बुटवल
रूपन्देहीमा सञ्चालित हाटबजारहरुमा अझैँ पनि खानेपानी, शौचालय र विद्युत् जस्ता अति आवश्यक र न्यूनतम पूर्वाधारको उचित र पर्याप्त सुविधा नभएको व्यवसायीहरुको गुनासो छ ।
थुप्रै हाटबजारमा व्यवसायीहरु खुल्ला आकाशमुनि व्यवसाय गर्न बाध्य भएका र खानेपानी, शौचालय, विद्युत् जस्ता आधारभूत आवश्यकताको अभाव रहेको उनीहरुको गुनासो छ । हाटबजार व्यवसायी संघ रुपन्देहीका अनुसार जिल्लामा ५ हजार बढी हाटबजार व्यवसायी छन् ।
खानेपानी, शौचालय र विद्युत् जस्ता अति आवश्यकीय भौतिक पूर्वाधार निर्माणको लागि स्थानीय तहको सिफारिससहित प्रदेश सरकार र संघीय सरकारमा योजना पेश गर्दा पनि कहीं कतैबाट बजेट बिनियोजन नभएको संघका अध्यक्ष हुमाराम पोखरेले गुनासो गरे ।
संघको १८औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनमा अध्यक्ष पोखरेलले स्थानीय तहबाट हाटबजार पूर्वाधार विकास कोषमा निरन्तर विनियोजन हुने बजेट समेत चालु आर्थिक वर्षमा बिनियोजन नभएको बताए ।
पूर्वाधार निर्माणको लागि सबै हाट बजारहरुबाट उठ्ने वार्षिक बैठकी रकमबाट ५० प्रतिशत रकम सोही क्षेत्रमा लगानी गर्ने नीति बनाएर लागू गर्न उनले माग गरेका छन् । भएका शौचालयहरु पनि जीर्ण, उपभोक्ता संख्याको तुलनामा ज्यादै कम तथा खानेपानीको सुविधा पनि अपर्याप्त रहेको अध्यक्ष पोखरेलले गुनासो गरे ।
‘स्थानीय तहको सिफारिसमा प्रदेश सरकार र संघीय सरकारमा जाँदा पनि हाम्रा योजनाको सुनुवाइ नहुनु, के हामीले चाहेको परिवर्तन यही हो ?,’ अध्यक्ष पोखरेलले प्रश्न गर्दै भने–‘विभिन्न किसिमका दोहोरो तथा तेहोरो करको असुली मात्र गर्ने, खुल्ला सिमाना र अनाधिकृत बजार प्रभावकारी अनुगमन नगर्ने बरु यत्रतत्र खोल्न दिनुको साथै अति आवश्यक मानविय पूर्वाधार निर्माण नगरिनुले व्यवसायी मारमा परेका छन् ।’
खानेपानी, शौचालय र विद्युत् जस्ता अति आवश्यक पूर्वाधार अविलम्ब पूरा गर्न अध्यक्ष पोखरेलले स्थानीय सरकारसँग माग गरे । ‘बुटवल ११ मा एउटा शौचालय बाहेक कुनै लगानी भएको छैन, सैनामैना, देवदह, तिलोत्तमामा पनि केही टिनको ट्रसका काम भएता पनि पुर्ण भएका छैनन्,’ अध्यक्ष पोखरेलले भने–‘केही बजारहरु विद्यालयको मातहतमा रहेको हुँदा पूर्वाधार निर्माणको लागि योजना पेश गर्न समेत समस्या छ, अविलम्ब स्थानीय सरकारको मातहतमा ल्याइ पूर्वाधार निर्माण गर्नु पर्छ ।’
हाटबजार व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष भिमलाल ज्ञवालीले हाटबजार क्षेत्र स्थानीय सरकारको प्रथमिकतामा पर्न नसकेको बताए । हाटबजारमा न्यूनतम पूर्वाधार निर्माणका विषयमा पटक–पटक आवाज उठाउँदै आए पनि हालसम्म व्यवसायीमैत्री संरचना बन्न नसकेको उनले दुखेसो पोखे । ‘उप–महानगरसँग सहमति भएका विषय कार्यान्वयन नहुँदा व्यवसायीहरुले वर्षौंदेखि समस्या खेप्दै आएका छन्,’ ज्ञवालीले भने–‘बुटवल–५ को हाटबजारलाई मौलिक र ऐतिहासिक बनाउनुपर्छ, व्यवसायीलाई विस्थापित गर्ने गरी स्थानीय सरकारले कुनै निर्णय गर्न हुँदैन ।’
हाटबजार व्यवसायी संघका निर्वतमान अध्यक्ष टेककहादुर जिसीले साना व्यवसायीहरुलाई हाटबजारमा बसेर सहज रुपमा व्यापार गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
बुटवल उप–महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रुपन्देहीमा सञ्चालित हाटबजारले किसानको अर्थव्यवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
‘घरको करेसाबारीको उत्पादनदेखि व्यावसायिक रूपमा खेती गर्ने किसानको जीविकोपार्जन र आर्थिक स्रोतका रूपमा हाटबजारले सहयोग पु¥याएको छ,’ उनले भने–‘हाटबजारलाई कृषि सामग्री बिक्री केन्द्र बनाउने योजनाका साथ उप–महानगरपालिका अघि बढेको छ ।’ बुटवलले साना व्यवसायीलाई संरक्षण गर्ने नीति लिएकोमा उनले जोड दिए ।
हाटबजारका कारण किसान व्यावसायिक बन्न थालेको उल्लेख गर्दै उनले पहाड र तराईका किसानहरूले उत्पादन गरेका सबै कृषि उपज बिक्री गर्न समस्या नरहेको उनले दाबी गरे । उप–महानगरपालिका किसान र व्यवसायीको साथमा रहेको बताउँदै नगरप्रमुख पाण्डेयले हाजबजारको दिगो व्यवस्थापनका लागि सबैको सहकार्य जरुरी रहेको बताए । हाटबजारमा आवश्यक शौचालय, ट्रस्ट निर्माणसँगै अन्य भौतिक संरचना निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउँदै उनले त्यसका लागि संघले लागत मूल्यांकन गरी पेश गर्न आग्रह गरे । हाटबजार क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई आफ्नो परिचय खुल्ने गरी अनिवार्य बोर्ड राख्न उनले आग्रह गरे ।
नगर उप–प्रमुख सावित्रादेवी अर्यालले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् । उप–महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्दै उनले उपभोक्ताको सवास्थमाथी खेलवाड गर्ने व्यवसायीहरुलाई कानुनअनुसार कारबाही हुने बताइन् ।
उप–महानगरपालिकाले व्यापार व्यवसाय गर्नका लागि निश्चित क्षेत्र तोकेको बताउँदै नगर उप–प्रमुख अर्यालले सडक छेकेर अवरुद्ध हुनेगरी जथाभावी व्यापार नगर्न व्यवसायीहरुलाई आग्रह गरिन् ।
लुम्बिनी फलफूल व्यवसायी संघका अध्यक्ष नुरुदिन शाहले अव्यवस्थित रुपमा सडक क्षेत्र ओगटेर व्यापार गर्दै आएका व्यवसायीहरुलाई व्यवस्थित गर्न आग्रह गरे । यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपालप्रसाद प्रधान, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष महेन्द्र भुसाल, संघका उपाध्यक्ष टिकाप्रसाद भट्टराईलगायतले बोल्दै व्यवसायीका समस्या समाधान र हकहितका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
संघका महासचिव जयन्त घर्तीले वि.सं. २०६३ सालमा स्थापना भएको संघमा सैनामैना, देवदह, तिलोत्तमा, शुद्धोधन र कञ्चन गरी पाँचवटा शाखा क्रियाशिल रहेको बताए ।
रुपन्देहीका १२२ स्थानमा हाटबजार सञ्चालन हुँदै आएका र संघमा ५ हजार बढी व्यवसायी आवद्ध रहेकासचिव ईश्वरचन्द्र भट्टराईले बताए । साधारणसभाका अवसरमा संघका पूर्व अध्यक्ष, उत्कृष्ट किसान, व्यवसायी, पत्रकार टिआर शर्मालाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान समेत गरिएको थियो । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।




