्यासहरू नै सबैभन्दा ठूला अवरोध हुन् । नयाँ नेतृत्वले यी अवरोधहरूलाई चिर्दै स्पष्ट दृष्टिकोण, दृढ इच्छाशक्ति र संस्थागत सुधार गर्नु अपरिहार्य छ ।
रास्वपा र नेपालको राजनीतिमा समेत बालेनको उदयसँगै एउटा नयाँ राजनीतिक संस्कृतिको बहस सुरु भएको छ । यो संस्कृतिले राजनीति र नैतिकतालाई जोड्ने प्रयास गर्दै जनताको विश्वासलाई केन्द्रमा राख्न सक्नु पर्दछ । अब राजनीति केवल सत्ताको खेल होइन; यो उत्तरदायित्वको अभ्यास बन्नुपर्छ । जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने निर्णयहरू पारदर्शी र न्यायपूर्ण हुनुपर्छ । विशेष गरी विधिको शासन स्थापित गर्ने सवाल अत्यन्त महत्वपूर्ण छ । नेपालमा न्याय र समानताको लागि धेरैले बलिदान दिएको इतिहासले देखाएको छ । ती बलिदानहरूलाई सम्मान गर्दै, कानुनको समान कार्यान्वयन सुनिश्चित गर्नु राज्यको प्रमुख कर्तव्य हो । यदि विधिको शासन बलियो बनाउन सकिएन भने कुनै पनि राजनीतिक परिवर्तन दीर्घकालीन हुन सक्दैन । यस सन्दर्भमा रास्वपाले आफ्नो प्राथमिकता स्पष्ट राख्नुपर्छ । संवेदनशील विषयहरूजस्तै–संविधान संशोधन, प्रदेश सरकारजस्ता विषयमा हतार गरी निर्णय गर्नु किमार्थ बुद्धिमानी हुनेछैन । संविधान कुनै साधारण दस्ताबेज होइन; यो राष्ट्रको साझा सहमतिको मूल कानुनको आधार पनि हो । यसमा परिवर्तन गर्दा व्यापक संवाद, सहमति र परिपक्वता आवश्यक हुन्छ । त्यसैले अहिलेको अवस्थामा रास्वपाले आफ्नो ऊर्जा सुशासन, सेवाप्रवाहमा सुधार भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा केन्द्रित गर्नु नै उपयुक्त छ । फेरि पनि बिगतलाई बिर्सेर राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिशोधको राजनीति अँगाल्ने हो भने जनताबाट प्राप्त यो अभिमत अभिशापमा परिणत हुन धेरै दिन लाग्ने छैन । तर अब बन्ने सरकारले स्वतन्त्र र जिम्मेवार स्वरूपमा अघि बढेर काम गर्न सकेमा यो जनादेश राष्ट्रका लागि वरदान सावित हुनेछ । संविधान संशोधनजस्ता विषयहरूलाई राजनीतिक लाभको साधन बनाउने प्रवृत्तिबाट टाढा रहनु आवश्यक छ ।
जनताले अहिले अपेक्षा गरेका आधारभूत विषयहरू–भ्रष्टाचारको अन्त्य, पारदर्शी शासन प्रणाली, रोजगारी सिर्जना र न्यायपूर्ण समाज नै हुन् । प्राथमिक आवश्यकताहरू पूरा नगरी संवेदनशील विषयहरूमा प्रवेश गर्नु अपरिपक्कता पनि हुनसक्छ । प्रतिनिधि सभामा नयाँ पुस्ताको सक्रिय सहभागिता अहिलेको सकारात्मक पक्ष हो । अधिकांश शिक्षित, ऊर्जाशील र सक्षम युवाहरू प्रतिनिधिसभामा प्रवेश गरिरहेका छन् । नेतृत्वमा निष्पक्षता र दूरदर्शिता कायम गर्दै योग्य व्यक्तिलाई सही जिम्मेवारी र जवाफदेहिता दिइयो भने परिवर्तनको सम्भावनालाई बलियो बनाउँदै परिणाममुखी शासन व्यवस्थाको जग बसाल्न सकिन्छ । राजनीतिमा प्रवेश गर्न परम्परागत बाटो अनिवार्य छैन भन्ने सन्देश युवाहरूलाई बालेनको उदयले दिएको छ । इमान्दारी, दक्षता र जनप्रतिबद्धताले पनि नेतृत्व स्थापित गर्न सकिन्छ भन्ने प्रमाण निर्वाचनको नतिजाले देखाएको छ । यो सन्देशले नेपालको राजनीतिक संस्कृतिमा दीर्घकालीन प्रभाव पार्न सक्छ । तर चुनौतीहरू अझै गम्भीर छन् । जनताले अबको सरकारसँग राखेका अपेक्षाहरू पनि अत्यन्त न्यायोचित, औचित्यपूर्ण र समयसापेक्ष छन् । ती अपेक्षाहरू पूरा गर्न सकिएन भने निराशा झन् गहिरो हुन सक्छ । त्यसैले रास्वपाले जनतासँग यथार्थपरक संवादका साथ काम गर्न सक्नु पर्छ । दीर्घकालीन सम्भावना र सीमाहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ । पारदर्शिता केवल प्रशासनमा होइन, राजनीतिक व्यवहारमा पनि देखिनु पर्छ । नयाँ राजनीतिक संस्कृतिको निर्माण एकै दिनमा सम्भव हुँदैन । यो निरन्तर अभ्यास, आत्ममूल्याङ्कन र सुधारको प्रक्रिया हो । बालेनको उदयले यस प्रक्रियाको सुरुवात गरेको छ, तर यसलाई संस्थागत रूप दिन अझै बाँकी छ ।
बालेनको उदय र विस्तारलाई नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण मोडका रूपमा लिन सकिन्छ । रास्वपाको बालेन्द्र साहको प्रधानमन्त्रीको सपथसँगै सिंगो मदेश राष्ट्रिय राजनीतिमा एकीकरण हुने अपेक्षा गर्न सकिन्छ ।यो मोडले महत्वपूर्ण अवसरका साथ साथै चुनौती पनि साथसाथै लिएर आएको छ । यो अवसरलाई सही रूपमा उपयोग गर्न सकियो भने नेपालको राजनीतिक र आर्थिक भविष्यमा नयाँ अध्याय सुरु हुन सक्छ ।
तर यदि यो अवसर गुमाइयो भने, जनताको विश्वास पुनः प्राप्त गर्न असम्भव हुनेछ । त्यसैले अहिलेको आवश्यकता स्पष्ट नयाँ सोंच, नयाँ व्यवहार र जिम्मेवार नेतृत्वसँग जोडिएको छ । रास्वपाका लागि यो समय अग्निपरीक्षा हो । जनताले दिएको जनादेशलाई सम्मान गर्दै, सुशासन, आर्थिक सुधार र समावेशी विकासलाई प्राथमिकतामा राख्न सकेमा मात्र यो विश्वास कायम रहन सक्छ । अन्त्यमा, परिवर्तनको यात्राले धैर्यता, प्रतिबद्धता र निरन्तर प्रयासको माग गर्दछ । देशमा व्याप्त सबै समस्या निश्चित रूपमा एकै पटक समाधान हुन सक्दैनन्, तर नेतृत्वले सही दिशा, सही नेतृत्व र सही नीति दिन सक्यो र कार्यान्वयनको पक्षलाई पनि सशक्त बनाउँदै लग्यो भने अवश्य पनि परिवर्तन सम्भवछ र नेपालमा नयाँ बिहानीको सुरुवात हुन्छ ।
(लेखक न्यू होराइजन कलेजका प्राध्यापक हुन्)




