प्यूठान
माण्डवी गाउँपालिकामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । चिनियाँ नागरिकको लगानी रहेको छ्वाङ रन बायोटेक्नोलोजी प्रालि नामको कम्पनीले उक्त केन्द्र स्थापना गरेको हो ।
माण्डवी गाउँपालिका – ३ जाबुनेमा २०८२ असोजमा स्थापना गरिएको प्रशोधन केन्द्र २० रोपनी क्षेत्रफलमा फैलिएको कम्पनीका व्यवस्थापक दोभाषे पवन पौडेलले बताए । ‘प्रशोधन केन्द्रमा हाल ३ चिनियाँ र ५ नेपाली गरि ८ जना कर्मचारी नियमित रूपमा कार्यरत छन्,’ उनले भने–‘कामको चाप बढेका बेला भने १५ देखि २० जनासम्म स्थानीय कामदार परिचालन गरिएको छ ।’ दैनिक ज्यालादारीमा काम गर्ने कामदारलाई १२ सय देखि १४ सय रुपैयाँसम्म पारिश्रमिक प्रदान गरिने गरेको कम्पनीका व्यवस्थापक पौडेलले जानकारी दिए । यस केन्द्रमा मुख्य रूपमा गानेगुर्जो (गुर्जो) प्रशोधन गरिन्छ । जसको प्रयोग औषधिजन्य उत्पादनमा हुने गर्दछ । प्रशोधन केन्द्रका लागि आवश्यक कच्चा पदार्थ जाजरकोट, प्यूठान र रोल्पा जिल्लाबाट संकलन गरिराखेको व्यवस्थापक पौडेलले जानकारी दिए ।
५० लाख रुपैयाँको लगानी रहेको प्रशोधन केन्द्रमा हालसम्म करिब ६० टन गानेगुर्जो संकलन गरी प्रशोधन गरिसकेको कम्पनीका प्रोप्राइटर चिनियाँ नागरिक याङ वेनोलुङले बताए । ‘गुर्जो प्रशोधन गर्ने प्रक्रिया भने समय लाग्नेछ ,’ उनले भने– ‘सुरुमा संकलित गुर्जोलाई स–साना टुक्रामा काटिन्छ ।
त्यसपछि ती टुक्रालाई ३० देखि ३५ दिनसम्म पानीमा भिजाएर खाडलमा राखिन्छ ।’ यस प्रक्रियाबाट गुर्जो नरम बनाइन्छ र त्यसपछि केही रसायन मिसाएर यसको रस निकाल्ने गरिन्छ । सोही रसलाई प्रशोधन गरी निर्यातयोग्य बनाइने प्रोप्राइटर वेनोलुङले जानकारी दिए । प्रशोधन केन्द्र सञ्चालनका लागि ८ जनाको जमिन वार्षिक ३ लाख ५० हजार रुपैयाँका दरले ७ वर्षका लागि भाडामा लिएको समेत प्रोप्राइटर वेनोलुङले बताए ।
प्रशोधित गरी छुट्याइएको गुर्जोको टुक्राहरुलाई फेरि कम्पोष्ट मलको रुपमा प्रयोगमा ल्याउने गरिन्छ । यस उद्योगबाट प्रशोधित गरिएको गुर्जो निर्यात गर्नुअघि जिल्ला वन कार्यालय प्यूठानमा राजस्व दाखिला गरेपछि मात्र गुर्जो(कच्चापदार्थ) निकासी गरिने समेत उनले जनाए । वेनोलुङका अनुसार यसरी प्रशोधन गरिएको कच्चापदार्थ औषधिको रुपमा प्रयोग हुनुका साथै मुख्यतः चीनमा निर्यात हुनेछ ।
लालस्टोर जडीबुटी संकलन फर्म रोल्पाका व्यवसाय टेकबहादुर घर्ती मगरका अनुसार पछिल्लो तीन महिनाको अवधिमा करिब ३० टन गानेगुर्जो यस केन्द्रमा बिक्री गरेको बताए । ‘रोल्पाबाट स्थानीयहरुले संकलन गरेको गुर्जो खरिद गरी प्रतिकेजी ३५ रुपैयाँका दरले यस प्रशोधन केन्द्रमा बिक्री गरेको छु ।’ उनले भने–‘जिल्ला वन कार्यालय रोल्पाबाट गुर्जो निकासी गर्ने क्रममा प्रतिकेजी ७ रुपैयाँका दरले राजस्व तिरेपछि निकासी गर्न पाइन्छ ।’ प्यूठानमा यस प्रकारको प्रशोधन केन्द्र स्थापना हुँदा जडीबुटी व्यवसायीलाई मात्र फाइदा नभई यसबाट स्थानीय संकलनकर्ताहरूलाई समेत आम्दानीको स्रोत बढेको बताए ।
यस उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै जडीबुटीको व्यवसायिक उत्पादन र निर्यातमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको माण्डवी गाउँपालिका – ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले बताए ।
‘स्थानीय स्तरमा जडीबुटी संकलन र बिक्री गर्ने किसान र व्यापारीलाई यस प्रशोधन केन्द्रले आर्थिकस्तर उठाउन मद्दत गर्छ,’ उनले भने–‘चिनियाँ नागरिकद्वारा लगानी गरिएको यस उद्योगले पालिकाको आन्तरिक राजस्वमा वृद्धि गर्नुका साथै रोजगारी सिर्जना र जडीबुटीको व्यापारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने देखिन्छ ।’ अब स्थानीय तहले जडीबुटी संकलन र प्रशोधनमा दीगो व्यवस्थापन उचित नियमन र संरक्षणमा नीति निर्माणतर्फ ध्यान दिए ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष कार्कीको भनाइ रहेको छ ।




