भैरहवा
डण्डा नदी किनारमा फाल्दै आएको फोहोरले स्थानीय प्रभावित हुँदै आएपछि अव्यवस्थित डम्पिङ साइटको विषयलाई लिएर तीनै तहका सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
अनियन्त्रित डम्पिङ साइटबाट फैलिएको दुर्गन्ध र प्रदूषणले जनस्वास्थ्यमा समस्या उत्पन्न भएको भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र रूपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित मातहतका निकायविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
रिटमा सिद्धार्थनगर नगरपालिकाअन्तर्गत पर्ने डन्डा खोला क्षेत्रमा सञ्चालित डम्पिङ साइट अनियन्त्रित रहेको दाबी गरेका छन् । जसले सो क्षेत्रमा तीव्र दुर्गन्ध र प्रदूषण फैलिएको उनीहरूको दाबी छ ।
प्रदूषणले स्थानीय वासिन्दालाई निकै समस्या भएको र त्यो क्षेत्र भारतबाट गौतमबुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने बाटोमै पर्ने भएकोले आगन्तुक पर्यटकको जीवनसमेत कष्टकर बनेको उनीहरूले रिट निवेदनमा भनेका छन् ।
सोही कारण त्यो क्षेत्रबाट डम्पिङ साइट हटाउन तथा सञ्चालन गर्न रोक लगाउन रिटमा माग गरिएको छ । सो रिट मंगलबार पेसीमा चढेर इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै अन्तरिम आदेशको लागि छलफलमा गर्न दुवै पक्षलाई बोलाएको छ ।
भैरहवा नगरको फोहोर अव्यवस्थित रुपमा डण्डा नदी किनारमा फाल्दै आएपछि छेउछाउका नागरिक प्रभावित हुने गरेका छन् । फोहर व्यवस्थापनबारे सिद्धार्थनगर नगरपालिकाले प्रभावकारी काम गर्न नसके पछि दैनिक रुपमा बढ्दै गइरहेको नेपाल भारतको सीमा दशगजा नजिकैको फोहोरले एकातर्फ नदीको जैविकता पनि गुम्दै गएको भने स्थानीयको स्वास्थ्यमा पनि समस्या पारेको छ ।
नगरको फोहोर व्यवस्थापन वर्षौंदेखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएकोमा स्थानीयले अवरोध गरेसँगै २०८० वर्ष साउन ४ गतेबाट केही समयको लागि भन्दै सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ क्षेत्र बन्यो । तर यहाँ भने फोहोर फाल्न लागेको २ वर्ष बढि बित्दा समेत नगरपलिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन । स्थलमार्ग भई नेपालकै सबैभन्दा बढी पर्यटक भित्रिने नाकाको रुपमा रहेको मुख्य राजमार्ग छेउमै नगरको फोहोर फालेर यो क्षेत्र नै दुर्गन्धित बनेको छ ।
भैरहवा र आसपास क्षेत्रका फोहोर विगत ४ दशक बढिबाट डण्डा नदीको छेउमा फालिंदै आएको छ । २०३५ सालमा व्रिटीस सेनाको स्थानानन्तरण भएपछि वडा नं. १ डण्डा नदी किनार क्षेत्रमा फोहोर फाल्दै आइएको छ । विना कुनै व्यवस्थापन लगातार फोहोर फाल्दा अहिले सतहभन्दा माथि फोहोरको पहाड बनेको छ । फोहोरले वरपरको क्षेत्र मात्र दुर्गन्धित बनाएको छैन, त्यहाँस्थित डण्डा नदी प्रदूषित र जलचर प्राणीको जीवनमा पनि ह्रास ल्याएको छ । नेपालमा मात्र नभई यस्को असर भारतीय सीमा नजिकै रहेका बस्तीमा पनि पुग्ने गरेको छ ।
स्थानीय सरकार आएसँगै बाटोघाटो तथा विकास निर्माणका कार्यमा जोड दिए पनि सिद्धार्थनगर नगरपालिकामा उचित फोहर व्यवस्थापनको विकल्प खोज्न नसक्दा डण्डा खोला किनारमै वर्षौंदेखि फोहर फाल्ने गरिएको छ । नदीको किनारमा जथाभावी फोहोर फाल्ने गर्नाले नदीको पानी फोहोर हुनुका साथै जलचर प्राणीमा ह्रास र स्वस्थ मानिस पनि बिरामी पर्ने अवस्था आएको स्थानीयको आरोप छ ।
संवेदनशील ठाउँमा भएकोले यसको समाधानका लागि नगरपालिकामा निरन्तर पहल गर्दै आएको भए पनि अहिलेसम्म दीर्घकालिन समाधान नगरपालिकाले गर्न सकेको छैन ।
गर्मी बढ्दै जाँदा तापक्रम बढ्ने हँुदा डम्पिङ क्षेत्र झन दुर्गन्धित बनाउँछ, यस क्षेत्रको वातावरणलाई नै असर पु¥याउँदै आएकाले डम्पिङ साइड व्यवस्थापन वा स्थानान्तरण गर्न जरुरी छ र सार्नका लागि स्थानीयको पटक पटक आवाज उठ्ने गरेको छ ।
घरबाट नै फोहोर कम गर्ने, कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न सके केही मात्रामा फोहोर कम गर्न सकिन्छ । यसका लागि नगरपालिकाको कार्यपालिकाको बैठकले नगरको दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि निर्णय गरी आगामी चैत १८ गतेदेखि वर्गीकरण नगरिएको फोहोर संकलन नगर्ने घोषणा गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चैत १७ गतेभित्रै सबै नगरवासी, व्यवसायी तथा संघसंस्थाहरूलाई फोहोर वर्गीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
नगर कार्यपालिकाको निर्णयअनुसार आगामी चैत १८ गतेदेखि वर्गीकरण नगरिएको फोहोर बोक्ने गाडीले नउठाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
नगरपालिकाले फोहोरलाई मुख्यतया तीन समूहमा विभाजन गर्न निर्देशन दिएको छ । भान्साबाट निस्कने अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, पातपतिङ्गर, घाँस, चिया तथा कफीका अवशेषलगायतका कुहिने जैविक फोहोर एक ठाउँमा । यस्तै प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री तथा विद्युतीय सामानका अवशेष जस्ता नकुहिने अजैविक फोहोर एक ठाउमा र सिसा, काँच, धातु र टिन लगायतका सडेर नजाने कवाडजन्य फोहोर एक ठाउमा वर्गीकरण गर्न अनुरोध गरेको हो ।
नगरपालिकाको सूचनालाई बेवास्ता गरी फोहोर वर्गीकरण नगर्ने घरधनी वा निकायले आफ्नो फोहोरको व्यवस्थापन आफैँ गर्नुपर्नेछ । यदि कसैले जथाभावी सडक पेटी वा सार्वजनिक स्थलमा फोहोर फालेको पाइएमा न्यूनतम ५ हजार रुपैयाँदेखि फोहोरको प्रकृति अनुसार थप जरिवाना गरिने समेत नगरपालिकाले चेतावनी दिएको छ ।
नगरलाई स्वच्छ र सुन्दर राख्न यो कदम चालिएको हो । होटल, पसल, निजी घर, विद्यालय र संघसंस्थाहरूले अनिवार्य रूपमा फोहोर वर्गीकरण गरेर नगरपालिकाको अभियानमा सहयोग पु¥याउन नगरपालिकाले अनुरोध गरेको छ ।
यहाँ दैनिकरुपमा ३० टन बढी फोहोर उत्सर्जन हुने गरेको छ । स्थानीय सरकार आएको पहिलैदेखि नै यहाको लागि फोहोरमैला व्यवस्थापन चुनौतीकै रुपमा रहेकोमा अहिलेसम्म दीर्घकालिन समाधान हुन सकेको छैन । विभिन्न समयमा विभिन्न प्रयासहरु भए पनि नगरपालिकाले ठोस योजना ल्याउन सकेको थिएन । नगरपालिकाले वर्षौंदेखि फोहोर डण्डा नदी किनारमै व्यवस्थापन गरिरहेको छ ।
दैनिकरुपमा सिद्धार्थनगरबाट उत्सर्जन भएको फोहोर नगरपालिकाले करिब सय जना जनशक्ति लगाएर १२ वटा ट्याक्टर, ठेला र कुचीकारहरुबाट फोहोर संकलन गरी यहाँ व्यवस्थापन गर्दै आएको छ ।
नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा ट्याक्टरमार्फत् पठाउने, खाल्डोमा फोहोर राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । डम्पिङ क्षेत्रमा गन्ध नआओस् भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरिएको छ ।
हालको व्यवस्थाअनुुसार ती फोहोरलाई वर्गीकरण गरी कुहिने फोहोर उचित ठाउँमा व्यवस्थित तरिकाले व्यवस्थापन गरी मलको रुपमा पनि प्रयोग गर्न सकिने गरी योजना बनाएको छ भने नकुहिने बस्तुलाई पुनःप्रयोगको अवधारणामा लैजाने योजना अनुरुप नगरपालिका लागेको छ ।
यसरी फोहोर वर्गीकरण गर्दा फोहोरको परिमाण पनि घट्ने अपेक्षा नगरपालिकाको रहेको छ ।




